logo
शुक्रबार, साउन २९ २०८३

तरुल उत्सवमा लिङ्गेपिङका उत्कृष्टलाई पुरस्कार


  • कुइनेटो न्युज
  • सोमबार, माघ २ २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ बाहुण्डाँगी बजारमा आज तरुल उत्सव गरिएको छ । सम्भवतः नेपालमा नै पहिलो पटक तरुल उत्सव गरिएको आयोजकको दावी छ । मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयले उत्सव आयोजना गरेको हो ।

हेपिएको पौष्टिक आहारको रुपमा रहेको तरुलको खाद्य महत्व दर्शाउन र जंङ फुडको अन्त्य गर्दै अर्गानिक खाद्य वस्तुको उपभोग बढाउने उद्देश्यका साथ उत्सव संचालन भएको आयोजक संस्थाका अध्यक्ष मेचीनगर नगरपालिका ४ नम्बर वडाका वडाअध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।

‘तरुल उत्सव केवल नाममात्र हो, यसको नाक, कान, आँखा, मुख र खुट्टाहरु भनेको जैविक विविधता संरक्षण गर्नु हो’ वडाध्यक्ष कार्कीले भने, ‘तरुल हात्तीले नखाने बाली भएको, बाहुण्डाँगी क्षेत्र हात्ती प्रभावित क्षेत्र रहेकाले पनि तरुलको व्यवसायिक खेतीको सम्भावना बलियो बनाउनसमेत उत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको हो ।’

हात्तीको प्रभावलाई समेत मध्यनजर गर्दै सरोकारवालाहरुलाई ध्यानकर्षण गराउने र अन्तराष्ट्रियकरण गर्दै हात्तीको समस्यालाई हल गर्ने उदेश्य रहेको उनको भनाई थियो ।

तरुल महोत्सवमा विभिन्न जातका नेपाल र भारतमा उत्पादन भएका तरुलसँगै, धनकुटाको एभोकाडो, चौरीको छुर्पी, किवीलगायतका स्थानीय स्तरमा उत्पादन हुने खाद्य बस्तुहरु तथा विभिन्न सामग्रीको स्टल राखिएको थियो ।

उत्सव संचालनका लागि मेचीनगरपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, महेन्द्रद्वार सहकारी संस्था काँकरभिट्टा र कृषी ज्ञान केन्द्र भद्रपुरले सहयोग गरेको जनाइएको छ ।

स्वास्थ्य जीवनको आधार मौलिक तथा जैविक आहारविहार भन्ने नाराका साथ बाहुण्डाँगी बजारमा संचालन भएको तरुल उत्सवको कार्यक्रमका प्रमुख अतिथि झापा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले उद्घाटन गरेका थिए ।

तरुल उत्सवलाई प्रदेश सांसद गोपाल तामाङ, इलामको रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङ, झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पर्यटन कर्मचारी तथा व्यवसायी लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि र सरोकारवालाहरुले अवलोकन गरेका थिए ।

उत्सवकै माझ गत दशैं तिहारमा वडा नं. ४ का टोलहरुमा लिङ्गे पिङ लगाउन सञ्चालन गरिएको प्रतियोगिताका उत्कृष्ट टोलहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend