कमल ÷विश्व आदिवासी दिवस २०२६ का अवसरमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमल गाउँपालिका झापाले आजबाट त्रिदिवशीय कार्यक्रम सुरु गरेको छ ।
आगामी साउन २४ गते मुलुकभर विभिन्न कार्यक्रम गरेर ३२औं विश्व आदिवासी दिवस मनाउने तयारी भइरहँदा परिषद कमल गाउँपालिका समितिले दिवसको अवसर पारेर आज रक्तदान कार्यक्रम गरेको हो ।
कमल गाउँपालिका ५ पाडाजुँगी चौकमा भएको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको आजोजकले जनाएको छ ।
उक्त कार्यक्रममा मन्तब्य राख्दै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले नेपालमा सदियौंदेखि विभिन्न जातजातिको बसोबास रहेको र आआफ्नो धर्म संस्कार संस्कृति मनाउँदै आइरहेको बताउनुभयो ।
कुनै पनि जातीय संस्थाले आफ्नो पहिचानको कुरा उठाइरहँदा अन्य जातजातिको पहिचानलाई पनि असर नपर्ने गरी उठाउनु पर्छ भन्दै पालिका अध्यक्ष राईले सबै जातजाति, धर्म र समुदाय मिलेर बस्न सकेमा मात्र सुन्दर समाज बन्नसक्ने जिकिर गर्नु भयो ।

दिवशीय कार्यक्रम अन्तरगत भोलि २३ गते बिहान ७ बजे कमल ४ सावित्रा चोकस्थित आदिवासी समाधिस्थलमा वृक्षारोपण गरिने छ । यस्तै २४ गते आइतबार साँझ ६ बजे कमल ३ स्थित केरखा बजारमा दीप प्रज्वलन गरी त्रिदिवशीय कार्यक्रम सम्पन्न गरिने महासंघका अध्यक्ष बद्री राईले बताउनुभयो ।।
किरात राई यायोक्खा कमल गाउँ कार्यसमितिका अध्यक्ष हरिचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यसमितिका सदस्य चन्द्रप्रकाश राईलेगर्नु भएको थियो ।
