logo
शुक्रबार, साउन २९ २०८३

झापामा मिडिया सम्मेलन सम्पन्न १० बुँदे घोषणापत्र जारी


  • कुइनेटो न्युज
  • आइतबार, जेष्ठ ६ २०८१

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले १० वुँदे घोषणा पत्र जारी गर्दै मिडिया सम्मेलन सम्पन्न गरेको छ ।

संघीयतामा सञ्चार नीति, अवस्था र चुनौति विषयमा भएको मिडिया सम्मेलनले सञ्चार नीतिमा उल्लेख भएअनुसार विकेन्द्रीत नीतिलाई कार्यान्वय गर्न माग गरेको छ ।

त्यस्तै श्रमजीवि पत्रकारिता ऐन पूर्ण कार्यान्वन हुनु पर्ने, संघीयतालाई कार्यान्वय गर्ने सन्दर्भमा बढ्दै गएको विकृति र गिर्दो आचरणलाई सुधार गर्न माग गरिएको छ ।

प्रविधिको बढ्दो विकाससँगै धरासायी बन्दै गएको पत्रकारिता क्षेत्रलाई संस्थागत गर्नका लागि राज्य पक्षबाट सञ्चार नीतिलाई कार्यान्वयन गर्न माग गरिएको छ । सञ्चार नीतिमा उल्लेख भएको लैंगिक, भाषिक, भौगोलिक र जातीय प्रतिनिधित्व हुने गरी नीति गत समावेशीतालाई स्थानीय तहसम्म कार्यान्वयन गरिनु पर्ने भनिएको छ ।

जारी घोषणा पत्रमा लोक कल्याणकारी विज्ञापनलाई पुनः परिभाषित गरी यसलाई बहुउपयोगी बनाउन माग गरिएको छ भने आम सञ्चार र पत्रकारिता क्षेत्रलाई विषय बनाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई यसै क्षेत्रमा क्रियाशील बनाउने वातावरण सिर्जना गरी सञ्चार क्षेत्रमा आकर्षित गर्नु पर्ने माग गरिएको छ ।

पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षाका लागि विशेष प्याकेजको प्रबन्ध गर्न माग गरिएको छ भने सञ्चार माध्यमको दर्ता, वर्गीकरण, विज्ञापन नीति, संघीय, प्रादेशिक र स्थानीय तहको अलग–अलग ऐन तत्काल ल्याउन र कार्यान्वयनका लागि माग गरिएको छ । त्यस्तै कनकाई नगरसहित समग्र झापाका पर्यटकीय क्षेत्रको प्रबद्र्धनसँगै पर्यटन पत्रकारितालाई जोड्नु पर्ने घोषणा पत्रमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछानेको संयोजकत्व केशव भट्टराई, लीला अनमोल र सन्तोष शर्मा सदस्य रहेको गठित घोषणापत्र जारी समितिले उक्त मागसहित १० बुँदे घोषणापत्र जारी गरेको हो । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सीमसार तथा पर्यटकीय क्षेत्रमा आयोजना गरिएको मिडिया सम्मेलनको उद्घाटन कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले गर्नुभएको थियो ।

मिडिया सम्मेलनमा संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौतिसँगै डिजिटल पत्रकारिता अवसर र चुनौति तथा पत्रकारिता र बिज्ञापनका बिषयमा समेत छलफल भएको थियो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँलेले सहजीकरण गरेको संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौतिका बिषयमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलावल्भव अधिकारी, सूचना तथा प्रशारण बिभागका निर्देशक भरत गौतम, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धमेन्द्र झा, महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायतले प्यानलगत रुपमा छलफल गर्नुभएको थियो ।

त्यस्तै डिजिटल पत्रकारिता अवसर र चुनौति बिषयमा बिज्ञ अरुण कार्की र पत्रकारिता र बिज्ञापनका बिषयमा बिज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाँईले सहजीकरण गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको मिडिया सम्मेलनमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष बिक्रम लुइटेल, महासंघका कार्यबहाक अध्यक्ष लवदेव ढुङ्गानालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका अध्यक्षसहितका पत्रकारको सहभागिता रहेको थियो । वहाँहरुले पत्रकारिता क्षेत्रमा भित्रिएको नयाँनयाँ प्रविधि र यसले पत्रकारिता क्षेत्रलाई पार्ने सकारात्मक तथा नकारात्मक प्रभावबारे समेत जिज्ञासा राख्नु भएको थियो । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भएको मिडिया सम्मेलनमा स्वागत महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend