समाचारका पानाहरू कहिल्यै यति धेरै गरुङ्गा लागेका थिएनन् । आज भोलिका केही समाचारहरुमा शब्दहरू मात्र छरिएका भेटिँदैनन्, बरु मानवताको करुण क्रन्दन टप्पटप्प झरिरहेका हुन्छन् । झापामा एक ७९ वर्षीया आमालाई आफ्नै सन्तानले कुटेको दृश्य, कास्कीमा सम्पत्तिको विवादमा आफ्नै भतिजाले योजनाबद्ध हत्या गरेको घटना, ललितपुरको पाटन दरबार स्क्वायरमा सानो विवादले दुई दाजुभाइको ज्यान गएको पीडा, रूपन्देहीमा छोराले आफ्नै आमाको हत्या गरेको निर्दयी खबर,सुर्खेत एक जना महिलाले बिक्री गर्न ल्याउनुभएको काफल नगर प्रहरीले पोखाइदिएको,’नेपाली ब्रो’द्वारा श्रीमती ईश्वरी भुजेलको हत्या ,दमक नगरपालिका– १०, रतुवामाई खोलाको पुलमुनि सेतो बोरामा पोको पारी राखिएको अवस्थामा एक युवतीको शव फेला , सिरहामा परीक्षामा चिट चोर्न प्रयोग भएका ४९६ थान मोबाइल र स्मार्ट वाच पानीमा डुबाएर नष्ट ,कैलालीमा वन कार्यालयका सुरक्षाकर्मीले टेम्पो खोल्सातिर धकेलिदिएको , गणेश नेपालीले काठमाडौंमा आत्मदाह प्रयास ।
यी सबै केवल घटना होइनन्, यी त हाम्रो सामाजिक सद्भावको स्तर ,समाजको आत्मा चिरिएको, चिसिएको सामाजिक,सांस्कृतिक,राजनीतिक विसंगति, डिजिटल माध्यमको विकृत प्रभाव तथा आर्थिक दबाबहरूले नेपाली समाज नकारात्मकतातर्फ उन्मुखभएको संकेत हुन् । यस्तै र यिनै समाचारहरुले सोच्न बाध्य बनायो, नेपाली समाजलाई के भइरहेको छ ? हामी कता जाँदै छौँ ?
उल्लिखित घटनाहरूलाई नियाल्दा –आमामाथि हात उठाउनु, सम्पत्तिका लागि हत्या गर्नु, सानो विवादलाई,जीवन–मरणको प्रश्न बनाउनुले पछिल्लो समयमा हाम्रो सामाजिक सद्भाव,नागरिक उत्तरदायित्व घट्दै, व्यक्तिकेन्द्रित प्रवृत्ति हावी र मानवीय संवेदनशीलता क्षीण हुँदै अनुभूति हुन्छ।
बाहिरी आवरणमा सभ्य, उन्नत र भौतिक सम्पन्नतामा रमाइरहेका हामी, अन्ततः विकराल मानसिक अवस्थासँग जुध्दै छौँ ।
झापाको एक घर, जहाँ कुनै समय आमाको माया र आशीर्वादको सुगन्ध बस्थ्यो, त्यही घरभित्र एक ७९ वर्षीया आमामाथि आफ्नै सन्तानले हात उठायो । त्यो घटना केवल हिंसा थिएन, त्यो त आमाको ममता, वात्सल्यता र स्नेह माथिको प्रहार थियो । राक्षसीपनको पराकाष्ठा ।
कास्कीमा, जहाँ पारिवारिक सम्बन्धहरू विश्वासको धागोले बाँधिएका हुनुपथ्र्यो, त्यहीँ सम्पत्तिको लोभले आफ्नै भतिजालाई हत्यारामा परिणत गर्यो । ललितपुरको पाटन दरबार स्क्वायर, जहाँ इतिहासले सभ्यता, संस्कृति र सहअस्तित्वका कथा बोकेको छ, त्यहीँ एउटा सानो विवादले दुई दाजुभाइको ज्यान लियो । हालै मात्र सिरहामा मोबाइल नष्ट गरेको र सुर्खेतमा एउटी महिलाले बेच्न राखेको काफल नगर प्रहरीले सडकभरि पोखाइदिएको घटनाले मानवीय संवेदनशीलतामाथि भएको उपहास र अरुको उछितो काढ्ने र अर्काको दुःखमा खुसी हुने विकृत संस्कृतिको विकास, गणेश नेपालीको आत्मदाह घटनाले नागरिकप्रति सरकारको विनम्रता, दायित्वबोध र संवाद प्रकट हुन सकेको छैन ।
यी घटनाहरू फरक स्थान र परिवेशमा घटेका होलान तर सबैले एउटै कथा र ब्यथा बोलेका छन्, मानवता हराउँदै गएको कथा । घर, जहाँ हामी सुरक्षित महसुस गर्छौँ, जहाँ थाकाईहरुले विश्राम लिन्छन्, जहाँ सम्बन्धहरू विश्वास र आत्मियताको न्यानोपनले कसिएर बाँधिन्छन् तर त्यहीँ आज हिँसाले जरो गाड्दै छ । जसका औँला समाएर हिँड्न सिकाइयो उहीसँग विश्वास र स्नेहको खडेरी पर्दै छ । घर हिंसाको केन्द्रको रुपमा विकसित हुँदै छ । आमा, जसले नौ महिना गर्भमा राखिन्, जसले आफ्ना इच्छाहरू त्यागेर सन्तानको भविष्य बनाइन्, आज त्यही आमा आफ्नै सन्तानबाट पीडित छिन् । यो केवल कानुनी अपराध होइन, यो नैतिक पतन हो, सभ्यता कोमामा जाँदै गरेको संकेत हो ।
कास्कीको घटनाले हामीलाई एउटा तितो यथार्थसँग सात्क्षत्कार गरायो ‘सम्पत्ति अब सम्बन्धभन्दा ठूलो भएको छ।’ हो, सामाजिक र व्यवहारिक जीवन चलाउनका लागि पैसा कमाउनु पर्छ, सम्पन्न हुनुपर्छ तर जब त्यही सम्पत्ति नै सम्बन्ध र सामाजिक मूल्यहरुको नाशको कारण बन्छ, तब त्यो सम्पन्नता होइन, सर्वनाशको बिज बन्छ । अब आफैँलाई सोध्ने बेला भएको छ ‘हामी सम्पत्ति कमाइरहेका छौँ वा सम्पत्तिले हामीलाई नियन्त्रण गरिरहेको छ ?’
ललितपुरको पाटन दरबार स्क्वायरमा भएको घटना झनै पीडादायक छ ।
एउटा फोन कल, सामान्य गल्ती र त्यसपछि भेटघाट । तर त्यो भेटघाट संवादको लागि होइन, विनाशमा परिणत भयो । यो घटना केवल एउटा झगडा होइन, यो हाम्रो असहिष्णुताको चरम रूप हो । किन यस्तो हुन्छ ? अब सोचौँ हामी आज के गर्दैछौँ ? हामी सानो कुरामा रिसाउँछौँ, सानो विवादमा चेतना गुमाउँछौँ र अन्ततः निर्णय हिंसाबाट गर्छौँ । हरेक ठूला दुर्घटनाहरुको हेर्दा कारण सामान्य पाइन्छ ।
कहिल्यै आमाको काखलाई स्वर्गसँग तुलना गरिन्थ्यो । आज त्यही काख असुरक्षित भएको छ । कहिल्यै दाजुभाइको सम्बन्धलाई जीवनको आधार मानिन्थ्यो, आज त्यही सम्बन्ध सानो अहंकारले रगतमा डुबेको छ । सम्पत्तिको लोभले रगतको नाता नै विस्थापित गरिदिएको छ । हामी प्रविधिमा त निकै अगाडि बढ्यौँ तर हाम्रो हृदय किन यति पछाडि पर्यो ? के कुराले मानिसलाई मानिस हुनबाट स्खलित गरायो ?
हाम्रो समाजमा समवेदनाका भाव विलिन बन्दै छन् । मोबाइल छ, समय छैन । सञ्जाल छ, सम्बन्ध छैनन् । स्रोतसाधन र सूचना यथेष्ट छन् तर संवेदना छैन ,त्यसैले मानवीय सम्बन्धहरू टाढ हुँदै छन् । फलस्वरूप मान्छे एक्लो हुदैछ । जहाँ मानिससँग मानिस हुँदैन, त्यहाँ मात्रै भीड हुन्छ, आत्मीयता हुँदैन । हामी प्रविधि, सञ्जाल र व्यक्तिगत स्वत्वमा रमाइरहँदा आफ्ना भनिएकाहरुलाई समेत भुल्दै छौं ।
छिमेकी बिरामी हुँदा नसोध्नु, सडकमा दुर्घटना हुँदा भिडियो खिच्नु वा पीडितभन्दा पहिले आफ्नै फाइदा सोच्नु, यी सबै संवेदना अभावका दृष्टान्त हुन् । कोहि मान्छेको मृत्यु भयो भने पनि उसको परिवार र आफन्तको बिचल्लीमा रमाउँछन्, बाबुको मृत्यु भयो, छोराछोरी के गर्दै छन् ? श्रीमतीले के गर्लीन् ,कसरी प्रस्तुत होलीन् अबका दिन के गरि कटाउलान ? भनेर रमिता हेर्ने प्रचलन हामी कहाँ छ ।
मान्छे छ र सपना, कल्पनाहरु छन् । मान्छे छ र सृष्टिमा फूलहरु छन् । मान्छे छ र प्रकृतिमा सौन्दर्य छ, सुवास छ, हिमालमा शोभा छ, । मान्छे छ र धर्तीमा जीवनको मिठास छ । मानिस व्यष्टिमा व्यक्ति देखिन्छ । समष्टिमा मानिस नै समाज हो, जनता हो, देश हो । मानिस नै मानिसको संसार हो । बसोबास र विकास गर्ने मानिसहरु नै भएनन् भने देश के हुन्छ ? कहाँ हुन्छ ? देशलाई देश बनाउने त मानिस नै हुन् । जसरी घरलाई घर बनाउने परिवार हो । परिजन कोही पनि भएन र रित्तो रह्यो भने घर खण्डहर बन्छ । मानिसहरु अर्थात् निवासीहरु कोही रहेनन् भने देश सुनसान चिहान बन्छ । बन्दैन र ? लेखक: गिरेन्द्र चम्लागाई