logo
शुक्रबार, साउन २९ २०८३

रक्तदानलाई अभियानलाइ, सामाजिक संस्कारका रूपमा स्थापित गरौं


  • कुइनेटो न्युज
  • बुधबार, साउन ६ २०८३

मानव जीवनसँग जोडिएको कहिल्यै पुरानो नहुने एउटा नारा छ, रक्तदान जीवनदान । निस्वार्थ भावनाले गरिने स्वेच्छिक रक्तदान मानवताको सबैभन्दा उच्च र संवेदनशील सवाल हो ।

रगत जीवन बचाउने अत्यावश्यक जैविक तत्व हो, जसको कुनै कृत्रिम विकल्प नै हुँदैन । दुर्घटना, जटिल शल्यक्रिया, प्रसूति, क्यान्सर, रक्तअल्पता तथा दीर्घरोगहरूको उपचारमा रगतको आवश्यकता अनिवार्य हुन्छ । तर यसको एकमात्र स्रोत स्वस्थ व्यक्तिबाट हुने स्वेच्छिक रक्तदान नै हो । यति महत्वपूर्ण विषय भए पनि रक्तदानप्रति आवश्यक सचेतना र निरन्तर अभियान पर्याप्तरूपमा अघि बढाउन सकिएको छैन ।

सेवा गर्ने माध्यम थुप्रै हुनाले आज तमाम युवाहरू कुनै न कुनै माध्यम बाट समाज सेवामा अर्थात कसैको जिबनमा केही परिबर्तन ल्याउनको लागि अहोरात्र खटिएका छन। विभिन्न किसिमका अभियानहरु चलाएर भनौ वा ब्यक्तिगत जुनसुकै परिस्थितिमा पनि आफू सङ्गै अरुलाइ हौसाउने बाताबरण सिर्जना गर्न अहम भुमिका खेलिरहेका छन । जति धेरै कार्यहरु गरेपनि एउटा अस्पतालको बेडमा रगतको अभावले मृत्युसंग लडिरहेको समयमा उसलाइ आबश्यक पर्ने रगत कसैले दान गर्दछ भने सायद त्यो जस्तो महान मानवीय कार्यअरु छैन होला ।

“रक्तदान जिबनदान” भन्ने कुरा पहिले देखि नै सुन्दै आएको र त्यही अनुरुप थुप्रै रक्तदाताहरु हुनुहुन्छ । रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । यसले कसैको जीवनलाई मात्र नभई उसको घरबारपनि बचाउँन मदत गर्दछ। जव एउटा मानिस बिरामी हुन्छ अनि नजिकैको अस्पताल भनौ वा स्वास्थचौकी खोज्दै जाच गर्न जान्छन र त्यहा हुने जाँच पछि यदि सन्चो भएन भने थप उपचारकोलागि विभिन्न गाउँठाउँ देखि बिरामी भएर सेवा सुबिधा सम्पन्न अस्पताल खोज्दै शहर आउनुहुन्छ ।

शहरको अस्पतालमा जाँच गराउन लगिसकेपछि डाक्टर सल्लाह सुझाब संगै बिरामिको रिपोर्ट अनुसार प्राय रगत चढाउन पर्ने धेरै हुन्छन अनि डाक्टरले फार्ममा लेख्दिनुहुन्छ रगत ल्याउनुहोस अथवा ब्यबस्थापन गर्नुहोस अनि मात्र अरु प्रक्रिया सुरु हुन्छ।
अनि मन अमिलो बनाउदै दु:ख मनले बिरामिको मान्छेले भन्नुहुन्छ “डाक्टर साप” यहाँ त हाम्रो कोहि पनि हुनुहुन्न गाउँ देखि आएको यो रातको समयमा कहाँ खोज्ने रगत ।

डाक्टर भन्नुहुन्छ खोज्नुहोस हैनभने बिरामिको उपचार प्रक्रिया अगि बढाउन गार्हो हुन्छ जसरी नि खोज्नुहोस है । डाक्टरको सल्लाह लाइ मनन गर्दै दुखि मन बनाउदै रगत खोज्न लाग्छन् तर पाउन गार्हो हुन्छ । ब्लड बैक जान्छन् सर यहाँ रगत किन्न पाउछ ? भनेर प्रश्न गर्छन र सेतो कोट लगाएर आएका स्वास्थकर्मी भन्छन सर रगत किन्ने हैन हामीले रगत किनबेच गर्नु मिल्दैन रगत जाँच गर्न लाग्ने शुल्क र रगत राख्ने ब्यागको मात्रै पैसा लाग्छ रगतको हैन सर भनेर सेतो कोटो लगाउने स्वास्थकर्मिले बुझाउछन र भन्छन हजुरको बिरामिको हामी रक्तसमुह जाँच गर्छौ यदि हामीसंग रहेछ भने एक पोका सहयोग गर्छौं र त्यो भन्दा बढी चाहिए मान्छे खोज्नु पर्छ है ।

त्यति सुनेर अल्लि उज्यालो मन बनाउदै बिरामीको आफन्त धन्यवाद सर जसरी नि गराइदिनुस है ! स्वास्थकर्मी भन्छन हस जाँच गर्छौ मिले ठिक छ नमिले मान्छे खोज्नुपर्छ है भनेर ल्याब तिर लाग्छन् ।रगत किन्न भनेर गएका बिरामीका आफ्न्तलाई एक स्वास्थकर्मिले सम्झाइ बुझाइ रगत किन्ने होइन भनेर सम्झाउन त सफल भए तर उसलाइ डाक्टरले भने जति रगत पुर्याउन बिरामिको आफन्तले रगत दिनु पर्ने भयो । र फेरि स्वास्थकर्मिले रक्तदान सम्बन्धि केही कुराहरु सम्झाउदै रक्तदान गर्नुका फाइदाहरु भने तर जति गरेता पनि उनी डराए र भन्न थाले म यति सानो अनि दुब्लो छु मेरो आफ्नै शरीरमा रगत छैन इत्यादि …रगत किन्ने हैन भनेर छर्लङ्ग बुझेका ती बिरामिका आफन्तले फेरि एकपटक सर कृपया रगत दिनुस न जति खर्च लाग्छ पैसा दिन तयार छु भन्दै हजारको नोट निकालेर ती स्वास्थकर्मीको खल्तीमा राख्दिन तम्सिन्छन तर ती स्वास्थकर्मीले सेतो कोट लगाएर अरुको सेवामा समपिर्त भैसकेपछी उनको नैतिकताले पैसा लिन मानेनन र त्यो पैसा फर्काउदै फेरि केही समय घाँटी सुकाउन्जेल सम्झाउन तिर लागे । दमकमा सेवा गर्ने सस्थाहरु, रगत ब्यबस्थापन गर्ने स्वयंसेवि सस्थाहरु र सामाजिक संजाल बाट ब्यबस्थापन गर्ने समुहहरु थुप्रै छ्न बरु सम्पर्क गर्नुस न है भन्दै नम्वरहरू स्वास्थकर्मिले बिरामीको आफन्तलाई दिए। केहि कुराहरु पैसा तिरेर पनि पाँईदैन्, पसलमा बेचिदैन अनि कतिकुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ ।

रक्तदान एउटा महान कार्य हो दमकमा विभिन्न सस्थाहरुले रक्तदान कार्यक्रम समय समयमा गर्दै आउनुभएको छ त्यसैले धेरै सजिलो भएको छ तर अब दमकमा मात्रै नभएर अलिकति भित्री गाउँहरुमा रक्तदान सङ्गै जनचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको छ। कतिपय व्यक्तीहरु आफ्नो आमा अथवा श्रीमती लाई पनि रक्तदान गर्न डराउने चलन छ त्यसैले अब उहाहरुलाइ रक्तदान सम्बन्धि जनचेतना दिन जरुरी छ ।

योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको संकट परेको महशुस गरेको छु । देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाउनु जरूरी छ । तपाईको आफ्नै भाई,बहिनी या परिवारको सदस्यको ज्यान जोगाउनलाई रगत चाहिएमा के तपाई रक्तदान नगरि बस्नुहुन्छ ? त्यस्तै धेरै दाजुभाई दिदीबवहिनीहरुलाई रगतको अभाव र आवश्यकता परिरहेको हुन्छ । यस अवस्थाको अन्त्यका लागि रक्तदानबारे व्यापक सचेतना जागृत गर्नु अनिवार्य छ ।

राज्य र जनस्तर दुबैबाट निरन्तर र समन्वित अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ । राज्यले रक्तदानलाई राष्ट्रिय स्वास्थ्य नीतिको प्राथमिकतामा राख्दै सबै प्रदेश र स्थानीय तहसम्म पुग्ने गरी एकीकृत स्वेच्छिक रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्छ । विद्यालय तहदेखि नै रक्तदानसम्बन्धी शिक्षा अनिवार्य गरी युवामा सकारात्मक सोच विकास गर्न सके १८ वर्ष पुगेपछि नियमित रक्तदाता बन्ने संस्कार बसाल्न सकिन्छ । त्यस्तै, मोबाइल रक्तदान शिविरलाई गाउँपालिका, नगरपालिका, शैक्षिक संस्था र सार्वजनिक स्थलसम्म विस्तार गरी पहुँच सहज बनाउनु आवश्यक छ, जसले आकस्मिक रक्त अभाव घटाउन सहयोग पुर्याउन सक्छ ।
यसका साथै डिजिटल प्रविधिको उपयोग गरी रक्तदाताको राष्ट्रिय डाटाबेस तयार गर्ने, मोबाइल एप तथा एसएमएस प्रणालीमार्फत आवश्यक रगतको सूचना तुरुन्त प्रवाह गर्ने व्यवस्था गर्न सकिन्छ । जनस्तरमा युवा क्लब, आमा समूह, टोल विकास संस्था तथा सामाजिक संघसंस्थालाई सक्रिय बनाउँदै टोलस्तरमै रक्तदाता समूह निर्माण गर्नु अत्यावश्यक छ ।

सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा कलाकार, खेलाडी र चिकित्सकजस्ता प्रभावशाली व्यक्तिमार्फत निरन्तर सचेतना फैलाउनु पनि उत्तिकै प्रभावकारी हुन्छ । यी सबै प्रयासलाई राज्य र नागरिक दुबैको साझा जिम्मेवारीका रूपमा अघि बढाउन सके रक्तदानलाई अभियान मात्र होइन, सामाजिक संस्कारका रूपमा स्थापित गर्न सकिन्छ ।

लेखक:  गिरेन्द्र चम्लागाई

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend