logo
शुक्रबार, साउन २९ २०८३

कमलमा मानसिक स्वास्थ्य सेवा तथा जनचेतना मुलक कार्यक्रम प्रभावकारी बन्दै


  • कुइनेटो न्युज
  • शुक्रबार, साउन १ २०८३

कमल । झापाको कमल गाउँपालिकामा मानसिक स्वास्थ्य सेवा तथा जनचेतनामुलक  कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुदैछ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा मानसिक स्वास्थ्य प्रवर्द्धन, मानसिक रोगको उपचार तथा मनोसामाजिक परामर्श सेवालाई प्राथमिकतामा राखी विभिन्न प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरेको छ। मानसिक स्वास्थ्यसम्बन्धी सेवालाई समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यका साथ उपचार, परामर्श, जनचेतना तथा विद्यालय केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

गाउँपालिकाको कमल नगर अस्पताल मा प्रत्येक महिनाको तेस्रो बुधबार मानसिक रोग विशेषज्ञ डा. नवराज कोइराला तथा उहाँको विशेषज्ञ टोलीबाट नियमित मानसिक स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ। उक्त शिविरमार्फत मासिक रूपमा २५ देखि ३० जना मानसिक स्वास्थ्य समस्या भएका बिरामीले विशेषज्ञ सेवा तथा उपचार प्राप्त गर्दै आएका छन्। यस कार्यक्रमले स्थानीय नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय मानसिक स्वास्थ्य सेवा आफ्नै पालिकामा उपलब्ध गराएको छ।

यसैगरी, २०८२ साल मंसिर १० गतेदेखि कमल गाउँपालिकाले मनोसामाजिक परामर्शकर्ता श्रीमती मुना भट्टराई लाई नियुक्त गरी समुदायस्तरमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। उहाँमार्फत समुदायमा परामर्श सेवा, जनचेतना तथा जोखिममा रहेका व्यक्तिहरूलाई आवश्यक मनोसामाजिक सहयोग प्रदान गरिँदै आएको छ।

विद्यालयस्तरमा विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुदृढीकरण गर्ने उद्देश्यले २०८३ साल जेठ र असार महिनामा सञ्चालन गरिएको विद्यालय मनोसामाजिक तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत ३१२ जना विद्यार्थी लाई मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, आत्मविश्वास अभिवृद्धि तथा आवश्यक परेमा सहायता खोज्ने उपायका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो।

त्यसैगरी, २०८२ साल फाल्गुन महिनामा कमल गाउँपालिकाका सातवटै वडामा मनोसामाजिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। स्वास्थ्यकर्मी तथा मनोसामाजिक परामर्शकर्ताको संयुक्त सहजीकरणमा सम्पन्न उक्त कार्यक्रमबाट १७५ जना नागरिक लाभान्वित भएका थिए। कार्यक्रममा मानसिक स्वास्थ्य समस्याको पहिचान, समयमै उपचारको आवश्यकता, आत्महत्याको जोखिम न्यूनीकरण तथा परिवार र समुदायको भूमिकाबारे जानकारी प्रदान गरिएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल ले जानकारी दिनुभयो।

यसैगरी, २०८२ साल मंसिर महिनामा कमल गाउँपालिकाका ७ वटा विद्यालयमा १० समूह गठन गरी मानसिक स्वास्थ्यसम्बन्धी विद्यालय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममार्फत ४०० जना विद्यार्थी लाई मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, सकारात्मक सोच, आत्मसम्मान अभिवृद्धि तथा आवश्यक परामर्श सेवाको पहुँचबारे सचेतना प्रदान गरिएको थियो।

मानसिक स्वास्थ्य सेवालाई समुदायको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले कमल गाउँपालिकाले २० जना मानसिक रोग भएका बिरामीहरूको घरमै पुगेर मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरेको छ। घर भ्रमणमार्फत परामर्श प्राप्त गर्नेमध्ये १७ जना महिला र ३ जना पुरुष रहेका थिए। परामर्श प्राप्त गरेका व्यक्तिहरूमध्ये १२ जना चिन्ताजन्य समस्या (Anxiety), ६ जना उदासीनता (Depression) तथा २ जना विकृत तनाव (Stress-related Disorder) बाट प्रभावित रहेको तथ्याङ्क स्वास्थ्य शाखाले जनाएको छ। घरमै पुगेर प्रदान गरिएको परामर्श सेवाले बिरामी तथा परिवारलाई मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्न तथा उपचार प्रक्रियामा निरन्तरता दिन महत्वपूर्ण सहयोग पुगेको स्वास्थ्य शाखाको भनाइ रहेको छ।

कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई ले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्य सेवाको महत्वपूर्ण अंगका रूपमा लिँदै आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका कार्यक्रमहरू प्रभावकारी भएको बताउनुभयो। उहाँका अनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ मा पनि स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा, सामी परियोजना, रेमी परियोजना तथा कमल नगर अस्पताल बीचको समन्वयमा मानसिक स्वास्थ्य प्रवर्द्धन, मनोसामाजिक परामर्श, विद्यालय तथा समुदाय केन्द्रित जनचेतना कार्यक्रमहरूलाई थप विस्तार गर्दै निरन्तर सञ्चालन गरिनेछ।

मानसिक स्वास्थ्यसम्बन्धी सेवा नागरिकको सहज पहुँचमा पुर्‍याई स्वस्थ, सचेत र मानसिक रूपमा सबल समुदाय निर्माण गर्ने दिशामा कमल गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको अध्यक्ष राईले बताउनुभयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend