मोरङ/ मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ७ मा एशियन हाइवे निर्माण गर्ने टुण्डी कम्पनीले बस्तीको बीचमा खोलेको क्रसर र अलकत्रा प्लान्टले जनस्वास्थ्य र वातावरणमा असर गरेकोले बन्द वा स्थानान्तरण गर्न स्थानीय डाँडा गाँउ टोल बासीले माग राख्दै ध्यानाकर्षण गराएका छन्।

करिब ५० घर परिवार बसोवास गरेको डाँडा गाँउको पश्चिममा रोडा, ढुंगा उत्पादन तथा तत्सम्बन्धी कारोबार गर्ने क्रसर र अलकत्रा प्लान्ट सहितको टुन्डी उद्योग आबश्यक कुनै अनुमती नलिई र मापदण्ड पूरा नगरी २०८१ सालदेखि खोलिएको छ।
उद्योगको धुलो, धुवाँले टोलमा प्रदुषित वातावरण बनाएको र टोलबासी बृद्ध बुवा आमा र बालबालिका सहित परिवारको जनस्वास्थ्यमा प्रत्यक्ष असर गरेको छ।
उद्योगका कारण डाँडा गाँउ टोल बस्तीमा आंखा पाक्ने, कान दुख्ने, स्वासप्रश्वास, दम र छाला सम्बन्धी रोग देखिने अबस्था सुरु भएको भन्दै स्थानीय डाँडागाँउ टोल बासीले क्रसर र अलकत्रा प्लान्ट बन्द गर्न वा स्थानान्तरण गर्न माग गर्दै आएका छन्। उद्योग स्थानान्तरण नहुँदा स्थानीय धुलो धुवाँमा बस्न बाध्य छन्।
निर्माण सम्बन्धी मापदण्डले ” स्थानीय बस्तीको बीचमा क्रसर र अलकत्रा प्लान्ट खोल्न नमिल्ने, बस्तीबाट २ कि.मि. टाढा हुनुपर्ने र खोल्दा स्थानीय स्वीकृती लिनुपर्ने” भन्ने प्रावधान छ।
मापदण्ड पूरा नगरी बस्तीको बीचमा अलकत्रा प्लान्ट खोल्नु सरासर गलत हो
उक्त टोलको जनस्वास्थ्यमा पर्ने वा परेको असर बारे ध्यान नदिई केही ब्यक्ति वा संस्थाको फाईदा सोचेर परिबर्तन टोल बिकास संस्थाले मानव हित विपरित गरेको सम्झौता ठिक नभएको भन्दै स्थानीयले वडा र नगरपालिकामा समेतमा ध्यानाकर्षण गराउने भएका छन्।
डाँडा गाँउ टोलकी बासिन्दा सानु कार्की बस्नेतका अनुसार यस्ता मापदण्ड बिपरित खोलिएका उद्योगले गाउँबासीको जनस्वास्थ्य र स्वच्छ पूर्वक बाँच्न पाउने वातावरणीय अधिकार हनन भएको छ। वडा कार्यालयले समेत मापदण्ड नपुगेका यस्ता उद्योग स्थापनाका लागि सिफारिस नदिई बन्द वा स्थानान्तरण गर्न पहल गर्न आनाकानी गर्न नहुने भनी बताउनु भयो।