खाेटाङ / खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकाको तीन वटा विद्यालयमा तीन दिन देखि सन्चालित दलित महिला लक्षित जातिय विभेद र छुवाछुत उन्मुलन एवं दलितका अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम समापन भएको छ।
पालिकाको चिसापानी माध्यमिक विद्यालय जन्तेढुंगा, लक्ष्मी माध्यमिक विद्यालय काहुले र जलेश्वरी माध्यमिक विद्यालय डम्बरखुशिवालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।
असार ८ गते जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणा देवी राईको प्रमुख आतिथ्यता तथा पालिका उपाध्यक्ष खेमबहादुर खड्का, प्रमुख प्रशासकीय सुमन गुरागाईं समेतको उपस्थितिमा वडा नं ५ स्थित चिसापानी माध्यमिक विद्यालयबाट उद्घाटन भै शुरु भएको अन्तरक्रिया कार्यक्रम असार ९ गते वडा नं ३ स्थीत लक्ष्मी माध्यमिक विद्यालयमा गरिएको थियो भने असार १० गते वडा नं ४ स्थित जलेश्वरी माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच समापन भएको छ।
बिगत तीन दिन देखि सन्चालित अन्तरक्रिया कार्यक्रमको समापनको अवसरमा जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणा देवी राईको प्रमुख आतिथ्यता, ४ नं वडा अध्यक्ष बिदुर मान राई, वडा सदस्य अम्मर रोइला, लक्ष्मीदेवी राई, दलित महिला सदस्य धनुका परियार, विद्यालयका प्रधानाध्यापक सन्तोष खड्का, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश भूजेल समेतको आतिथ्यतामा जलेश्वरी माध्यमिक विद्यालयमा समापन भएको थियो।
जातिय विभेदमा परेका र पारिएका दलित समुदाय र गैरदलित समुदायका बीचमा जातिय विभेद र छुवाछूत हटाई समतामूलक समाज निर्माण गर्न पालिकाले बिभिन्न विद्यालयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो भनी जन्तेढुंगा गाउँपालिका अध्यक्ष राईले समापन कार्यक्रममा बताउनुभयो ।

उहाँले नयाँ मुलुकी ऐन, २०२० ले छुवाछुत उन्मुलन गरेको र नेपालको संविधानको धारा ४० ले दलितको हक स्थापित भएको साथै हरेक बर्ष जेठ २१ गते जातिय विभेद र छुवाछुत उन्मुलन दिवस मनाउने गरिएको भए तापनि समाजमा जातिय विभेद र छुवाछुत हट्न सकेको नदेखिँदा पालिकाले जनचेतना बढाउन र स्थानीय स्तरमा जातिय विभेद र छुवाछुत उन्मुलन गर्न र जन्तेढुंगा गाउँपालिकाको चिसापानी, लक्ष्मी र जलेश्वरी माध्यमिक विद्यालय समेतमा अन्तरक्रिया कार्यक्रम गरिएको हो भनि बताउनु भएको छ।
जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोग र महिला एकता अध्ययन केन्द्र खोटाङको आयोजनामा भएको सन्चालित अन्तरक्रिया कार्यक्रमको समापनको अध्यक्षता महिला एकता अध्ययन केन्द्र खोटाङकी अध्यक्ष एवं पूर्व संबिधान सभा सदस्य दुर्गा जयन्ती राईले गर्नू भएको थियो।
जन्तेढुंगा गाउँपालिका वडा नं ३,४ र ५ का विद्यालयमा सन्चालित अन्तरक्रिया कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधि, समाजसेवी, विद्यालयका शिक्षक र विद्यार्थी लगायत सहभागीहरुको उपस्थिति रहेको सो अन्तरक्रिया कार्यक्रमको सहजीकरण अधिवक्ता सानु कार्की बस्नेतले गर्नुभएको थियो।