logo
शुक्रबार, साउन २९ २०८३

खाेटाङमा दलित अधिकार सम्बन्धी अन्तरक्रिया


  • कुइनेटो न्युज
  • बुधबार, असार १० २०८३

खाेटाङ / खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका वडा नं ३ स्थित लक्ष्मी माध्यमिक विद्यालय काहुलेमा जातिय विभेद र छुवाछुत उन्मुलन एवं दलितका अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणा देवी राईको प्रमुख आतिथ्यता तथा पालिका उपाध्यक्ष खेमबहादुर खड्का, नि. प्रमुख प्रशासकीय अधिकृत बिनय निरौला, वडा नं ३ का वडा अध्यक्ष तारामान राई, विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राई, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमिला राई समेतको आतिथ्यतामा कार्यक्रम भएको थियो।

जातिय विभेदमा परेका र पारिएका दलित समुदाय र गैरदलित समुदायका बीचमा जातिय विभेद र छुवाछूत हटाई समतामूलक समाज निर्माण गर्न विद्यालयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो भनी जन्तेढुंगा गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

उहाँले नयाँ मुलुकी ऐन, २०२० ले छुवाछुत उन्मुलन गरेको र नेपालको संविधानको धारा ४० ले दलितको हक स्थापित भएको साथै हरेक बर्ष जेठ २१ गते जातिय विभेद र छुवाछुत उन्मुलन दिवस मनाउने गरिएको भए तापनि समाजमा जातिय विभेद र छुवाछुत हट्न सकेको नदेखिँदा पालिकाले जनचेतना बढाउन र जातिय विभेद मूक्त गाउँपालिका निर्माण गर्न यस्ता कार्यक्रम आयोजना गरिएको हो भनि बताउनु भएको छ।

मानिस भएर जन्म कै आधारमा श्रम गर्नेलाई भेदभाव गरिए दण्ड सजाय हुने कानूनी ज्ञान दिन लक्ष्मी माध्यमिक विद्यालय लगायत जन्तेढुंगाका बिभिन्न विद्यालयका विद्यार्थीहरु माझ जनचेतनामूलक कार्यक्रम राखेको भनि पालिका उपाध्यक्ष खड्काले बताउनुभयो।

जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोग र महिला एकता अध्ययन केन्द्र खोटाङको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता महिला एकता अध्ययन केन्द्र खोटाङकी अध्यक्ष एवं पूर्व संबिधान सभा सदस्य दुर्गा जयन्ती राईले र स्वागत मन्तव्य पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरौलाले गर्नु भएको थियो।

 

जन्तेढुंगा गाउँपालिका वडा नं ३ का जनप्रतिनिधि, समाजसेवी, लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक र आवासिय विद्यार्थी लगायत ६० जना भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको सो अन्तरक्रिया कार्यक्रमको सहजीकरण अधिवक्ता सानु कार्की बस्नेतले गर्नुभएको थियो।

स्थानीय स्तरमा जातिय विभेद र छुवाछुत उन्मुलन गर्न जन्तेढुंगा गाउँपालिकाको चिसापानी नमुना माध्यमिक विद्यालयमा अन्तरक्रिया गरिसकेको र आगामी दिनमा डम्बरखुमा समेत अन्तरक्रिया कार्यक्रम गरिने भनी आयोजकले जनाएको छ।

साथै सोही अवसरमा जन्तेढुंगा गाउँपालिकाको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालित आबासीय विद्यालयमा अध्ययनरत ३० जना विपन्न वर्गका विद्यार्थीको अबस्थाको बारेमा पालिका अध्यक्ष र उपाध्यक्षबाट अनुगमन समेत गरिएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend