logo
शुक्रबार, साउन २९ २०८३

आज कुकुर तिहार पर्व मनाइँदै, कुकुरकाे यस्ताे छ महिमा


  • कुइनेटो न्युज
  • आइतबार, कार्तिक २६ २०८०

झापा । यम पञ्चक अन्तर्गत आज कुकुर तिहार पर्व। घर–घरमा कुकुरको पूजा तथा मीठामीठा खानेकुरा दिएर यो पर्व मनाइँदैछ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। कुकुर तिहारलाई नरके चतुर्दशी पनि भनिन्छ। कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने धार्मिक मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ। वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ।

कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ।

त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत कुकुरले दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वाससमेत छ।

यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ। यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ। यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मतसमेत रहेको गौतमले बताए।

यसैबीच आजै लक्ष्मीपूजा पनि परेको छ। आज साँझ घरघरमा धनदौलतकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा पर्व पनि मनाइँदै छ। लक्ष्मी पूजापछि घरघरमा भैलेनी खेलेर रमाइलो गरिन्छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend