कमल ÷ सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालयले आज विभिन्न कार्यक्रम गरी २१ औं स्थापना दिवस २०८० मनाएको छ ।
शिक्षालयले स्थापना दिवसका अवसरमा सञ्चालन गरेका बिभिन्न विधामा उत्कृष्ट कार्य गर्ने २० जना सशस्त्र प्रहरी कर्मचारी तथा वार्षिकोत्सवको अवसरमा आयोजित विविध व्यवसायिक तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने २१ जना लाई पुरस्कृत गरेको थियो ।

२०३० सालमा झापाको रतुवामाई वृक्षारोपण आयोजनाको करिब एक सय हेक्टर जग्गा सशस्त्र प्रहरी बल नेपाललाई उपलब्ध भए सँगै यस ठाउँमा विधिवत रुपमा तत्कालीन सशस्त्र प्रहरी बल पाथीभरा गणको स्थापना भएको थियो ।
तत् पश्चात गणलाई २०७५ साल माघ २० गते को मन्त्रीस्तरीय निर्णयले पाथिभरा जवान तालिम शिक्षालय झापाको नाममा परिवर्तन गरेको थियो ।
शिक्षालयले सशस्त्र प्रहरी जवान देखी सशस्त्र प्रहरी नायब निरीक्षक दर्जा सम्मका सशस्त्र प्रहरी कर्मचारीहरूलाई आधारभूत तथा उन्नत तालीम हरु प्रदान गर्दै आइरहेको छ
शिक्षालयको स्थापना भए पश्चात हाल सम्म शिक्षालयले ४ वटा सशस्त्र प्रहरी जवान आधारभुत तालिम र विभिन्न ४० वटा उन्नत तालिमहरू सञ्चालन गरि जम्मा २ हजार २ सय ४३ जना सशस्त्र प्रहरी कर्मचारी लाई प्रशिक्षित गरेको शिक्षालयले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवस्रोत विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले निर्दिष्ट सांगठनिक कार्यादेश लिएर स्थापित यस सशस्त्र प्रहरी बल, नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापाले स्थापनाकाल देखी हाल सम्म विभिन्न आरोह अबरोह हरुका बाबजुद उन्नत तथा आधारभुत तालिमहरू सञ्चालन गरी देशको विभिन्न भूगोलमा परिचालन हुन सक्ने दक्ष जनशक्ति तयार गरी संगठनको आवश्यकता परिपूर्ति गर्दै आएको अतिरिक्त महानिरीक्षक गौतमले बताउनु भयो ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले संगठन लाई प्राप्त कार्यादेश अनुरूप मानवस्रोत विभाग तथा प्रशिक्षण प्रतिष्ठानको प्रत्यक्ष मातहतमा रही दक्ष एवं व्यवसायिक जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो ।
कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई गाउँपालिकाका आईपरेका आगलागी, बाढी ,जंगली हात्ती नियन्त्रण जस्ता विपद्का समयमा सशस्त्र प्रहरी बाट पाएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा गाउँपालिका र सशस्त्र प्रहरी बल सँग सहकार्य गरेर अगाडि बड्ने तर्फ गाउँपालिका सँधै तयार रहेको बताउनु भयो ।
उपयुक्त भौगोलिक अवस्था, पर्याप्त अभ्यास ईलाका, सबै हतियारबाट फायर गर्न सकिने आफ्नै फायरिङ् रेञ्ज, यातायात तथा स्वास्थ्य सुविधाको सहज पहुँच, चुरे क्षेत्र, जङ्गल क्षेत्र संगै जोडिएको सबै किसिमको तालीम सञ्चालन गर्न उपयुक्त भु– बनोट भएकोले एक नमूना शिक्षालयको रुपमा विकास गर्दै लैजान सकिने सम्भावना भएको सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिम्सिनाले बताउनुभयो ।
.
कार्यक्रममा दमक नगरपालिकाका उप –प्रमुख रेगिना भट्टराई प्रसाईँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका सचिव लक्ष्मी पौडेल, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, नेपाली सेना नम्बर २१ बाहिनी अड्डा तोपगाछीका बाहिनीपति सहायक रथी धन बहादुर थापा, सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालीम शिक्षालय सप्तरीका समादेश सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग बिजय सुवेदी, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको उपस्थिति रहेको थियो ।
त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरी, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मातहतका गणपति, जिल्ला स्थित इलाका प्रशासन, बिनानस्थल लगायतका बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, उद्योग वाणिज्य क्षेत्रका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।