विर्तामोड । झापाको भद्रपुर नगरपालिका ९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ (पीटीए)का अध्यक्ष ज्ञानेन्द्र कटुवालले नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौलालाई अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा पेशाप्रति हतोत्साहित बनाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी कार्य गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ झापा शाखाको ध्यानाकर्षण भएको छ ।
विद्यालय व्यवस्थापन समिति र त्यहाँ कार्यरत् पाँच जना शिक्षकवीचको विवादको बारेमा सेतोपत्र डटकममा सम्प्रेषित समाचारको विषयलाई लिएर पीटीए अध्यक्ष कटुवालले आफ्नो फेसबुकमा स्टाटस लेखेर पत्रकार निरौला र सञ्चारमाध्यमकोे नामै किटान गरी कार्वाहीको धम्की दिदैं पेशाप्रति हतोत्साहित बनाउने कार्य गरेको पाइएको छ ।
प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प र स्थापित मान्यता हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकार र सञ्चार माध्यमको नामै किटान गरेर धम्क्याउदै हतोत्साहित बनाउने कार्य प्रेस स्वतन्त्रताविरोधी र खेदजनक भएको महासंघको ठहर छ । त्यस्तो कार्यमा संलग्नलाई कानूनी कार्वाहीको दायरामा ल्याउन महासंघ सरकार र स्थानीय प्रशासनसंग माग गर्दछ । महासंघ झापा शाखा संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यसखाले गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराउँदछ ।