कमल ÷ चाडपर्व नजिकिए सँगै बजारमा चलहल बड्ने र यसको फाइदा उठाउँदै व्यवसायीले मूल्य वृद्धि गर्ने तथा उपभोग्य मिति सकिएका खाध्य सामाग्री तथा मानव स्वास्थ्यलाई असर पुर्याउने अखाद्य सामाग्री समेत बिक्रीवितरण गर्ने भएकोले यसको न्यूनिकरण गर्न झापाको कमल गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेको संयोजकत्वमा , इलाका प्रशासन कार्यलयका प्रतिनिधि, आन्तरिक कार्यलय दमकका प्रतिनिधी,सुरक्षाकर्मी सञ्चारकर्मी सहितको टोलीले बजार अनुगमनलाई तिव्रता दिएको छ ।
अनुगमनमा क्रममा बजारमा उपभोग्य मिति समाप्त भएका खानेतेल, बिस्कुट, चाउचाउ, बेसन, कोल्गेट, कोकाकोला, स्प्राईट, फुटी , जुस, अमिलो लगायतका सामाग्री जफत गरी नष्ट गरिएको कमल गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजकुमार शाक्यले जानकारी दिनुभयो ।
चाडपर्वको मुखैमा बजार अनुगमन गरिरहँदा उपभोक्ता भने निकै खुशी छन् । तर यसरी मौसमी अनुगमन गर्नु भन्दा नियमित अनुगमन गर्न कमल गाउँपालिका १ निवासी कर्ण बहादुर खड्काले सुझाव दिनुभयो ।
व्यवसायीहरूले शहर बजारमा उपभोग्य मिति समाप्त भएपछि त्यो सामाग्री गाउँका भित्री बजारमा बिक्रीवितरण गर्ने गरेका छन् । त्यसैले गाउँमा बस्ने उपभोक्ताले त्यही उपभोग्य मिति समाप्त भएको खाद्य सामाग्री बढी मूल्य तिरेर खान बाध्य छन् । त्यसैले वर्षमा एक दिन भन्दा पनि अनुगमनलाई तिव्रता दिनुपर्ने सरङ्गपाडा टोल विकास संस्थाका अध्यक्ष अशोक कार्की बताउनुहुन्छ ।
बजारमा भेटिएका अखाद्य बस्तु र उपभोग्य मिति समाप्त भएका सामान जफतपछि नष्ट गरेका छौ । गाउँपालिका को तर्फ बाट नियमित अनुगमन गर्ने तालिका भएपनि केही प्राविधिक समस्याका कारण अनुगमन गर्न ढीलो भएको हो । आगामी दिनमा बजार अनुगमनलाई तिव्रता दिने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
शहर बजारमा भन्दा गाउँका भित्री बजारमा उपभोग्य मिति समाप्त भएका र मानव स्वास्थ्यलाई असर पुर्याउने खाद्य सामाग्री छ्यापछ्याप्ती भेटिन्छन् । शहर बजारका होलसेल व्यावसायीले उपभोग्य मिति समाप्त भएपछि त्यसलाई नष्ट गर्नुको साटो भित्री बजारमा बिक्री वितरण गर्ने गरेका छन् । गाउँका सोझा उपभोक्ताले त्यही खाद्य सामाग्री प्रयोग गर्न बाध्य छन् । त्यसैले बजार अनुगमनले यस्ता कार्यलाई निरुत्साही गर्ने छ भने गाउँका सोझासाझा उपभोक्ताले उचित मूल्यमा स्वास्थ्य सामान प्रयोग गर्न पाउने छन् ।