logo
शुक्रबार, साउन २९ २०८३

माथिल्लो निकायको ध्यानाकर्षणको लागि हात्ती आउने गौंडामै पत्रकार सम्मेलन


  • उमानाथ भण्डारी
  • शुक्रबार, असोज १९ २०८०

कमल ÷बिहीबार बेलुका करिब साढे ६ बजे झापाका पत्रकारहरूको समूह बाहुनडाँगी बजार पूर्वको मेची किनारमा भेला भएका थिए । जिल्ला भरिका २० भन्दा बढी पत्रकार रातिको समयमा भारतबाट आउने जंगली हात्ती प्रवेश गर्ने गौँडामा नै भेला गराएर बाहुनडाँगी बासीले हात्तीबाट भएको क्षतिको पीडा सुनाउनु भएको थियो ।
कयौं पटक हात्तीको पीडा सुनाउँदा पनि संघीय र प्रदेश सरकारले ठोस कदम नचालेकाले हात्तीको समस्यामा गम्भिर बन्न हात्ती आउने मुख्य गौँडामा नै पत्रकार सम्मेलन गर्नु परेको मेचीनगर ४ का वडाअध्यक्ष अर्जुनकुमार कार्कीले पत्रकार सम्मेलनमा बताउनु भयो ।

        हात्ती धपाउने आ.आर टी. टिम

‘हामीले हात्तीबाट पीडित हुनु परेको पुस्तौं भयो,’ निष्पट्ट रातमा मेचीको किनारमा उभिएर कार्कीले भन्नुभयो, ‘स्थानीय सरकारले यहाँको क्षतिपुर्ति दिन सक्दैन, केन्द्र र प्रदेश सरकारले हाम्रो पीडा बुझ्नै चाहेन ।’ पत्रकार सम्मेलन चल्दैगर्दा भारतबाट हात्ती नेपाल प्रवेश गरेको सूचना आए पछि स्थानीय हरु विभिन्न आवाजको साइरन बजाउन र टर्च लाइट बाल्दै हात्तीको गतिविधि नियाल्न थाले पछि हात्ती हेर्न पुगेका पत्रकार समेत वहाँहरु कै पछिपछि लाग्नु भएको थियो । यो दृश्य निक्कै सकस पूर्ण रहेको थियो ।
‘हाम्रो त यो हरेक रातको काम भइसक्यो,’ नेपाल तर्फ गठन भएको हात्ती नियन्त्रण गर्न बनेको युवा दस्ता (आर.आर.टी) का संयोजक न्युटन कार्कीले भन्नुभयो, ‘स्थानीयको बाली र जीवन जोगाउन हामी निशुल्क रुपमा हरेक रात १५÷१६ जना हात्ती धपाउन मेची खोलामा तैनाथ हुन्छौं ।’ हात्ती छेक्न निर्माण गरिएको करिब १७ किलोमिटरको विद्युतीय तारबार पनि दैनिक क्षति गरेकाले थप समस्या भएको मानव हात्ती द्वान्द व्यवस्थापन समितिका अध्यक्ष सागर कार्कीले बताउनु भयो ।
‘विद्युतीय तारबारले पनि अब हात्ती छेक्न नसक्ने भइसक्यो,’ कार्कीले भन्नुभयो, ‘हात्ती धेरै बाठो जनावर हो, उसले आफ्नो दाराले तारबारलाई भत्काएर भित्र पस्ने गरेको छ ।’ समेत वहाँले बताउनु भयो ।

          हात्ती धपाउने आ.आर टी. टिम

दारामा करेन्ट लाग्दैन भन्ने हात्तीले थाहा पाइसकेकाले पनि अहिले हात्तीले दैनिक करिब २० हजार भन्दा बढीको बिद्युतिय तारबारमा हात्तीले क्षति पुर्याउन थालेको अध्यक्ष कार्कीले बताउनुभयो । बाहुनडाँगी क्षेत्र हात्तीका कारण धेरै नै प्रताडित हुँदा पनि राज्यको गम्भिर ध्यानाकर्षण नभएको मेचीनगर २ का वडाअध्यक्ष दीपक बरालले आरोप लगाउनु भयो ।
‘संघीय सरकार र प्रदेश सरकारको उपस्थिति हात्तीको क्षतिमा अलिक नजिकबाट हुनुपर्यो,’ वडाअध्यक्ष बरालले भन्नुभयो, ‘राहत पाउने व्यक्तिको नाम समेत आउँदा पनि त्यो राहत लिन अति झन्झटिलो प्रक्रियाले थप पीडा दिएको अवस्था रहेको समेत अध्यक्ष बराल बताउनुहुन्छ ।’

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend