लागुऔषध दुर्व्यसन अब कुनै एक व्यक्ति, परिवार, वर्ग, उमेर वा लिङ्गको मात्र समस्या रहेन। यो स्वास्थ्य, परिवार, शिक्षा, रोजगारी, अपराध, सामाजिक सुरक्षा र स्थानीय शासनसँग जोडिएको जटिल सामाजिक प्रश्न बनेको छ।
हामी प्रायः लागुऔषध प्रयोगकर्तालाई देखेर एउटा सरल निष्कर्ष निकाल्छौँ “खराब संगतमा लागेर बिग्रियो।” तर वास्तविकता यति सरल छैन। खराब संगत, जिज्ञासा, साथीको दबाब, बेरोजगारी, पारिवारिक तनाव, मानसिक स्वास्थ्य, पदार्थको सहज उपलब्धता, सामाजिक वातावरणसँगै व्यक्तिको जैविक तथा आनुवंशिक संवेदनशीलता पनि Substance Use Disorder विकासमा भूमिका खेल्न सक्छ।
त्यसैले अब प्रश्न केवल “उसले किन लागुऔषध खायो?” भन्ने होइन। प्रश्न हुनुपर्छ
“कुन-कुन जैविक, मनोवैज्ञानिक, पारिवारिक र सामाजिक कारणले ऊ त्यस अवस्थामा पुग्यो?” र त्यसपछि अर्को प्रश्न—
“उसलाई कसरी पुनःजीवनमा फर्काउने?”
१. दमकमा समस्या प्रहरीको तथ्यांकमा मात्र छैन
दमक र झापाका विभिन्न स्थानमा ब्राउन सुगर, गाँजा तथा औषधिजन्य लागुऔषधसहित पक्राउका घटना सार्वजनिक भइरहेका छन्। दमकका विभिन्न वडामा ब्राउन सुगर तथा नियन्त्रित औषधिसम्बन्धी पक्राउका घटनाले समस्या स्थानीय तहसम्म गहिरिएको संकेत गर्छ। प्रहरीका प्रकाशित विवरणमा दमक ८ बाट २५ वर्षका दुई युवालाई ब्राउन सुगरसहित पक्राउ गरिएको र दमक ५ बाट ट्रामाडोललगायत औषधिजन्य लागुऔषधसहित तीन जना पक्राउ परेको विवरणसमेत छ।
यी घटना केवल प्रहरी कारबाहीका समाचार होइनन्। प्रत्येक घटनाको पछाडि एउटा परिवार छ। कुनै बाबुआमाको चिन्ता छ। कुनै युवाको बिग्रिएको पढाइ वा रोजगारी छ। कुनै सम्बन्ध टुटेको छ। र कतै एउटा जीवन पुनःनिर्माणको पर्खाइमा छ।
त्यसैले अब लागुऔषधसम्बन्धी सफलताको मापदण्ड केवल
“कति जना पक्राउ परे?”भन्ने हुनु हुँदैन। हामीले सोध्नुपर्छ
कति जना जोखिमबाट जोगिए? कति जनाले उपचार पाए? कति जना पुनर्स्थापित भए?
कति जना रोजगारीमा फर्किए? र कति जना आफ्नो जीवनमा पुनःअर्थ खोज्न सफल भए?
२. लागुऔषध शहरको मात्र समस्या होइन
लागुऔषधको समस्या शहरका गल्लीमा मात्र सीमित छ भन्ने पुरानो सोच बदलिनुपर्छ।दमकसँग जोडिएका कमल, गौरादह, गौरीगञ्ज, शिवसताक्षी लगायतका क्षेत्रमा समेत लागुऔषधसम्बन्धी घटनाहरू सार्वजनिक भएका छन्।
यसले एउटा गम्भीर सन्देश दिन्छ लागुऔषध अब गाउँघरको चोक, होटल, डेरा र घरपरिवारसम्म पुग्न सक्ने अवस्थामा छ।
“हाम्रो गाउँमा यस्तो हुँदैन।” “हाम्रो परिवारमा त्यस्तो समस्या छैन।” भन्ने सोच आफैंमा जोखिमपूर्ण हुन सक्छ। किनकि लागुऔषधले आर्थिक अवस्था, शिक्षा वा सामाजिक हैसियत हेरेर मात्र मानिस छान्दैन।
३. उमेर समूह : सबैभन्दा ठूलो जोखिम युवामा
नेपाल सरकारको लागूऔषध प्रयोगकर्ता सर्वेक्षणले पनि समस्या मुख्यतः युवा उमेर समूहमा केन्द्रित रहेको देखाएको छ।
२०७६ को सर्वेक्षणअनुसार १५–१९ वर्षका प्रयोगकर्ता ७.२ प्रतिशत, २०–२४ वर्षका ३४.३ प्रतिशत र २५–२९ वर्षका ३५.२ प्रतिशत थिए। अर्थात् २०–२९ वर्ष उमेर समूह मात्रै करिब ६९.५ प्रतिशत रहेको देखिन्छ। यो सामान्य तथ्यांक होइन। यो देशको ऊर्जाशील जनशक्तिमाथिको चेतावनी हो।
१५–१९ वर्ष
जिज्ञासा, साथीको दबाब, पहिचान निर्माण र जोखिमपूर्ण प्रयोगको सुरुवाती चरण हुन सक्छ।
२०–२४ वर्ष
कलेज, रोजगारी, प्रेमसम्बन्ध, आर्थिक स्वतन्त्रता, विदेश जाने प्रयास र भविष्य निर्माणको दबाबको समय हो।
२५–२९ वर्ष
समस्या गहिरिएर निर्भरता, पारिवारिक तनाव, आर्थिक समस्या र कानुनी जटिलतातर्फ जाने जोखिम बढ्न सक्छ।
किशोरका लागि रोकथाम, युवाका लागि अवसर र निर्भरता भएका व्यक्तिका लागि उपचार तथा पुनर्स्थापना आवश्यक छ।
४. दुर्व्यसनको कारण एउटै छैन
हामीले धेरैपटक सुन्छौँ “साथी खराब भएर लागुऔषधमा लाग्यो।” साथीको प्रभाव महत्वपूर्ण हुन सक्छ।तर त्यो मात्र कारण होइन।
दुर्व्यसन विकासमा विभिन्न पक्ष एकअर्कासँग जोडिन सक्छन्सा थीको दबाब,जिज्ञासा,तनाव,मानसिक स्वास्थ्यसम्बन्धी समस्या,पारिवारिक द्वन्द्व,बाल्यकालका प्रतिकूल अनुभव,बेरोजगारी,सामाजिक अलगाव पदार्थको सहज उपलब्धता,प्रयोगको मात्रा र अवधि र व्यक्तिको जैविक तथा आनुवंशिक संवेदनशीलता त्यसैले एउटै कारण खोजेर समाधान निकाल्न खोज्नु पर्याप्त हुँदैन।
५. व्यक्तिको metabolism पनि किन महत्वपूर्ण हुन सक्छ?
आधुनिक अनुसन्धानले प्रत्येक व्यक्तिको शरीरले पदार्थलाई समान ढंगले प्रशोधन नगर्न सक्ने देखाएको छ। शरीरमा पदार्थ कसरी अवशोषित हुन्छ, कसरी metabolize हुन्छ, कति छिटो निष्कासन हुन्छ र मस्तिष्कले त्यसको प्रभावलाई कसरी प्रतिक्रिया गर्छ भन्ने कुरामा व्यक्तिअनुसार भिन्नता हुन सक्छ।
त्यसमा genetic variation को पनि भूमिका हुन सक्छ। केही आनुवंशिक भिन्नताले पदार्थको metabolism, brain reward system, dopamine signaling, stress response र पदार्थप्रतिको संवेदनशीलतालाई प्रभावित गर्न सक्छन्।
तर यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ “Metabolism फरक भएकै कारण व्यक्ति addict हुन्छ” भन्नु वैज्ञानिक रूपमा सही हुँदैन। Genes पनि भाग्य होइनन्। बरु केही व्यक्तिमा susceptibility अर्थात् संवेदनशीलता बढी हुन सक्छ। त्यसमा वातावरण, तनाव, मानसिक अवस्था, साथीको प्रभाव र पदार्थको उपलब्धता थपिँदा जोखिम बढ्न सक्छ। अर्थात्—Addiction जैविक + मनोवैज्ञानिक + सामाजिक + वातावरणीय अन्तरक्रियाको जटिल परिणाम हुन सक्छ।
६. DSM-5 ले दुर्व्यसनलाई कसरी हेर्छ?
DSM-5 — Diagnostic and Statistical Manual of Mental Disorders, Fifth Edition ले पदार्थको समस्याग्रस्त प्रयोगलाई Substance Use Disorder (SUD) को रूपमा वर्गीकरण गर्छ। यस दृष्टिकोणमा व्यक्तिलाई केवल “असल” वा “खराब” भनेर मूल्यांकन गरिँदैन। पदार्थ प्रयोगले उसको
स्वास्थ्य,परिवार,सम्बन्ध,अध्ययन,रोजगारी,
सामाजिक जीवन,व्यवहारमा कस्तो असर पारेको छ भन्ने कुरालाई मूल्यांकन गरिन्छ।
DSM-5 ले पुरानो substance abuse र substance dependence लाई अलग-अलग निदानका रूपमा राख्नुको सट्टा Substance Use Disorder को एउटै निरन्तर अवधारणामा समेटेको छ र यसको गम्भीरतालाई mild, moderate र severe रूपमा मूल्यांकन गर्न सकिने व्यवस्था गरेको छ।
यसले हाम्रो सोचमा एउटा महत्वपूर्ण परिवर्तन ल्याउँछ—
लागुऔषध प्रयोग गर्ने व्यक्तिलाई केवल अपराधी भनेर हेरेर पुग्दैन; कतिपय अवस्थामा उसलाई स्वास्थ्यसम्बन्धी उपचार र पुनर्स्थापनाको आवश्यकता हुन्छ।
तर यसको अर्थ अवैध कारोबारलाई छुट दिनुपर्छ भन्ने होइन। तस्करी र वितरणविरुद्ध कठोर कानुनी कारबाही तथा Substance Use Disorder भएका व्यक्तिका लागि वैज्ञानिक उपचार दुवै आवश्यक छन्।
७. दमकमा अब यो कुनै एउटा Gender को समस्या रहेन
दमकमा लामो समय परामर्शदाताका रूपमा काम गरेका पवन बिष्टसँगको संवादले लागुऔषध समस्याको अर्को महत्वपूर्ण पक्ष उजागर गर्छ। उनको अनुभवअनुसार आज दमकमा दुर्व्यसनलाई कुनै एउटा gender मा मात्र देखिने समस्याका रूपमा बुझ्न मिल्दैन।
विगतमा लागुऔषध समस्यालाई मुख्यतः पुरुष युवाको समस्याका रूपमा हेर्ने प्रवृत्ति थियो। तर अहिले महिला लगायत विभिन्न लैङ्गिक समूहमा पनि जोखिमलाई संवेदनशील रूपमा हेर्नुपर्ने अवस्था छ।
यसमा एउटा चुनौती के पनि हो भने सामाजिक कलंक, परिवारको डर र गोपनीयताको कारण केही व्यक्ति उपचार वा परामर्शमा नआएको हुन सक्छन्। त्यसैले कम देखिनु भनेको समस्या कम हुनु होइन। लागुऔषध नियन्त्रण कार्यक्रमलाई सबै gender का व्यक्तिका लागि पहुँचयोग्य, सुरक्षित र गोपनीय बनाउनुपर्छ।
८. पवन बिष्टको अनुभव : “पुनर्स्थापना एउटा यात्रा हो”
पवन बिष्टसँगको संवादबाट आएको सबैभन्दा महत्वपूर्ण सन्देश हो—“पुनर्स्थापना एउटा यात्रा हो।” यो एउटा साधारण वाक्य होइन।
समाजमा अझै पनि “सुधार केन्द्र लग्यो, अब ठीक भयो” भन्ने बुझाइ छ। तर पुनर्स्थापना केवल शरीरबाट लागुऔषध हटाउनु होइन।
यो व्यक्तिको समग्र जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रक्रिया हो। यसमा—
शारीरिक स्वास्थ्य,मानसिक स्वास्थ्य, आत्मविश्वास,पारिवारिक सम्बन्ध
सामाजिक सम्बन्ध,व्यवहार,शिक्षा/सीप
रोजगारी,आर्थिक आत्मनिर्भरता,
भविष्यप्रतिको आशा सबै जोडिन्छन्।
त्यसैले पुनर्स्थापना केन्द्रबाट बाहिर निस्कनु यात्राको अन्त्य होइन। यो अर्को चरणको सुरुवात हो।
९. केन्द्रबाट बाहिरिएपछि वास्तविक परीक्षा
सुधार केन्द्रभित्र सुरक्षित वातावरण हुन्छ।
तर बाहिर आएपछि—पुराना साथी हुन्छन्।
पुरानो वातावरण हुन्छ।पुरानो तनाव हुन्छ।
बेरोजगारी हुन सक्छ। परिवारको अविश्वास हुन सक्छ।समाजको टिप्पणी हुन सक्छ।
कहिलेकाहीँ परिवारले पनि शंका गर्न सक्छ—
“फेरि पुरानै अवस्थामा फर्किन्छ कि?”
यस्तो अवस्थामा व्यक्तिलाई केवल “नशा नखाऊ” भन्नु पर्याप्त हुँदैन। उसलाई नयाँ जीवन जिउने कारण र अवसर पनि दिनुपर्छ।
१०. पुनर्स्थापित व्यक्तिलाई समाजले के दिनुपर्छ?
पहिलो कुरा सम्मान। दोस्रो विश्वास।तेस्रो जिम्मेवारी। चौथो रोजगारी वा सीपको अवसर। पाँचौँ फलोअप र आवश्यक परामर्श।
“एकपटक बिग्रियो भने कहिल्यै सुध्रिँदैन” भन्ने सोचले मानिसलाई जीवनभर उसको विगतमा कैद गरिदिन्छ। तर उपचारपछि फर्किएको व्यक्तिको विगत उसको सम्पूर्ण परिचय होइन।
उसलाई दोस्रो जीवनको अवसर दिनु समाजको पनि जिम्मेवारी हो।
११. पुनःलतलाई असफलता मात्र नमानौ
पुनर्स्थापित व्यक्तिमा फेरि पदार्थ प्रयोग गर्ने अवस्था आउन सक्छ।
त्यसलाई तुरुन्तै “ऊ सुध्रिएन।”भनेर अन्तिम निर्णय गर्नु उचित हुँदैन। यसले थप उपचार, परामर्श वा सहयोग आवश्यक भएको संकेत पनि हुन सक्छ।
त्यसैले परिवार र समुदायले— विश्वास + निगरानी + परामर्श बीच सन्तुलन कायम गर्नुपर्छ।
१२. रोजगारीबिना पुनर्स्थापना अधुरो
कल्पना गरौँ एउटा युवा सुधार केन्द्रबाट फर्कियो।तर काम छैन।दिनभर खाली छ।
परिवारले विश्वास गर्दैन। समाजले पुरानो नामले बोलाउँछ। पुराना साथीले बोलाउँछन्।अनि ऊ फेरि पुरानै वातावरणमा पुग्छ।
पछि हामी भन्छौँ “ऊ फेरि बिग्रियो।” तर हामीले सोच्नुपर्छ—“उसलाई फेरि नबिग्रिने वातावरण हामीले बनायौँ?”त्यसैले रोजगारी र सीप विकास पुनर्स्थापनाको महत्वपूर्ण हिस्सा हुनुपर्छ। रोजगारी पैसा कमाउने माध्यम मात्र होइन; आत्मसम्मान र सामाजिक पहिचान पुनःनिर्माण गर्ने माध्यम पनि हो।
१३. परिवारलाई पनि परामर्श चाहिन्छ
लागुऔषधको असर प्रयोगकर्तामा मात्र पर्दैन।
पूरै परिवार पीडित हुन्छ। बाबुआमाको मानसिक तनाव बढ्छ। घरको आर्थिक अवस्था बिग्रन सक्छ। भाइबहिनी प्रभावित हुन सक्छन्।
सम्बन्धमा अविश्वास बढ्न सक्छ। सामाजिक प्रतिष्ठाको डरले परिवारले समस्या लुकाउन सक्छ। त्यसैले उपचारको केन्द्रमा प्रयोगकर्ता मात्र होइन—परिवार पनि हुनुपर्छ।
१४. गाउँघरमा लुकाइएको समस्या बाहिर ल्याउनुपर्छ
धेरै परिवार लागुऔषधको समस्या बाहिर ल्याउन डराउँछन्। किन?
सामाजिक बदनामी।कानुनी कारबाहीको डर।
छोराछोरीको भविष्य बिग्रने डर।समाजले के भन्ला भन्ने चिन्ता। तर समस्या लुकाएर समाधान हुँदैन। समयमै परामर्श र उपचारमा पुग्नु नै धेरै अवस्थामा सुरक्षित बाटो हुन सक्छ।
यसका लागि स्थानीय तहले गोपनीय परामर्श सेवा उपलब्ध गराउनुपर्छ।
१५. दमकमा “After Care” कार्यक्रम किन आवश्यक?
पुनर्स्थापना केन्द्रबाट फर्किएपछि व्यक्तिको यात्रा जारी रहन्छ। त्यसैले दमक नगरपालिकाले पुनर्स्थापना केन्द्र, स्वास्थ्य संस्था, प्रहरी, परिवार र निजी क्षेत्रसँग सहकार्य गरेर After Care Programme सञ्चालन गर्न सक्छ।
३–१२ महिनासम्म फलोअप नियमित परामर्श र अवस्थाको मूल्यांकन। परिवार परामर्श,सम्बन्ध र विश्वास पुनर्निर्माण। सीप तालिम,प्राविधिक तथा व्यावसायिक सीप। रोजगारी,स्थानीय उद्योग, व्यवसाय र सहकारीसँग सहकार्य।
खेलकुद र सिर्जनात्मक कार्यक्रम,खेल, संगीत, कला, साहित्य र सामाजिक सेवामा सहभागिता। Peer Support पुनर्स्थापित व्यक्तिबाटै सकारात्मक सहकार्य।
१६. “Recovery Support Group” बनाउन सकिन्छ
दमकमा उपचारपछि पुनर्स्थापित भएका व्यक्तिहरू स्वेच्छाले जोडिन सक्ने Recovery Support Group बनाउन सकिन्छ।
उनीहरूले आफ्नो अनुभव बाँड्न,
जोखिममा रहेका युवासँग संवाद गर्न,
विद्यालयमा सचेतना कार्यक्रम गर्न,
खेलकुद तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न, नयाँ पुनर्स्थापित व्यक्तिलाई भावनात्मक सहयोग गर्न सक्छन्।
तर यस्तो समूहमा सहभागी हुने व्यक्तिको गोपनीयता र स्वेच्छा पूर्ण रूपमा सम्मान गर्नुपर्छ।
१७. प्रहरीको भूमिका : पक्राउभन्दा माथि
प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण छ।
तर सफलता केवल पक्राउको संख्याले मापन गर्नु हुँदैन।
प्रहरी अनुसन्धानले खोज्नुपर्ने विषय हुन पदार्थ कहाँबाट आयो? कसले वितरण गर्यो?
स्थानीय सञ्जाल कसरी चलिरहेको छ?
सीमापार सञ्जालसँग सम्बन्ध छ कि छैन?
आर्थिक कारोबार कहाँबाट भइरहेको छ?
एउटा प्रयोगकर्ता पक्राउ गर्नु भन्दा संगठित वितरण सञ्जाल भत्काउनु दीर्घकालीन रूपमा ठूलो उपलब्धि हो।
१८. स्थानीय सरकारको भूमिका
लागुऔषध नियन्त्रणलाई नगरपालिकाले केवल वार्षिक “सचेतना कार्यक्रम” मा सीमित राख्नु हुँदैन। दमकमा स्थानीय लागुऔषध रोकथाम तथा पुनर्स्थापना नीति आवश्यक छ।
यसमा नगरपालिका,प्रहरी,स्वास्थ्य संस्था
पुनर्स्थापना केन्द्र,विद्यालय,परिवार,युवा क्लब
उद्योग/व्यवसाय,सामाजिक संस्थालाई एउटै नेटवर्कमा जोड्न सकिन्छ।
१९. उमेरअनुसार रणनीति
१३–१५ वर्ष
परिवार संवाद र विद्यालयस्तरीय रोकथाम।
१६–१९ वर्ष
साथीको दबाब, जोखिमपूर्ण व्यवहार र प्रारम्भिक प्रयोग रोकथाम।
२०–२४ वर्ष
सीप, रोजगारी, उद्यमशीलता, खेलकुद र परामर्श।
२५–२९ वर्ष
उपचार, पुनर्स्थापना, रोजगारी र सामाजिक पुनःएकीकरण।
३० वर्षभन्दा माथि
दीर्घकालीन उपचार, परिवार परामर्श र पुनःलत रोकथाम।
यसरी लागुऔषध नियन्त्रणलाई उमेरअनुसारको सामाजिक नीति बनाउन सकिन्छ।
२०. विद्यालयमा भाषण होइन, जीवन सीप
विद्यालयमा वर्षमा एक दिन “लागुऔषधविरुद्ध सचेतना कार्यक्रम” गरेर मात्र पुग्दैन। अव विद्यार्थीलाई सिकाउनुपर्छ साथीको दबाब अस्वीकार गर्ने तरिका। तनाव व्यवस्थापन।
समस्या पर्दा सहयोग माग्ने। सही निर्णय गर्ने।
डिजिटल तथा सामाजिक सञ्जालका जोखिम बुझ्ने। खेलकुद र सिर्जनात्मक गतिविधिमा जोडिने। लागुऔषधविरुद्धको पहिलो चौकी प्रहरी कार्यालय होइन घर र विद्यालय हो।
२१. अब सफलताको मापदण्ड बदलौँ
दमकले वार्षिक रूपमा सोध्नुपर्ने प्रश्न हुन्—
कति जना पक्राउ परे? कति कारोबार सञ्जाल भत्किए? कति जना उपचारमा पुगे? कति जना उपचारपछि फर्किए? कति जना परिवारसँग पुनःजोडिए? कति जना सीप र रोजगारीमा पुगे? कति जनाको फलोअप भयो? कति जना पुनःलतबाट जोगिए? यस्ता तथ्यांकले मात्र हाम्रो अभियान कति सफल भयो भन्ने देखाउँछ।
२२. अन्तिम निष्कर्ष : पक्राउ होइन, पुनर्जीवन
लागुऔषध दुर्व्यसनको समस्या जटिल छ।
यसको एउटा मात्र कारण छैन। यसको एउटा मात्र उपचार पनि छैन। खराब संगत कारण हुन सक्छ। तर केवल खराब संगत होइन। तनाव कारण हुन सक्छ। तर केवल तनाव होइन।
बेरोजगारी जोखिम बढाउन सक्छ।तर केवल बेरोजगारी होइन। व्यक्तिको जैविक तथा आनुवंशिक संवेदनशीलता पनि भूमिका खेल्न सक्छ। तर त्यो पनि एक्लो कारण होइन। Addiction धेरै तहको अन्तरक्रियाबाट विकसित हुने जटिल अवस्था हो। त्यसैले समाधान पनि बहुआयामिक हुनुपर्छ।
विज्ञान चाहिन्छ। कानुन चाहिन्छ।परिवार चाहिन्छ। परामर्श चाहिन्छ।
उपचार चाहिन्छ। पुनर्स्थापना चाहिन्छ।
रोजगारी चाहिन्छ। समाजको स्वीकार्यता चाहिन्छ। र सबैभन्दा बढी
मानिसलाई फेरि जीवन सुरु गर्न दिने अवसर चाहिन्छ।
बिष्टसँगको संवादले दिएको सन्देश फेरि सम्झौँ
“पुनर्स्थापना एउटा यात्रा हो।”
त्यो यात्रा शरीरबाट सुरु भएर मन, परिवार, समाज र अन्ततः आत्मनिर्भर जीवनसम्म पुग्छ।
त्यसैले पुनर्स्थापना केन्द्रबाट निस्किएको व्यक्तिलाई हामीले केवल “पूर्वदुर्व्यसनी” भनेर हेर्नु हुँदैन। ऊ पुनःनिर्माणको यात्रामा रहेको नागरिक हो। र समाजले उसलाई सोध्नुपर्छ—
“तिमी फेरि जीवन सुरु गर्न तयार छौ?”
त्यसपछि समाजले आफ्नो उत्तर पनि दिनुपर्छ
“तिमी फर्किन तयार छौ भने, हामी पनि तिमीलाई स्वीकार्न तयार छौँ।”किनकि
पक्राउ एउटा तथ्यांक हो। उपचार एउटा उपलब्धि हो। पुनर्स्थापना एउटा यात्रा हो।
तर पुनर्स्थापित युवा आफ्नो खुट्टामा उभिएर सम्मानपूर्वक बाँच्न थाल्नु त्यो नै वास्तविक विजय हो।
लागुऔषधविरुद्धको हाम्रो लक्ष्य केवल नशा रोक्नु होइन मानिसलाई उसको जीवन फिर्ता दिनु हो।
लेखक : गिरेन्द्र चम्लागाईं र पवन विष्ट