कमल । झापाको कमल गाउँपालिकामा लागूऔषधको बढ्दो दुरुपयोग तथा त्यसबाट सिर्जना हुने सामाजिक, पारिवारिक र आपराधिक समस्या न्यूनीकरण गर्ने उद्देश्यले आज लागूऔषध दुरुपयोग न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय झापाको सहकार्यमा भएको कार्यक्रममा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत लागूऔषध नियन्त्रण तथा रोकथामका विषयमा सरोकारवालाबीच छलफल तथा अन्तरकृया भएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था तथा विद्यालयलका शिक्षक बिच भएको कार्यक्रममा लागूऔषध विरुद्ध अभियानलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी बसुन्धरा खड्काले लागूऔषधको प्रयोगले व्यक्ति, परिवार हुँदै समग्र समाजमा पार्ने नकारात्मक प्रभावका बारेमा जानकारी गराउनु भएको थियो ।
पछिल्लो समय विशेषगरी किशोर किशोरी तथा युवापुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउन परिवार, विद्यालय, समुदाय र सुरक्षा निकायबीच निरन्तर समन्वय तथा सहकार्यको आवश्यक रहेको एसपी खड्काले बताउनु भयो ।
नेपाल प्रहरीले पछिल्लो समय ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारासहित समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै समुदायसँग प्रहरीको सम्बन्धलाई थप मजबुत बनाउँदै स्थानीय स्तरमा देखीएका लागूऔषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि समुदाय, विद्यालय, स्थानीय तह, अभिभावक तथा सामाजिक संघसंस्थासँगको सहकार्यलाई निरन्तरता दिने इसपी खड्काले बताउनु भयो ।
देखिएका सामाजिक समस्या पहिचान र समाधानका लागि यस्ता कार्यक्रम उपयोगी हुने समेत खड्काले बताउनु भयो ।
लागूऔषधको प्रयोगका कारण स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै पारिवारिक सम्बन्धमा समस्या, आर्थिक संकट, मानसिक तनाव र विभिन्न प्रकारका आपराधिक गतिविधि बढ्न सक्ने भएकाले यसको रोकथाम र न्युनिकरणमा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

कार्यक्रमममा सामुदायीक विध्यालयका तर्फ बाट बद्री कार्की, प्याब्सन कोशी प्रदेशका सचिव गौरमिान फागो,एन प्याब्सन का तर्फ बाट तुलसा खड्का लगायतले अभिभावकले आफ्ना बालबालिका तथा युवाको व्यवहारमा आएको परिवर्तनलाई समयमै पहिचान गर्ने, उनीहरूसँग खुला संवाद गर्ने र समस्या देखिए सम्बन्धित निकायसँग सहयोग र समन्वय गर्नु पर्नेमा जोड दिनुभयो ।
विद्यालय तथा शैक्षिक संस्थाहरूले विद्यार्थीलाई लागूऔषधको जोखिमबारे नियमित रूपमा जानकारी गराउने, समुदायले शंकास्पद गतिविधिबारे प्रहरीलाई सूचना दिने तथा स्थानीय तहले रोकथाम र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउदै लागूऔषध प्रयोगकर्तालाई केवल अपराधीका रूपमा हेर्नुभन्दा उनीहरूलाई पुनःस्थापना र सामाजिक मूलधारमा फर्काउने वातावरण निर्माण गर्न सबै क्षेत्र लाग्नु पर्ने समेत सहभागीहरुले बताएका थिए ।
लागूऔषध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएकाले यसको रोकथामका लागि घरदेखि विद्यालय र समुदायसम्म सचेतना फैलाउन आवश्यक रहेको कार्यक्रमले सन्देश दिएको छ।
कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने शाखाका प्रविधिक रविन गौतमले सञ्चालन गर्नु भएको थियो ।