logo
बिहिबार, असोज १ २०८३

कमलमा जेई खोप अभियानको तयारी तीव्र, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम प्रदान

२६ हजार ४६८ जनालाई खोप लगाउने लक्ष्य


  • कुइनेटो न्युज
  • बुधबार, भाद्र ३१ २०८३

कमल । झापाको कमल  गाउँ पालिकामा जेई खोप अभियानको तयारी तीव्र रूपमा सन्चालन भैरहेको  छ ।
जापानिज इन्सेफ्लाइटिस (जेई) को जोखिम न्यूनीकरणका लागि झापा जिल्लामा सञ्चालन हुन लागेको जेई विरुद्धको खोप अभियानलाई लक्षित गर्दै कमल गाउँपालिकामा समेत अभियान सफल पार्न तिव्र रूपमा तयारी  भैरहेको छ । अभियान सफल पार्नकालागी  स्वास्थ्यकर्मी तथा भ्याक्सिनेटरहरूलाई  अभिमुखीकरण  तालिम  समेत  सम्पन्न भएको छ।
अभियानलाई प्रभावकारी, व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्ने उद्देश्यले स्वास्थ्य शाखाको समन्वयमा आयोजित अभिमुखीकरण कार्यक्रममा खोप सञ्चालनको तयारी, लक्षित जनसंख्या, खोप दिने विधि, खोपको सुरक्षित व्यवस्थापन, अभिलेखीकरण तथा अभियानका क्रममा आइपर्न सक्ने समस्या र त्यसको व्यवस्थापनका विषयमा स्वास्थ्यकर्मीहरूलाई जानकारी गराइएको थियो।
झापामा पछिल्लो समय जेई संक्रमण देखिन थालेपछि स्वास्थ्य कार्यालय झापाले जिल्लाका स्थानीय तहमा अभियान सञ्चालनको तयारी अघि बढाएको हो। अभियानअन्तर्गत कमल गाउँपालिकामा २६ हजार ४६८ जनालाई जेई विरुद्धको खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ।
अभिमुखीकरण कार्यक्रममा खोप अभियान केवल खोप लगाउने कार्यक्रम मात्र नभई लक्षित समुदायसम्म प्रभावकारी रूपमा सूचना पुर्‍याउने, खोप केन्द्रको उचित व्यवस्थापन गर्ने र खोप लगाउन आउने नागरिकलाई आवश्यक परामर्श प्रदान गर्ने विषयमा समेत जोड दिइएको थियो।
कार्यक्रममा स्वास्थ्यकर्मी तथा भ्याक्सिनेटरहरूले अभियानका क्रममा अपनाउनुपर्ने सावधानी, खोपको व्यवस्थापन तथा प्रतिकूल घटना व्यवस्थापनलगायतका विषयमा जानकारी लिएका थिए। अभियानलाई सफल बनाउन स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइएको छ।
कमल गाउँपालिकाले जेई विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन आवश्यक तयारीलाई तीव्रता दिएको छ। गाउँपालिकाले लक्षित सबै नागरिकलाई अभियानमा सहभागी भई जेई विरुद्धको खोप लगाउन आग्रहसमेत गरेको छ।
झापामा सञ्चालन हुने अभियान असोज ५ गतेदेखि सुरु गर्ने तयारी गरिएको छ। कमल गाउँपालिकामा पनि तोकिएका लक्षित समूहसम्म खोपको पहुँच सुनिश्चित गर्न स्वास्थ्य संस्थामार्फत आवश्यक व्यवस्थापन अघि बढाइएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्यकर्मीको तयारीदेखि समुदायमा सचेतना विस्तारसम्मलाई प्राथमिकतामा राख्दै कमल गाउँपालिकाले जेई खोप अभियानलाई प्रभावकारी बनाउने तयारी गरेको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend