logo
मंगलबार, कार्तिक ११ २०८३

दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालन, फेरिँदै बजारको रौनक


  • उमानाथ भण्डारी
  • बुधबार, फाल्गुन २३ २०८०

कमल । पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाएको मुलुककै ठुलो चेन सुपर स्टोर भाटभटेनीले झापाको दमकमा २७ औँ स्टोर स्थापना गरी  आज बुधबारबाट सञ्चालनमा आएको छ।

यो स्टोर झापाकै बिर्तामोडपछिको दोस्रो हो । झापाको व्यापारिक सहर दमक-९ मा गत वर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको छ । स्टोर सञ्चालनको तयारीसँगै यहाँको बजार र गतिविधिमा समेत छुट्टै रौनक आउन लागेको स्थानीयहरू बताउँछन् ।

पूर्वको व्यापारिक सहर दमकमा अन्तर्राष्ट्रियस्तरको सपिङ अनुभव प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यो स्टोर १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट सपिङ स्पेससहित सञ्चालन आउन लागेको हो ।

१ अर्ब ५० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउने यो स्टोर झापा जिल्लामा दोस्रो हो भने कोशी प्रदेशको पाँचौँ स्टोर हो । यसअघि झापाको बिर्तामोडसहित कोशी प्रदेशका धरान, विराटनगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसकेको छ ।

देशमा व्याप्त आर्थिक मन्दीका कारण व्यापार–व्यवसायमा निराशा छाएको बेला भाटभटेनीको सञ्चालनले पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

भाटभटेनीको स्थापनाले आर्थिक तथा यस क्षेत्रको पर्यटकीय गतिविधिलाई समेत चलायमान बनाउने भन्दै यहाँका अन्य निजी क्षेत्रहरूसमेत उत्साहित बनेका छन् ।

उपभोक्तालाई बजार मुल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने हुँदा समानको मूल्य र गुणस्तरमा ग्राहक ठगिन नपर्ने भएकाले भाटभटेनी दमक तथा आसपासका उपभोक्ताको सपिङका लागि पहिलो रोजाई बन्ने भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ बताउँछन् ।

भाटभटेनी व्यवसाय मात्र नभई रोजगारी अभियान पनि रहेको र यो स्टोरमा यस क्षेत्रका करिब ३०० स्थानीयले रोजगार प्राप्त गरेको उनले बताए ।

आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफ्नो सम्पूर्ण ऊर्जा देशमै लगाएको बताउँदै उनले पछिल्लो समय राज्यको व्यवहारले आफूलाई केही मात्रामा हतोत्साहित बनाए पनि आफू नडगमगाएको र न्याय पाउने विश्वास राखेको समेत बताए ।

स्वदेशी तथा विदेशी ब्रान्डका उच्च गुणस्तरका विभिन्न सामानहरू पाइने यस सुपर स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्लाबाट समेत उपभोक्ताहरू किनमेलका लागि आउने अपेक्षा गरिएको छ ।

नेपालमै अन्तर्राष्ट्रियस्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित देशभरका ठुला सहरहरूमा भाटभटेनीको स्टोर विस्तार भइरहेको क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए ।

यही फागुन २३ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आउने यस सुपर स्टोरको लागि सम्पूर्ण तयारी पूरा भएको भाटभटेनीले जनाएको छ । उद्घाटनका अवसरमा आम ग्राहकहरूलाई प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था पनि रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले बताए ।

यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फुटवेयर, फुड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि स्केट पार्क लगायतका सुविधाहरू रहने भाटभटेनीले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend