कमल, बैशाख ७ । सुरक्षित आप्रवासन परियोजना (सामी) प्रदेश नं १ मा रहेका आप्रवासी हकहित संरक्षण संजाल तदर्थ समितिको अध्यक्षमा झापाका लेखनाथ खतिवडा चयन हुनुभएको छ ।
सामी परियोजना संचालन भइरहेका ८ वटा जिल्लामा रहेका आप्रवासीको हकहितका क्षेत्रमा काम गरिरहेका जिल्लास्तरीय प्रतिनिधिहरूको बैशाख ५ र ६ गते भएको भेलाले खतिवडाको अध्यक्षतामा २१ सदस्य प्रदेश नं १ स्तरीय आप्रवासी हकहित संरक्षण संजाल तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।
तत्काललाई परियोजना सन्चालन भएका जिल्ला झापा, इलाम, पाँचथर, मोरङ्ग, सुनसरी, उदयपुर, भोजपुर र खोटाङ्ग बाट १÷१ जना र ६ महिनाभित्रमा अधिवेशन धनकुटा, ओखलढुंगा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्ग र सोलुखुम्बु जिल्लाबाट १÷१ जना प्रतिनिधि थप जम्मा १५ सदस्य समिती गठन गर्ने निर्णय भएको परियोजनाका कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिनुभयो ।
नेपालका सन्दर्भमा वैदेशिक रोजगार, यसमा रहेका सकारात्मक तथा नकारात्मक पक्षहरू, वैदेशिक रोजगारीसँग सम्वन्धित विद्यमान ऐन, कानुन तथा तिनको कार्यान्वयनको स्थिति लगायतका विषयमा हेल्भेटास नेपालको तर्फबाट सामि परियोजनाका तालिम संयोजक सनत सापकोटा, सामी परियोजना प्रदेश संयोजक कोपिला दाहाल, परियोजनाका कार्यक्रम अधिकृतहरू राम कुमार कर्ण, देव नारायण चौधरीले प्रकाश पार्नु भएको थियो ।
प्रदेश स्तरमा उद्योग, श्रम तथा रोजगार मन्त्रालयको स्थापना हुनुले अत्यन्त उत्साहित बनाएको बताउँदै सहभागीहरूले प्रदेश स्तरीय संजालले वैदेशिक रोजगारीको निर्णय लिएका, वैदेशिक रोजगारीमै रहेका व्यक्ति तथा आफन्त साथै वैदेशिक रोजगारीबाट फर्किएर समाजमा पुनर्स्थापना हुने चरणमा रहेका, रोजगारीको क्रममा विभिन्न समस्यामा परेका प्रदेश नं १ का लाखौं व्यक्तिहरूको लागि प्रदेश स्तरीय सञ्जालले उल्लेखनिय काम गर्न आवश्यक रहेको सहभागीले बताउनु भएको छ ।