कमल/ झापा। कमल नगर अस्पतालमा सञ्चालन हुन लागेको भिडियो एक्स–रे (USG) सेवा शुभारम्भको सम्पूर्ण तयारी पूरा भएको छ।
अस्पतालमा आवश्यक उपकरण तथा पूर्वाधार व्यवस्थापन, प्राविधिक तयारी र जनशक्ति व्यवस्थापनको काम सम्पन्न भएसँगै भिडियो एक्स–रे सेवा सञ्चालनका लागि अस्पताल तयार भएको हो।
२०८३ श्रावण २५ गतेदेखि प्रत्येक सोमबार र बिहीबार भिडियो एक्स–रे सेवा सञ्चालन हुने भएको छ। सेवा सञ्चालनका लागि कमल गाउँपालिकाले रेडियोलोजिष्टसँग आवश्यक सम्झौता गरी सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
भिडियो एक्स–रे सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकले विभिन्न स्वास्थ्य जाँचका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र स्थानीय स्तरमै उपलब्ध हुने अपेक्षा गरिएको छ।
कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईको अग्रसरतामा अस्पतालको सेवा विस्तारलाई प्राथमिकता दिइँदै आएको छ।
अध्यक्ष राईको पहलमा साविक को तोपगाछी स्वास्थ्य चौकी को स्तर उन्नति गरि कमल नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा, नयाँ भवनबाट प्रयोगशाला (ल्याब) सेवा, एक्स–रे सेवा, मासिक मानसिक रोग विशेषज्ञ सेवा, हप्तामा दुई दिन डेन्टल चेयर मै दन्त सेवा, डेन्टल एक्स रे सेवा तथा दैनिक आँखा जाँच तथा उपचार सेवा उपलब्ध हुँदै आएको छ।अस्पतालमा थपिँदै गएको विशेषज्ञ तथा निदानात्मक सेवाले स्थानीय नागरिकलाई आफ्नै पालिकामा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाउँदै गएको छ।
आगामी दिनमा पनि नागरिकको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राख्दै अस्पतालको सेवा तथा पूर्वाधार थप विस्तार गर्दै लैजाने लक्ष्य रहेको अध्यक्ष राईले बताउनुभएको छ।