झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। “पूर्वबाट उठेको आवाज, देशभरको प्रतिनिधित्व” भन्ने नारासहित उहाँले कोशी प्रदेशसमेत समेटेर केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी अघि सार्नुभएको हो।
राई कमल गाउँपालिकाका निर्वाचित अध्यक्षसमेत हुनुहुन्छ। स्थानीय तहको नेतृत्वमा रहेर जनताको आवश्यकता, विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय समस्यासँग प्रत्यक्ष रूपमा काम गर्दै आउनुभएका राईले अब पार्टीको केन्द्रीय तहमा पुगेर कोशी प्रदेशसहित देशभरका नागरिकका आवाजलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाउनुभएको छ।
उहाँले कांग्रेसलाई समयानुकूल, जनमुखी र संगठनात्मक रूपमा थप सुदृढ बनाउन आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने बताउनुभएको छ। विशेषगरी स्थानीय तहमा देखिएका समस्या, युवा पुस्ताको अपेक्षा, रोजगारी, कृषि, पर्यटन, पूर्वाधार विकास तथा सुशासनका विषयलाई पार्टीको राष्ट्रिय नीतिसँग जोडेर अघि बढाउने उहाँको धारणा छ।
महाधिवेशनमा राईले केन्द्रीय सदस्य पदमा कोशी प्रदेशको समावेशी र सशक्त प्रतिनिधित्व सुनिश्चित गर्न आफूलाई समर्थन गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गर्नुभएको छ।
कमल गाउँपालिकाको नेतृत्व सम्हालिरहेका राईको केन्द्रीय सदस्य पदमा उम्मेदवारीलाई स्थानीय तहबाट पार्टीको केन्द्रीय राजनीतिमा प्रभावकारी उपस्थिति जनाउने प्रयासका रूपमा हेरिएको छ। कोशी प्रदेशबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व बढाउन पनि उहाँको उम्मेदवारी अर्थपूर्ण हुने समर्थकहरूको भनाइ छ।