logo
बिहिबार, असोज १ २०८३

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कमलमा समीक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न


  • कुइनेटो न्युज
  • बिहिबार, भाद्र १८ २०८३

कमल । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कमल गाउँ पालिकामा समीक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप तथा सरसफाइ प्रवर्द्धन र खोप कार्यक्रमको सूक्ष्मयोजनाको समीक्षा तथा आगामी कार्ययोजना तर्जुमा सम्बन्धी दुईदिने गोष्ठी बुधबार देखि गाउँपालिकाकाे सभाहलमा सुरु भएको गाेष्टि आज सम्पन्न भएको हाे ।
गोष्ठीमा खोप कार्यक्रमको प्रगति, सूक्ष्मयोजना, सरसफाइ प्रवर्द्धन तथा आगामी कार्यक्रमका विषयमा बृहत् छलफल भइरहेको स्वास्थ्य शाखाले जनाएकाे छ ।

कमल गाउँपालिका अध्यक्ष तथा गाउपालिका खोप समन्वय समितिका अध्यक्ष हुकुमसिंह राईले राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, शिक्षा क्षेत्र तथा समुदायका सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले कुनै पनि बालबालिका नियमित खोप सेवाबाट वञ्चित हुन नदिन स्थानीय तहले विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी खोप सेवासँगै सरसफाइ तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने बताउँदै आगामी दिनमा खोप कार्यक्रमलाई अझ व्यवस्थित र परिणाममुखी बनाउन सूक्ष्मयोजनाले महत्वपूर्ण भूमिका खेल्ने समेत अध्यक्ष राईले बताउनु भयाे ।

राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नियमित खोप सेवाको पहुँच विस्तार तथा सरसफाइ प्रवर्द्धनमा सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले बताउनुभयो।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाका विषयमा स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत बालकृष्ण भण्डारीले सहजीकरण गर्नुभएकाे थियाे ।

गोष्ठीमा गत आर्थिक वर्षको खोप कार्यक्रमको प्रगति, खोपको समीक्षा का साथै चालू आर्थिक वर्ष २०८३/०८४ का लागि खोप कार्यक्रमको विस्तृत योजना तथा सूक्ष्मयोजना निर्माणका विषयमा समेत छलफल गरी आवश्यक कार्ययोजना तय गरिएको थियाे ।

यसैगरी आसाेज महिनामै सञ्चालन हुन लागेको आगामी जापानिज इन्सेफलाइटिस (जेई) खोप अभियानको तयारी तथा सञ्चालनसम्बन्धी योजनाका विषयमा समेत गोष्ठीमा छलफल भएको थियाे ।

गोष्ठीमा कमल गाउँपालिकाअन्तर्गत रहेका ८ वटै स्वास्थ्य संस्थाका प्रमुख तथा खोपकर्मी, शिक्षा शाखालगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियाे ।

गोष्ठीमा नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने, खोपबाट छुटेका बालबालिकाको पहिचान तथा पहुँच सुनिश्चित गर्ने, सरसफाइ प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने र आगामी जेई खोप अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा केन्द्रित रहेर छलफल भइरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दहालले जानकारी दिनुभयाे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend