logo
शुक्रबार, साउन २९ २०८३

निर्वाचनमा तटस्थ भूमिका निर्वाह गर्न सञ्चारकर्मीलाई पत्रकार महासंघ झापाको आह्वान


  • कुइनेटो न्युज
  • शनिबार, असोज २९ २०७९

विर्तामोड ।  आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा तटस्थ भूमिका निर्वाह गर्न नेपाल पत्रकार महासंघ झापाले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आह्वान गरेको छ ।
निर्वाचनमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै  सत्य, तथ्य, निष्पक्ष र तटस्थ समाचार/सूचना सम्प्रेषण गर्न महासंघले अपिल गरेको हो ।  महासंघ   झापाको तर्फबाट सचिव डिकेश लामाले शनिबार विज्ञप्ति जारी गरी तटस्थरुपमा पत्रकारको मूल दायित्व निर्वाह गर्न अपिल गरेका छन् ।
केही समयदेखि  स्वतन्त्र पत्रकारिता माथि नै गम्भीर प्रश्न उठ्ने गरी पत्रकारहरुबाटै सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्षमा  मत माग्ने, त्यस्ता प्रचार सामग्री पोष्ट, शेयर र कमेन्ट गर्ने, स्टाटस लेख्ने, अपिल गर्ने, पक्ष÷विपक्षमा सूचना प्रवाह गर्दै मत व्यक्त गर्ने जस्ता गतिविधि भइरहेको भन्दै महासंघले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निर्वाचनका सन्दर्भमा महासंघ झापा शाखाले आफ्ना सदस्य तथा सञ्चारकर्मीको हरेक भूमिका र गतिविधिहरूलाई नजिकबाट नियालिरहेको जनाइएको छ । महासंघ कार्यसमितिका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा रहेको आचारसंहिता कार्यान्वयन अनुगमन समितिले नियमित अनुगमनसमेत गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।  अनुगमन समितिले  सो को प्रतिवेदन महासंघको कार्यसमिति र अनुशासन समितिलाई बुझाउने  गरी जिम्वेवारी दिइएको, प्रतिवेदन तथा अनुशासन समितिको सुझावका आधारमा महासंघले आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ ।

निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, भाइबर,युट्युव ,इन्स्टाग्राम अनलाइन छापा जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा संप्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ ।
त्यस्तै कसैले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्यचार गर्ने, अपमान गर्ने, मिथ्या सूचना, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिकाटिप्पणी इन्टरनेट वा टेलिभिजनमा गर्न नहुने  र त्यस्तो टिकाटिप्पणी भएमा इन्टरनेट सेवा प्रदायक वा केवल टेलिभिजन वितरकले त्यस्ता सूचना वा अभिव्यक्तिलाई हटाउनुपर्ने समेत निर्वाचन आचारसंहितामा उल्लेख छ ।
‘निर्वाचनका सन्दर्भमा मतदाता शिक्षा एवम् निर्वाचनसँग सम्बन्धित समाचार÷सूचना लगायतका सामग्री सम्प्रेषणमा सञ्चार क्षेत्रको गहन जिम्मेवारी र महत्वपूर्ण भूमिका हुने निश्चित छ’–विज्ञप्तिमा भनिएको छ–‘नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघले सधै साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा महासंघको गरिमा, साख र साझा चरित्रलाई बचाउने तथा स्वतन्त्र, व्यवसायिक, मर्यादित पत्रकारिताको पेशागत मर्यादा  कायम गर्ने जिम्वेवारीमा महासंघका हरेक सदस्य तथा सञ्चारकर्मीकोे भूमिका महत्वपूर्ण रहँदैआएको छ ।’

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend