logo
बिहिबार, असोज १ २०८३

कमलमा पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण गोष्ठी सम्पन्न


  • कुइनेटो न्युज
  • बिहिबार, असोज १ २०८३

कमल ।जापानिज इन्सेफ्लाइटिस (जेई) को जोखिम न्यूनीकरणका लागि झापामा सञ्चालन हुन लागेको खोप अभियानलाई लक्षित गर्दै कमल गाउँपालिकाले तयारी तीव्र पारेको छ।

आगामी असोज ५ गतेदेखि सञ्चालन हुने अभियानअन्तर्गत कमल गाउँपालिकामा २६ हजार ४६८ जनालाई जेई विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ।
अभियानलाई व्यवस्थित, प्रभावकारी र सुरक्षित रूपमा सञ्चालन गर्ने उद्देश्यले कमल गाउँपालिकाका अध्यक्ष तथा पालिकास्तरीय खोप समन्वय समितिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा जेई खोप अभियानसम्बन्धी अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न भएको हो।
बैठकले अभियानलाई लक्षित नागरिकसम्म प्रभावकारी रूपमा पुर्‍याउन खोप केन्द्र व्यवस्थापन, स्वास्थ्यकर्मी तथा भ्याक्सिनेटर परिचालन, समुदायस्तरमा सूचना तथा सचेतना विस्तार , टोल बिकाश समिती र विभिन्न सरोकारवाला निकायबीच आवश्यक समन्वयलाई तीव्रता दिने निर्णय गरेको छ।
अध्यक्ष राईले जेई विरुद्धको खोप अभियानलाई सफल बनाउन पालिकाका सबै संयन्त्र परिचालन गर्नुपर्ने बताउँदै लक्षित नागरिकमध्ये कोही पनि खोपबाट वञ्चित नहुने गरी अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेका थिए।
उनले अभियानको सफलता स्वास्थ्यकर्मीको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, स्वास्थ्य संस्था, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र समुदाय सबैको साझा दायित्व भएको उल्लेख गर्दै नागरिकमा सही सूचना पुर्‍याएर खोपप्रतिको विश्वास बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले जेई खोप अभियानमा सक्रिय सहभागिता जनाउन पालिकावासीलाई आग्रह गरिन्। उनले सबै नागरिकलाई आफ्नो नजिकको खोप केन्द्रमा पुगेर जेई विरुद्धको खोप लगाउनअनुरोध गर्दै अभियान सफल बनाउन स्थानीय तहलाई सहयोग गर्न अपिल गरिन्।।

यसैगरी कमल गाउँपालिका–४ का वडाध्यक्ष चन्द्र भट्टराईले आफ्नो वडामा खोप अभियानको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए। उनले भोलि नै वडा खोप समन्वय समितिको बैठक बसेर लक्षित नागरिकको पहुँच सुनिश्चित गर्ने, खोप केन्द्र व्यवस्थापन गर्ने तथा अभियानलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको बताए।
अभिमुखीकरण कार्यक्रममा जेई खोप अभियानको उद्देश्य तथा आवश्यकता, लक्षित जनसंख्या, खोप दिने प्रक्रिया, सुरक्षित खोप व्यवस्थापन, अभिलेखीकरण, खोप केन्द्र सञ्चालन तथा खोप लगाएपछि देखिन सक्ने प्रतिकूल घटनाको पहिचान र व्यवस्थापनलगायतका विषयमा पालिका खोप समन्वय समितीलाइ अभिमुखीकरण गरिएको थियो।
झापामा पछिल्लो समय जेई संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय झापाले जिल्लाका स्थानीय तहसँगको समन्वयमा खोप अभियान सञ्चालनको तयारी अघि बढाएको हो। सोही अभियानअन्तर्गत कमल गाउँपालिकाले पनि लक्षित २६ हजार ४६८ नागरिकसम्म खोपको पहुँच पुर्‍याउने गरी आवश्यक व्यवस्थापन अघि बढाएको स्वास्थ्य शाखाले जनाएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य चन्द्रकला सुब्बा र मनमाया सिटौला, स्वास्थ्यकर्मी, भ्याक्सिनेटर तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहालले गरेका थिए।
असोज ५ गतेदेखि सुरु हुने जेई खोप अभियानलाई लक्षित गर्दै कमल गाउँपालिकाले पालिकास्तरीय समन्वय, स्वास्थ्यकर्मीको तयारी, खोप केन्द्र व्यवस्थापन र समुदायस्तरको सचेतनालाई एकसाथ अघि बढाएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend