logo
मंगलबार, कार्तिक ११ २०८३

कमल गाउँपालिकामा कुष्ठरोग सक्रिय खोजपड्ताल तथा (एलपीईपी) कार्यक्रम सम्पन्न

घरदैलोमै पुगेर खोजपड्ताल तथा रोकथाम कार्यक्रम सञ्चालन


  • कुइनेटो न्युज
  • आइतबार, भाद्र ७ २०८३

कमल। कुष्ठरोगको समयमै पहिचान, रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले कमल गाउँपालिका–७ मा कुष्ठरोग सक्रिय खोजपड्ताल तथा LPEP (Leprosy Post-Exposure Prophylaxis) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल कुष्ठरोग सङ्गति (NLF) र फेयरमेड साहारा नेपालको समन्वयमा तथा स्वास्थ्य कार्यालय झापा को सहकार्यमा र कमल गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत आइतबार बिहान ७ बजेदेखि स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको टोलीले घरदैलो अभियान सञ्चालन गरेको थियो।

अभियानका क्रममा कमल गाउँपालिका–७ अन्तर्गत सरस्वती टोल, सृजनशील टोल, सैनिक चोक, पाथीभरा टोल, पशुपति टोल, रंगपुर तथा बार्हघरे आसपासका क्षेत्रमा पुगेर कुष्ठरोगको सक्रिय खोजपड्ताल गरिएको थियो। घरदैलो कार्यक्रममार्फत समुदायका नागरिकलाई कुष्ठरोगसम्बन्धी जानकारी तथा सचेतना प्रदान गर्नुका साथै सम्भावित लक्षण भएका व्यक्तिहरूको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल कुष्ठरोग सङ्गति (NLF) का कार्यक्रम अधिकृत डी.बी. गुरुङ्ग तथा फेयरमेड साहारा नेपालबाट निखिता श्रेष्ठ को उपस्थिति रहेको थियो।

त्यसैगरी, स्वास्थ्य कार्यालय झापाका क्षयकुष्ठ रोग कार्यक्रम फोकल पर्सन वीरेन्द्र दास तथा जनस्वास्थ्य अधिकृत खुश्बु राई को समेत सहभागिता रहेको थियो।

कमल गाउँपालिकाबाट स्वास्थ्य संयोजक दीपक प्रसाद दाहाल, लखनपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक देवराज पराजुली तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–७ का सी.अ.हे.व. अधिकृत अमृत बहादुर थेगिङ लिम्बू लगायतको सक्रिय सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो।

यस अवसरमा कुइनेटो न्युज सँग कुरा गर्दै कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले स्वास्थ्य कार्यालय झापा तथा विभिन्न सहयोगी संस्थाहरूको सहयोग र सहकार्यमा गाउँपालिकामा सञ्चालन भइरहेका यस्ता स्वास्थ्यसम्बन्धी गतिविधिले समुदायस्तरमा रोगको समयमै पहिचान, रोकथाम तथा उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले स्थानीय सरकार स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेकोसमेत उल्लेख गर्नुभयो।

कुष्ठरोगको प्रारम्भिक अवस्थामै पहिचान गरी समयमै उपचारमा जोड्न तथा रोगको संक्रमण रोकथामका लागि समुदायस्तरमै पुगेर सञ्चालन गरिएको सक्रिय खोजपड्ताल तथा LPEP कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। साथै, यस किसिमको घरदैलो अभियानले कुष्ठरोगप्रति समाजमा रहेका भ्रम, डर तथा विभेद न्यूनीकरण गर्दै कुष्ठरोगमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सरकारी निकाय, स्थानीय तह तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरूको सहकार्यमा सञ्चालन भएको उक्त अभियानले कमल गाउँपालिकामा समुदायमुखी स्वास्थ्य सेवाको थप विस्तारमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend