logo
शुक्रबार, साउन २९ २०८३

सुखानी शहीद स्मृति उद्यानमा ‘म्यूजिकल कलर फाउन्टेन’


  • कुइनेटो न्युज
  • शनिबार, भाद्र ४ २०७९

आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्न सफल झापाको अर्जुनधारा–९ र ११स्थित सुखानी शहीद स्मृति उद्यानको भीमसेन पोखरीमा म्यूजिकल कलर फाउन्टेन(सांगीतिक रंगिन फोहरा) जडान गरिएको छ ।

गत आर्थिक वर्ष ०७८÷०७९मा संघीय सरकार अन्र्तगतको पर्यटन मन्त्रालयबाट विनियोजन भएको ५० लाखसहित जम्मा ५५ लाख ९७ हजार एक सय १६ रुपैयाँको लागतमा जडान गरिएको उक्त फाउन्टेनको सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका प्रमुख संरक्षक एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

गत जेठ २२ गतेदेखि सुरु भएको फाउन्टेन जडान निर्माणको कार्य असार २० गते सम्पन्न भएको योजना सूचना विवरणमा उल्लेख गरिएको छ । संगीतको धुनमा पानीको रंगिन फोहरा अवलोकन गर्न पोखरी नजिक पाँच हजार ५५७ वर्ग फिट प्यारापिट पनि निर्माण गरिएको छ ।

उक्त प्यारापिट प्रदेश सरकार पर्यटन मन्त्रालयको २० लाखसहित जम्मा २२ लाख ९० हजार एक सय ३३ रुपैयाँको लागतमा निर्माण गरिएको प्रतिष्ठानका सहायक व्यवस्थापक योगेन्द्र रिजालले जानकारी दिए । गत जेठ १४ गतेदेखि सुरु भएको प्यारापिट निर्माणको कार्य असार १० गते सम्पन्न भएको हो ।

न्याय, समानता र प्रजातन्त्रको बहाली गर्ने आन्दोलनको सिलसिलामा झापा र इलामको सीमानामा रहेको सुखानी जंगलमा २०२९ साल फागुन २१ गते शहादत प्राप्त गरेका पाँच जना शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले उक्त उद्यानको निर्माण गरेको हो ।

२२.४ हेक्टर क्षेत्रफलमा रहेको उक्त उद्यानमा यस अघि पाँच शहीदको पूर्ण कदको शालिकसहितको उद्यान, डुंगा शयर, कछुवा उद्धार तथा संरक्षण केन्द्र, बाल उद्यानआदि रहेको छ । उद्यानमा म्यूजिकल कलर फाउन्टेन जडान भएसँगै त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्ने र मनोरञ्जन प्राप्त हुने प्रतिष्ठानको अपेक्षा छ ।

उद्घाटन गरिएको उक्त फाउन्टेन पूर्णरुपमा सञ्चालनमा ल्याउन भने केही समय लाग्ने प्रतिष्ठानका सहायक व्यवस्थापक रिजालले जानकारी दिए । “रातको समयमा सञ्चालन गर्नुपर्ने भएको हुँदा आवश्यक कार्यविधि निर्माणको प्रक्रियामा छ,‘त्यसपछी सञ्चालनमा ल्याउनेछौं ।”–उनले स्पष्ट पारे ।

प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेको अध्यक्षता र पूर्व प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा ओली पत्नी राधिका शाक्य, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्व कानूनमन्त्री अग्नि खरेल, प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनलगायतको आतिथ्यता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष घिमिरेले कार्यक्रमको औचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य प्रेमबहादुर गिरीले गरेका थिए ।

purwanchan.com

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend