कमल, ।झापाको कमल गाउँ पालिकामा १९ हजार ७० जनाले जापानिज इन्सेफ्लाइटिस (जे.ई.) विरुद्धको विशेष खोप लगाएका छन् ।
जे.ई. विरुद्धको विशेष खोप अभियान अन्तर्गत कमल गाउँपालिकामा २६ हजार ४६८ जना लक्षित नागरिकमध्ये १९ हजार ७० जनाले खोप लगाएका हुन् ।
गत आश्विन ५ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको अभियानको अन्तिम विवरण अनुसार गाउँपालिकामा ७२.१ प्रतिशत खोप प्रगति हासिल भएको छ।
३० वर्षमाथिका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको अभियानको शुभारम्भ कमल गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष श्री हुकुमसिंह राईले स्वयं जे.ई. विरुद्धको खोप लगाएर गर्नुभएको थियो।

अभियानलाई प्रभावकारी बनाउन अध्यक्ष राईले सुरुदेखि नै लक्षित समूहका नागरिकलाई खोप सेवामा सहभागी गराउन गाउँपालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वयंसेवकहरूलाई सक्रिय रूपमा परिचालन गर्नुभएको थियो।
अभियानका क्रममा लक्षित नागरिकलाई खोपको पहुँचमा ल्याउन स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीहरू निरन्तर रूपमा खटिएका थिए। वडा तहमा खोपबारे सूचना प्रवाह गर्ने, नागरिकलाई खोप केन्द्रसम्म ल्याउने, केन्द्र व्यवस्थापन गर्ने तथा खोप सेवा प्रदान गर्ने कार्यमा उनीहरूको सक्रिय सहभागिता रहेको थियो।
अध्यक्ष राईले अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीबीच समन्वय र सहकार्यमा जोड दिँदै लक्षित समूहका कुनै पनि नागरिक खोपबाट नछुटून् भन्ने उद्देश्यले थप प्रयास गर्न निर्देशन दिनुभएको स्वास्थ्य शाखाले जनाएको छ।
अभियानको अन्तिम विवरणअनुसार खोप लगाउने १९ हजार ७० जनामध्ये ११ हजार ४२ जना महिला र ८ हजार २८ जना पुरुष रहेका छन्।
उमेर समूहअनुसार ३०–६० वर्ष उमेर समूहका १३ हजार ९९३ जना र ६० वर्षमाथिका ५ हजार ७७ जना नागरिकले जे.ई. विरुद्धको खोप लगाएका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखाले ७२.१ प्रतिशत खोप प्रगतिलाई सन्तोषजनक प्रगतिका रूपमा लिएको जनाएको छ। लक्षित नागरिकलाई खोपको पहुँचमा ल्याउन स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीहरूले गरेको निरन्तर मेहनत र सहकार्य अभियानको महत्वपूर्ण पक्ष रहेको शाखाले जनाएको छ।
खोपको पहुँच अझ विस्तार गर्दै असोज १६ गते पनि कमल गाउँपालिकाका विभिन्न स्थानमा थप खोप केन्द्र सञ्चालन गरी अभियानलाई निरन्तरता दिइएको छ।
अध्यक्ष राईका अनुसार छुटेका लक्षित नागरिकलाई सहज रूपमा खोप सेवा उपलब्ध गराउने उद्देश्यले कमल–२ स्थित कमल नगर अस्पताल, कमल–३ को केर्खा बजार तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन, कमल–५ को सामुदायिक स्वास्थ्य इकाइ सिम्ले भवन, कमल–६ को लखनपुर स्वास्थ्य चौकी र कमल–७ को आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनमा खोप केन्द्र सञ्चालन गरिएको हो।
कमल गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष हुकुमसिंह राईले जे.ई.बाट नागरिकलाई सुरक्षित राख्न खोप अभियानलाई प्रभावकारी बनाउनु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ।
अध्यक्ष राईले भन्नुभयो, “जे.ई.बाट नागरिकलाई सुरक्षित राख्न खोप अभियानलाई प्रभावकारी बनाउनु हामी सबैको साझा जिम्मेवारी हो। लक्षित समूहका कोही पनि नागरिक खोपबाट छुट्न नहुने गरी स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेवक र शिक्षकलाई परिचालन गरेका छौँ। नागरिकको स्वास्थ्य सुरक्षा नै स्थानीय सरकारको पहिलो प्राथमिकता हो।”
अध्यक्ष राईका अनुसार निर्धारित अवधिपछि पनि असोज १६ गते सम्म थप केन्द्रबाट खोप सेवा सञ्चालन गरिएको हो। अभियान सामान्यतः छोटो अवधिमा सम्पन्न गर्नुपर्ने भए पनि नियमित खोपलगायतका अन्य स्वास्थ्य सेवाको जिम्मेवारीलाई समेत व्यवस्थापन गर्दै कमल गाउँपालिकामा जे.ई. खोप अभियानलाई थप दिनसम्म निरन्तरता दिइएको हो।
अभियानका क्रममा अध्यक्ष राईसहित गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य कार्यालय झापा, स्वास्थ्य निर्देशनालय, विश्व स्वास्थ्य संगठन (WHO) तथा गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले विभिन्न खोप केन्द्र तथा स्वास्थ्य संस्थाको स्थलगत अनुगमन गरेको थियो।
अनुगमनका क्रममा खोप सेवाको अवस्था, नागरिकको सहभागिता, लक्षित समूहको पहुँच तथा स्वास्थ्यकर्मीको परिचालनबारे जानकारी लिइएको थियो। स्थलगत अनुगमनले अभियान सञ्चालनका क्रममा देखिएका अवस्था पहिचान गरी थप खोप पहुँच विस्तार गर्नसमेत सहयोग पुगेको स्वास्थ्य शाखाले जनाएको छ।
कमल गाउँपालिकाले जे.ई. विरुद्धको खोप लगाउन बाँकी रहेका ३० वर्षमाथिका लक्षित नागरिकलाई आफ्नो नजिकको खोप केन्द्रमा पुगेर यथाशीघ्र खोप लगाउन आग्रह गरेको छ।
अभियान निर्धारित अवधिभन्दा थप दिनसम्म सञ्चालन भइसकेकाले अब खोप लगाउन बाँकी रहेका लक्षित नागरिकले थप ढिलाइ नगरी उपलब्ध खोप केन्द्रमा पुगेर सेवा लिन गाउँपालिकाले अनुरोध गरेको छ।
अभियान सफल बनाउन सहयोग गर्नुहुने अध्यक्ष श्री हुकुमसिंह राई, सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, कर्मचारी, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सहयोगी सम्पूर्णमा कमल गाउँपालिकाले हार्दिक आभार व्यक्त गरेको छ। साथै, खोप सेवा लिन सहभागी सम्पूर्ण नागरिकप्रति धन्यवाद व्यक्त गरिएको छ।