विराटनगर । आसन्न वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनका लागि एमाले माओवादी गठबन्धनका उम्मेदवार सुहांग नेम्बांगले चुनावी अभियानलाई तीव्रता दिनुभएको छ ।

निर्वाचन लक्षित कार्यक्रमका अन्तरगत अहिले पार्टी कमिटीहरूको विस्तारित बैठक,भेला तथा पार्टीका टोल कमिटीको गठन र पुनर्गठन भइरहेको छ । निर्वाचनलाई ध्यानमा राखेर स साना सभा तथा चोक सभाहरू भइरहेको एमाले इलामले जनाएको छ । ६ वटा पालिकाका २४ वटा वडा रहेको इलाम क्षेत्र नम्बर २ को फाकफोकथुंग, मांसेबुंग,चुलाचुली र इलाम नगरपालिका लगायतका पालिकामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको एमाले केन्द्रीय सदस्य राम रानाले बताउनुभयो ।

पार्टीले आयोजना गरेको कमिटीका कार्यक्रम भेला र सभा बाहेक मतदाताहरूसँग भेट्ने उनीहरूको कुरा सुन्ने र आफ्ना एजेन्डाहरू मतदातालाई सुनाउने काम समेत भइरहेको छ । मतदाता समक्ष घरदैलो गर्दै पुगेका एमाले माओवादी गठबन्धनका उम्मेदवार सुहांगले आफ्ना योजनाहरू सुनाउने गरेका छन् । यस्तै मतदाताको सुझाव समेत लिने गरेका छन् । यो अभियान सबै पालिका र वडामा सम्पन्न भएपछि फरक खाले चुनावी कार्यक्रम तय हुने रानाले बताउनुभयो ।