logo
सोमबार, कार्तिक १० २०८३

आफूले कखरा सिकेको विद्यालयबाट ‘वीरताको गाथा’को पहिलो प्रदर्शन


  • उमानाथ भण्डारी
  • मंगलबार, कार्तिक ४ २०८३

झापा । पृथ्वीनारायण शाहको नेतृत्वमा भएको विशाल नेपाल एकीकरणको ऐतिहासिक घटनाक्रमलाई समेटेर निर्माण गरिएको चलचित्र ‘वीरताको गाथा’को पहिलो प्रदर्शन झापाको कमल गाउँपालिका २ स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयको प्राङ्गणमा सोमवार साँझ सम्पन्न भएको छ ।

                                                                                                       सम्मानित शिक्षकका साथमा

चलचित्रका निर्माता तथा निर्देशक रिमेश अधिकारीले आफूले कखरा सिकेको विद्यालय बाटै चलचित्रको पहिलो प्रदर्शन गर्नु भएको हो । आफ्नो शैक्षिक यात्राको सुरुवात भएको विद्यालयलाई रोजेर चलचित्र प्रदर्शन गरेका अधिकारीले आफूलाई अक्षर चिनाउने गुरुहरू लाई सम्मान गर्नु भएको थियो ।
यसरी सम्मानित हुनुहुने गुरुहरुमा बासुदेब पराजुली, खगेन्द्र अधिकारी,देबी देउराली, डिल्लिराम अधिकारी, सुदर्शन कट्टेल,पुष्पलाल ढकाल र कुल प्रसाद काफ्लेलाई सम्मान गरिएको थियो ।

कमल सांस्कृतिक मञ्च नेपालको आयोजना तथा तोपगाछी धरमपुर मैत्री समाज नेपालको सहकार्यमा आयोजित कार्यक्रममा चलचित्र प्रदर्शनअघि विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थिये । स्थानीय कला, संस्कृति र परम्परा झल्काउने प्रस्तुतिसहित आयोजित कार्यक्रममा चलचित्र प्रदर्शन र शिक्षक सम्मानलाई विशेष महत्व दिइएको थियो ।

आफूलाई प्रारम्भिक शिक्षा प्रदान गर्ने विद्यालयका शिक्षकहरूलाई सम्मान गर्दै अधिकारीले आफ्नो जीवन निर्माणमा शिक्षकहरूले पु¥याएको योगदानको स्मरण गर्दै आफूले शिक्षा हासिल गरेको विद्यालय बाटै चलचित्रको पहिलो प्रदर्शन गर्नु र गुरुहरूलाई सम्मान गर्नुले विद्यालयप्रतिको आत्मीयता र कृतज्ञता झल्काएको थियो ।
‘वीरताको गाथा’मा पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरणको ऐतिहासिक पृष्ठभूमिलाई समेटिएको छ । इतिहासका महत्वपूर्ण घटनाक्रम, वीरता र राष्ट्रिय एकताको भावनालाई चलचित्र मार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ । ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्रले नयाँ पुस्तालाई नेपालको इतिहासबारे जानकारी दिनुका साथै राष्ट्रिय एकताको महत्व बुझाउन सहयोग पुग्ने अपेक्षा गरिएको अधिकारीले बताउनु भयो ।


सांस्कृतिक कार्यक्रम, चलचित्र प्रदर्शन र शिक्षक सम्मानलाई एकैसाथ जोडेर आयोजना गरिएको कार्यक्रमले स्थानीय कला–संस्कृतिको प्रवद्र्धन, इतिहासको संरक्षण र गुरुहरूप्रतिको सम्मानलाई प्राथमिकता दिएको छ । आफूले अक्षर चिनेको विद्यालयबाट चलचित्रको पहिलो प्रदर्शन सुरु गरेर अधिकारीले आफ्नो सिर्जनात्मक यात्रालाई शैक्षिक जीवनसँग जोड्ने प्रयास गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend