logo
शुक्रबार, साउन २९ २०८३

पाँचौं झापा गोल्डकपको मस्कट र गीत सार्वजनिक


  • कुइनेटो न्युज
  • बिहिबार, फाल्गुन ५ २०७८

बिर्तामोड । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरेर सार्वजनिक गरिएको छ ।

झापाको भूगोल र यहाँको फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको गोल्डकप समितिको भनाई छ । गीतकार बसन्त थाम्सुहाङको रचना रहेको गीतमा पारस मुकारुङले संगीत भरेका छन् भने उक्त गीतमा गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ ।

त्यस्तै, पाँचौँ झापा गोल्ड कपको औपचारिक मस्कटका रुपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । छावाले फुटबल किक गर्दै गरेको प्रतिकका रुपमा मस्कट निर्माण गरिएको छ । मस्कटको निर्माण कलकार पवन राजवंशीले गरेका हुन् ।

यो वर्षको झापा गोल्ड कपको नारा ‘डोमालाल राजवंशी रंगशालको संरक्षण, झापा गोल्ड कप झापालीको पहिचान’ तय गरिएको छ । झापामा स्थायी रंगशाला निर्माण गर्ने उद्देश्यका साथ यो नारा सार्वजनिक गरिएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

झापाबासीकै प्रतिष्ठासँग जोडिएको सो प्रतियोगितालाई सानदार ढंगले सफल बनाउन झापाली उद्योगी, व्यवसायी र खेलप्रेमी महानुभावहरु पत्रकार, मिडिया हाउसहरुको भूमिका महत्वपूर्ण रहने भएकोले सम्पूर्ण उद्योगी, व्यवसायी, पत्रकार साथीहरुलाई साथ र सहयोगको लागि अपील पनि गरिएको छ ।

झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतद्वारा हस्ताक्षरित तथा पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ, ‘झापा गोल्डकपलाई एउटा सामाजिक तथा स्थापित संस्थाको रुपमा अगाडि बढाउन र जिल्लामा नै अगुवा संस्थाको रुपमा चिनाउन सबैखाले सामाजिक अभियानसँग जोडेर आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व सहितको रचनात्मक कार्यहरुमा यस संस्थालाई सक्रियताका साथ अगाडि बढाउने प्रतिबद्धता गर्दछौँ ।’

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend