इटहरी/ अखिल नेपाल महिला संगठन कोशी प्रदेशको एकता बैठक सम्पन्न भएको छ। बैठकमा १७५ सदस्यीय प्रदेश कमिटीको घोषणा सहित सपथ ग्रहण गरिएको थियो ।
अखिल नेपाल महिला सङ्गठनको इन्चार्ज” तथा राष्ट्रिय सभा सदस्य जयन्ती राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता अनेम संगठन कोशी प्रदेशको संयोजक लता न्यौपानेले गर्नु भएको थियो भने संचालन चित्रकला रसाईलीले गर्नु भएको थियो।
संघीय संविधानमा महिलाका अधिकार सुनिश्चित छ तर बर्तमान सरकार बहुमतको दम्भले एकात्मक, तानाशाही र निरंकुश हुदैछ, सिहदरबारको राज्य सत्ताले प्रदेश र स्थानीय तहलाई बलियो होइन कमजोर बनाउन तिर लागेकोले लोकतन्त्रमा समान विचार भएका बामपन्थीको एकता आवश्यक छ भनि प्रमुख अतिथि नेपाली कम्युनिष्ट पार्टीको फ्याक्सन ईन्चार्ज राईले बताउनुभयो । उनले प्रदेश नं १ लाई अस्थिरताबाट जोगाउन प्रदेश सरकारमा नेकपा सहभागी भएको हो भनी बताउनु भएको छ।

त्यस्तैगरी प्रदेश र स्थानीय सरकार जनताको घरदैलोमा सेवा उपलब्ध गराउने जनताको नजिकको सरकार भएकोले दुईतिहाइको रापले प्रदेश संरचना हेरफेर गर्न मिल्दैन। प्रदेशमा महिलाका अधिकार प्रभावकारी रुपमा सुनिश्चित गर्न र प्रदेशको संरचना मजबुत बनाउन आगामी निर्वाचनमा नेकपा लाई बहुमत दिलाउने गरी कार्य क्षेत्रमा लाग्न अनेम संगठन कोशी प्रदेश समितिलाई अनेमसंघ कोशी प्रदेश संयोजक न्यौपानेले आव्हान गर्नु भएको थियो।
कार्यक्रममा नेकपा प्रदेश सह-इन्चार्ज साबित्री कुमार काफ्ले लगायतका बिमला सुवेदी, दामा शर्मा, रामकुमारी चौधरी, विद्या चाम्लिङ, दुर्गा जयन्ती राई, खिनु लुंवा, जिवन आचार्य, गिता तिम्सिना, गम्बू शेर्पा, शुसिला घिमिरे सामना, सिता थेवे, सरस्वती पोखरेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) लगायत दश बामपन्थी घटकको गत २०८२ कार्तिक १९ मा पार्टी संयोजक क.पुष्प कमल दाहाल “प्रचण्ड” र सहसंयोजकमा क. माधवकुमार नेपाल रहने र चुनाव चिन्ह “तारा” रहने गरी एकिकरण भै नेपाली कम्युनिष्ट पार्टीको गठन भएको र सोही पार्टीका जन वर्गिय संगठन अनेमसंघ (क्रान्तिकारी) र अनेमसंघ (समाजवादी) लगायतका संगठनहरूको एकीकरणपछि अखिल नेपाल महिला संगठन बनेको हो ।
एकताको संदेश पार्टी पङ्क्ति, जनवर्गीय संगठन र जनस्तरमा प्रवाह गर्न एकता बैठक गरिएको भनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य एवं अनेम संगठन प्रदेश सदस्य सानु कार्की बस्नेत “क्रान्तिटिका’ ले जानकारी दिनुभएको छ।
उहाँले केन्द्रीय समिति बैठकबाट पार्टी नियमावली, पार्टीको आचार संहिता-२०८३ जारी भएको र हाल पार्टीको अनलाइनबाट सदस्यता नवीकरण तथा वितरणको कार्य समेत भइरहेको जानकारी दिनुभयो।