सुन्दरहरैचा (मोरङ) / सुन्दरहरैंचा नगरपालिका ७ को मापदण्ड बिपरितको अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्ने बिषयमा स्थानीय बासिन्दा र टुन्डी जे. भी. कम्पनी बीचको बार्ता निष्कर्षमा पुग्न सकेन।
डाँडागाउँ टोलमा आईतबार दुवै पक्ष बीच अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्ने विषयमा छलफल भएको थियो। स्थानीय बासीले अलकत्रा प्लान्ट सञ्चालन नगर्न र अन्य गिटी वालुवा ढुङ्गाको प्रसोधनबाट आएको धुलो धुवाँले स्थानीयको आँखा, कान, फोक्सो र स्वासप्रश्वासमा समस्या आइ जनस्वास्थ्यमा प्रत्यक्ष असर देखिन थालेकोले स्वास्थ्य परीक्षणको लागि चाडै स्वास्थ्य शिविर राख्न माग गरेका छन्।
कसैले पनि अमुक ब्यक्ति वा संस्थाको फाईदाका लागि नागरिकको संवैधानिक र वातावरणीय हक हनन गर्न नहुने भन्दै स्थानीय बासीले स्वास्थ्य शिविरका अलवा कम्पनीको परिसर भित्र र बाहिर वातावरण जोगाउन बृक्षारोपण गर्नुपर्ने, कम्पनीले वालवेरा २५ फिट अग्लो बनाउनुपर्ने, धूलो ध्वनी नियन्त्रण प्रविधि कम्पनी र टोलमा जडान गर्नूपर्ने, कम्पनीबाट टोलमा आउने फोहोरमैला गन्ध व्यवस्थापन गर्नुपर्ने, कम्पनीका कामदारको जथाभावी खानपानको कारण टोलमा असूरक्षा बढेकोले नियन्त्रण गर्नुपर्ने, बस्तीको करिब १०० मि. सडकमा कालोपत्रे गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन् ।

स्थानीय बासी र हाम्रो जे भि बिचमा वातावरण जोगाउने बिषयमा छलफल भएको हो। स्थानीय बासी र कम्पनीको सम्बन्ध सकारात्मक बनाउन आबश्यक मागलाई भाद्र मसान्तसम्म क्रमशः सम्बोधन गर्न तयार रहेको भनी कम्पनीका प्रतिनिधि सस्मित पोखरेलले स्थानीय बासिन्दालाई बताउनुभयो।
अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द नै गर्नु पर्ने हामी स्थानीय बासीको प्रमुख माग रहेको र आज कूनैपनि सहमति र निष्कर्ष हुन नसकेकोले चाडै पुन: बार्ता र छलफलमा बस्ने भएका छौ भनी स्थानीय बासिन्दा सानु कार्की बस्नेतले बताउनुभयो । उहाले मापदण्ड विपरितको अलकत्रा प्लान्ट हटाउन स्थानीय निकायले समेत आलटाल गर्न नहुने भनी बताउनुभयो।

एशियन हाइवे निर्माण गर्ने COVEC-CREGE- TUNDI JV को अलकत्रा प्लान्ट बस्तीको बीचमा मापदण्ड विपरित सन्चालन हुन लागेको र सो कम्पनीको धुलो धुवाँ प्रदूषणले स्थानीयको जनस्वास्थ्य र वातावरणमा असर परेकोले स्थानीय आन्दोलित हुदै आएका हुन् । उनिहरुले सुन्दरहरैंचा नगरपालिका र ७ नं वडा कार्यालयलाई अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गराउन ध्यानाकर्षण गराई सकेका छन्।