इलाम । स्थानीय तहको निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ खसेको मतमा एमाले अगाडि देखिएको छ ।
स्थानीय तह र प्रतिनिधि सभा निर्वाचन दुवै निर्वाचनमा एमाले एक्लै निर्वाचनमा होमिएको थियो । एक्लै निर्वाचनमा होमिदा पनि एमालेले दुवै निर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा बढी मत पाएको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ ।
इलाम क्षेत्र नम्बर २ मा ५ वटा पालिका पर्दछन् । ती मध्ये चुलाचुली,माङ्सेबुङ्ग र फाकफोकथुम गाउँपालिकाका सबै वडा यो क्षेत्रमा पर्दछन् । यस्तै इलाम नगरपालिकाको वडा नम्बर १,९,११ र १२ नम्बर वडा र देउमाई नगरपालिकाका ६ र८ नम्बर वडा यो निर्वाचन क्षेत्रमा पर्दछन् ।
स्थानीय तह २०७९को निर्वाचनमा एमालेले ९ वटा मात्रै वडा जितेको थियो । गठबन्धनका कारण ९ वटा वडा मात्रै मत जितेको भए पनि वडा तहको मतमा सबै भन्दा बढी मत एमालेकै रहेको छ । काँग्रेसले १३ वटा वडा जिते पनि एमालेलाई आएको मत भन्दा काँग्रेसको वडामा खसेको मत कम रहेको छ । काङ्ग्रेसले वडा तहको १७ हजार ४८२ मत पाएको छ । यस्तै एमालेले ९ वटा वडा जित्दा १७ हजार ६०० मत पाएको आयोगको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै माओवादी केन्द्रले भने २हजार ६ सय २ मत पाएको छ । पहिचानवादी दलहरू सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,जसपा जनमुक्ति पार्टीहरूको मत २ हजार ५७ मत पाएको देखिन्छ ।
यस पटक एमाले माओवादीको गठबन्धन भएको छ । गठबन्धन हुँदा मादीको समेत मत बढ्ने देखिन्छ । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फ पनि एमालेकै बढी मत आएको छ
। सो क्षेत्रबाट एमालेको २६ हजार ५६२ मत पाएको छ ।
सो निर्वाचन क्षेत्रबाट काँग्रेसले २२ हजार ३३३ मत पाएको थियो । समानुपातिकतर्फ तेस्रो रहेको माओवादी केन्द्रको मत ५ हजार १५३ रहेका छ ।
सो क्षेत्रबाट रास्वपाले ४ हजार ६८६ पाएको थियो । त्यस्तै नेशनल मङ्गोल अर्गनाइजेशनको १६६१,राष्ट्रिय जनमुक्ति पार्टी १४१३,सङ्घीय लोकतान्त्रिक मञ्चले १३२९,राप्रपा ११९१,जसपा ९०६ र नेकपा एसको ५८६ मत पाएको थियो ।