कमल । झापाको कमल गाउँ पालिकामा जापानी इन्सेफ्लाइटिस (जेई) खाेप सन्चालन गर्ने तयारी तीब्र रूपमा भैरहेको छ ।
जिल्लामा जापानी इन्सेफ्लाइटिस (जेई) को संक्रमणसँगै मृत्युसमेत बढेपछि जोखिम न्यूनीकरणका लागि कमल गाउँ पालिकामा समेत खाेप सन्चालनकाे तयारी तीब्र रूपमा अगाडि बढेको हाे ।
जिल्लामै विशेष खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय झापा ले जनाएको छ ।
कार्यलयका अनुसार भदौ २१ गतेसम्म जिल्लामा ९५ जनामा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम (एईएस) देखिएकोमा १२ जनामा जेई पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र २ पुरुष रहेका छन्।
जेईका कारण बिरामी पर्ने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि कोशी प्रदेशका १४ जिल्लामध्ये झापा उच्च जोखिममा रहेको भन्दै पहिलो चरणमै झापामा विशेष खोप अभियान सञ्चालन गर्न लागिएको हो। यस अभियानमा विशेषगरी ३० वर्षमाथिका नागरिकलाई लक्षित गरिएको छ। बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत जेईविरुद्धको खोप दिइँदै आए पनि पछिल्लो समय वयस्कमा समेत संक्रमण र मृत्यु देखिएपछि ३० वर्षमाथिको उमेर समूहलाई लक्षित गरी अभियान अघि बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यही अभियानलाई प्रभावकारी बनाउन कमल गाउँपालिकाले पनि तयारी तीव्र पारेको छ। आगामी असोज ५ गतेदेखि सुरु हुने जेई खोप अभियानअन्तर्गत कमल गाउँपालिकामा ३० वर्षमाथिका २६ हजार ४६८ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।
अभियानको तयारी तथा व्यवस्थापनको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष हुकुमसिंह राई नेतृत्वको उच्चस्तरीय टोलीले गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयको स्थलगत निरीक्षण गरेको छ।
अध्यक्ष राईसहित प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, आर्थिक प्रशासन शाखा प्रमुख सृजना राई, शिक्षा शाखा प्रमुख सूर्य न्यौपाने र स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहाल सम्मिलित टोलीले खोप केन्द्रको तयारी, जनशक्ति व्यवस्थापन, खोप तथा आवश्यक सामग्रीको अवस्था र लक्षित नागरिकसम्म सूचना पुर्याउने विषयमा अनुगमन गरेको हो।
अभियान गाउँपालिकाका सातवटै वडाका ८ वटा स्वास्थ्य संस्था तथा आवश्यकता अनुसार सडङ्ग पाडा, भूतलुङ, पिङडाँडा, वडा कार्यालय, विद्यालय लगायतका स्थानमा खोप केन्द्र सञ्चालन गरी अघि बढाउने तयारी गरिएको छ।
टोलीले कमल–१ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, बसबारी पुगेर केन्द्रका इन्चार्ज रवीन्द्र राई तथा अ न मि विन्द्रा राईसँग अभियानको तयारीबारे छलफल गरेको थियो। अध्यक्ष राईले जेई खोपको लक्ष्यमा रहेका कुनै पनि नागरिक नछुट्ने गरी योजना बनाउन निर्देशन दिँदै खोप व्यवस्थापनसँगै नियमित स्वास्थ्य सेवासमेत प्रभावकारी बनाउन जोड दिए।
त्यसैगरी कमल–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको समेत स्थलगत निरीक्षण गरी केन्द्रको अवस्था, सेवा प्रवाह र जेई खोप अभियानको तयारीबारे छलफल गरिएको थियो। केन्द्रका इन्चार्ज सानु खवास र अ न मि झुमा ढुंगानाले अभियानका लागि भइरहेको तयारीबारे जानकारी गराएका थिए।

टोलीले कमल–३ केराधापस्थित श्री कञ्चनजङ्घा आधारभूत विद्यालयको समेत निरीक्षण गरेको थियो। विद्यालयमा सञ्चालन भइरहेका शैक्षिक गतिविधिका साथै आगामी असोज ५ गतेदेखि जेई खोप केन्द्र सञ्चालन गर्न आवश्यक तयारीका विषयमा विद्यालय पक्षसँग छलफल गरिएको थियो।
यस्तै, कमल–६ स्थित लखनपुर स्वास्थ्य चौकीमा पुगेर नवनिर्मित भवनबाट भइरहेको स्वास्थ्य सेवा तथा जेई खोप अभियानको तयारीबारे जानकारी लिइएको थियो। स्वास्थ्य चौकीका इन्चार्ज देवराज पराजुली, वरिष्ठ सि अ न मि निरीक्षक डम्बरकुमारी शर्मा, वरिष्ठ सि अ न मि निरीक्षक बिनुता संगौला, ल्याब असिस्टेन्ट गीता न्यौपाने र अ न मिविद्या प्रधानलगायतसँग अभियान सञ्चालनका विषयमा छलफल गरिएको थियो।
कमल गाउँपालिकाको वडागत खोप लक्ष्य
कुल जनसंख्या ३० वर्षमाथिको जेई खोप लक्ष्य
कमल–१ जम्मा जनसंख्या ६,८७७,लक्षित जनसंख्या ३,३०१
कमल–२ जम्मा जनसंख्या ६,८०७लक्षित जनसंख्या ३,२६७
कमल–३ जम्मा जनसंख्या ६,५६५ लक्षित जनसंख्या ३,१५१
कमल–४ जम्मा जनसंख्या ८,१७९ लक्षित जनसंख्या ३,९२६
कमल–५ जम्मा जनसंख्या ११,१४१ लक्षित जनसंख्या ५,३४८
कमल–६ जम्मा जनसंख्या ८,०९२ लक्षित जनसंख्या ३,८८४
कमल–७ जम्मा जनसंख्या ७,४८० लक्षित जनसंख्या ३,५९०
जम्मा जनसंख्या ५५१४१ लक्षित जनसंख्या २६४६८
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा जेई संक्रमणबाट प्रभावित हुने क्रम बढिरहेको अवस्थामा जोखिम न्यूनीकरणका लागि ठूलो संख्यामा नागरिकलाई खोप दिने तयारी गरिएको हो। जिल्लामा करिब ४ लाख ९३ हजार ३१९ जनालाई जेईविरुद्धको खोप दिने लक्ष्य राखिएको छ।
कमल गाउँपालिकाले भने अभियानलाई केवल खोप केन्द्रमा सीमित नराखी लक्षित नागरिकसम्मै पुग्ने गरी अभियान सञ्चालन गर्ने रणनीति बनाएको छ। स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय, जनप्रतिनिधि तथा स्थानीय समुदायबीच समन्वय गरी खोप अभियानलाई प्रभावकारी बनाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।
अध्यक्ष राईले “लक्षित समूहका कुनै पनि नागरिक खोपबाट वञ्चित हुन नहुने” भन्दै अभियानलाई नागरिकको स्वास्थ्य सुरक्षासँग जोडिएको महत्वपूर्ण अभियानका रूपमा लिएर जिम्मेवारीपूर्वक सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
झापामा संक्रमण र मृत्युदर बढिरहेको अवस्थामा पहिलो चरणमै विशेष अभियान सञ्चालन हुन लागेको र कमल गाउँपालिकाले अभियान सुरु हुनुअघि नै स्वास्थ्य संस्था, विद्यालय र सम्भावित खोप केन्द्रहरूको स्थलगत निरीक्षण गरी तयारीलाई तीव्रता दिएको विषयले स्थानीय तहको पूर्वतयारी र जोखिम न्यूनीकरणप्रतिको सक्रियतालाई देखाएको छ।