१. भूमिका :
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालका कम्युनिस्ट दलहरूको घट्दो जनाधारलाई स्पष्ट रूपमा उजागर गरिदियो । कहिले एकल त कहिले गठबन्धनका रूपमा सरकार सञ्चालन गर्दै आएका र कुनै समय दुईतिहाइ नजिकको जनादेश हासिल गरेका कम्युनिस्ट शक्तिहरूले यसपटक अप्रत्याशित पराजय बेहोरे । यतिबेला उनीहरू सरकारबाहिर मात्र छैनन्, कम्युनिस्ट आन्दोलनको भविष्य र यसको सम्भावित अवसानबारे समेत राजनीतिक वृत्तमा बहस चल्न थालेको छ ।

सुझाव संकलन कार्यक्रम,विराटनगर
नेपालका कम्युनिस्ट दलहरू आज आफ्नो इतिहासकै सबैभन्दा चुनौतीपूर्ण राजनीतिक मोडमध्ये एकमा उभिएका छन् । यसको अर्थ कम्युनिस्ट आन्दोलन समाप्त भइसकेको भन्ने होइन; उनीहरूको राष्ट्रिय राजनीतिमा प्रभाव अझै पनि उल्लेखनीय छ । तर यति भने स्पष्ट छ कि विगतका तुलनामा उनीहरूको राजनीतिक हैसियत र जनआकर्षणमा उल्लेखनीय गिरावट आएको छ ।
५. मतदाताको बदलिएको मनोविज्ञान :
२०६४ सालको संविधानसभा निर्वाचनमा पनि कम्युनिस्ट आन्दोलनभित्र शक्ति सन्तुलन फेरबदल भएको थियो । त्यतिबेला एउटा कम्युनिस्ट शक्ति कमजोर बने पनि अर्को कम्युनिस्ट शक्ति देशकै सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा उदाएको थियो । त्यसैले समग्र कम्युनिस्ट आन्दोलन संकटमा परेको निष्कर्ष निकाल्ने अवस्था थिएन । तर आजको परिस्थिति फरक छ । यसपटक परम्परागत राजनीतिक दलहरू समग्र रूपमै जनमतको कठोर परीक्षणमा परे । जनताले पुराना दलहरूभन्दा नयाँ दल, नयाँ अनुहार र वैकल्पिक राजनीतिक शक्तिहरूप्रति बढी आकर्षण देखाए । निर्वाचन परिणामले मतदाताको मनोविज्ञानमा आएको गहिरो परिवर्तनलाई पनि उजागर गरेको छ । सिद्धान्त, विचार, ऐतिहासिक योगदान र राजनीतिक विरासतभन्दा तत्कालीन कार्यसम्पादन, सुशासन, नेतृत्वको विश्वसनीयता र भविष्यप्रतिको आशा मतदाताका लागि बढी निर्णायक बने । निराशा, असन्तुष्टि र आक्रोशले मतपेटिकामार्फत अभिव्यक्ति पायो, र मतदाताले एक प्रकारले पुराना दलहरूलाई सामूहिक रूपमा दण्डित गरे ।
६. कम्युनिस्ट आन्दोलनका कमजोरीहरू :
विशेषगरी कम्युनिस्ट दलहरू सत्ता सञ्चालनभन्दा सत्ता संरक्षणमा बढी केन्द्रित भएको आरोपबाट मुक्त रहन सकेनन् । वैचारिक बहस, संगठन निर्माण र जनतासँगको जीवन्त सम्बन्धलाई सुदृढ गर्नुको सट्टा उनीहरू क्रमशः सत्ता, पद र व्यक्तिकेन्द्रित राजनीतिको घेरामा सीमित हुँदै गए । परिणामतः आफ्नै सिद्धान्त, नीति र प्राथमिकताहरूलाई पछाडि पार्दै उनीहरूले परम्परागत शक्ति राजनीतिका शैली र प्रवृत्तिहरू अपनाउन थाले । यसले कम्युनिस्ट आन्दोलनको वैचारिक विशिष्टता र नैतिक आधारलाई कमजोर बनायो । अर्कोतर्फ, नेपाली कम्युनिस्ट आन्दोलनले विश्व कम्युनिस्ट आन्दोलनका अनुभव, सफलता, असफलता र रूपान्तरणका प्रक्रियाबाट अपेक्षित मात्रामा शिक्षा लिन नसकेको प्रष्ट छ । विश्व राजनीति, अर्थतन्त्र, प्रविधि, सामाजिक संरचना र जनअपेक्षामा आएको तीव्र परिवर्तनलाई आत्मसात् नगरी पुरानै सोच र कार्यशैलीमा अडिग रहनु कुनै पनि राजनीतिक शक्तिका लागि दीर्घकालीन रूपमा लाभदायक हुन सक्दैन ।
नेपालमा कम्युनिस्ट आन्दोलनका प्रमुख कमजोरीहरू :
नेपालका कम्युनिस्ट दलहरूको वर्तमान अवस्थालाई केवल चुनावी परिणामको आधारमा मात्र बुझ्न सकिँदैन । यसको पछाडि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तहका अनेकौं राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक कारणहरू क्रियाशील छन् । मुख्यतः :
(क) शासकीय असफलता :
i) जनआन्दोलन र लोकतान्त्रिक संघर्षले जन्माएका अपेक्षा तथा भावनाअनुरूप शासन सञ्चालन गर्न नसक्नु ।
ii) सरकारको नेतृत्वमा पुगेपछि जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रशासनिक सुधार, सेवा प्रवाह र सुशासन स्थापित गर्न नसक्नु ।
iii) जनजीवनसँग प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा गुणात्मक सुधार तथा दीर्घकालीन विकासको अनुभूति गराउन नसक्नु ।
(ख) संगठनात्मक र राजनीतिक कमजोरी :
iv) वैचारिक एकता र सामूहिक नेतृत्वलाई सुदृढ गर्नुको सट्टा सत्ता संघर्ष, आन्तरिक कलह र व्यक्तिगत स्वार्थमा अल्झिरहनु ।गुटबन्दी, विभाजन र नेतृत्व विवादले संगठनात्मक क्षमतामा ह्रास ल्याउनु ।
v) वर्गीय चरित्र कमजोर बन्दै जानु । नातावाद, कृपावाद, आर्थिक स्वार्थ र अवसरवादतर्फ झुक्दै श्रमिक, किसान तथा निम्नवर्गीय जनसमुदायसँगको सम्बन्ध क्रमशः कमजोर बन्नु ।
vi) योग्यता, क्षमता र योगदानको वस्तुगत मूल्याङ्कन गर्नुको सट्टा निकटता, गुटीय प्रभाव वा व्यक्तिगत सम्बन्धलाई प्राथमिकता दिनु । नेतृत्व विकास र कार्यकर्ता व्यवस्थापनमा संस्थागत मापदण्ड कमजोर हुनु ।
vii) युवा पुस्ता, श्रमिक वर्ग तथा आधारभूत जनसमुदायलाई नयाँ ढङ्गले संगठित र आकर्षित गर्न नसक्नु । पारम्परिक संगठनात्मक शैलीले नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न नसक्नु ।
viii) संगठनात्मक संरचना र जनजीवनबीचको दूरी बढ्दै जानु । पार्टी संयन्त्र जनताको दैनिक समस्या र भावनाबाट क्रमशः टाढिँदै जानु ।
(ग) नयाँ सामाजिक-राजनीतिक परिवेश :
vx) सूचना-प्रविधि र सामाजिक सञ्जालको विस्तारसँगै नागरिकहरूले पुराना दल, नेता र शासन व्यवस्थाको आलोचनात्मक मूल्याङ्कन गर्न थालेपछि स्थापित राजनीतिक शक्तिप्रति असन्तुष्टि बढ्नु । सूचना पहुँचले राजनीतिक चेतना र प्रश्न गर्ने प्रवृत्ति तीव्र बन्नु ।
x) सामाजिक सञ्जाल र डिजिटल माध्यममा हुने वैचारिक तथा राजनीतिक प्रतिस्पर्धालाई प्रभावकारी रूपमा उपयोग गर्न नसक्नु । नयाँ सञ्चार माध्यममा वैचारिक उपस्थिति कमजोर रहनु ।
xi) वैकल्पिक राजनीतिक शक्तिहरूको उदय हुनु र परम्परागत दलहरूप्रतिको असन्तुष्ट मत त्यसतर्फ स्थानान्तरण हुनु । पुराना स्थापित शक्तिप्रतिको निराशाले नयाँ राजनीतिक विकल्पलाई अवसर दिनु ।
xii) अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारीमा निर्भर हुँदा युवापुस्तामा नयाँ आर्थिक, सांस्कृतिक र राजनीतिक चेतको विकास हुनु । वैदेशिक अनुभवले परम्परागत राजनीतिक सोचमाथि नयाँ प्रश्न उठाउनु ।
xiii) उच्च शिक्षा, रोजगारी र समृद्धिको प्रमुख केन्द्रका रूपमा पश्चिमी राष्ट्रहरूलाई निरन्तर आदर्श मान्ने प्रवृत्ति बलियो बन्दै जानु । युवापुस्तामा वैकल्पिक राजनीतिक तथा आर्थिक दृष्टिकोणको विस्तार हुनु ।
(घ) अन्तर्राष्ट्रिय र दीर्घकालीन संरचनागत कारण :
xiv) विश्वव्यापी रूपमा कम्युनिस्ट तथा वामपन्थी आन्दोलनविरुद्ध सञ्चालित राजनीतिक, आर्थिक र सांस्कृतिक प्रभावहरूको विस्तार प्रभावकारी बन्नु । अन्तर्राष्ट्रिय शक्ति-सन्तुलन, विचारधारात्मक प्रतिस्पर्धा र विश्वव्यापी प्रवृत्तिको प्रभाव पर्नु ।
xv) लामो समयसम्म सत्तामा रहँदा विकासका उपलब्धिहरू सामान्य बन्दै जानु र उपलब्धिको राजनीतिक प्रतिफल क्रमशः घट्दै जानु । उपलब्धिहरू नयाँ उपलब्धि जस्तो नदेखिनु र जनअपेक्षा निरन्तर बढ्दै जानु आदि ।
७. इतिहासका पाठ :
इतिहासका अनुभव र नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे चर्चा गर्दा विश्व इतिहासका केही महत्वपूर्ण घटनाहरूबाट शिक्षा लिन सकिन्छ । सोभियत संघको विघटन, पश्चिम बंगालमा तीन दशकभन्दा बढी शासन गरेको CPI(M) को अवनति, पूर्वी जर्मनीमा बर्लिन पर्खालको पतन, पेरुको शाइनिङ पाथ (Shining Path) विद्रोहको असफलता तथा चीन, भियतनाम, क्युबा, लाओस र उत्तर कोरियामा कम्युनिस्ट शासनको निरन्तरता-यी सबै फरक ऐतिहासिक र राजनीतिक सन्दर्भका घटनाहरू हुन् ।
८. पश्चिम बंगालसँग नेपालको तुलना :
यद्यपि नेपालको वर्तमान अवस्थासँग तुलना गर्दा सबैभन्दा नजिकको सन्दर्भ भारतको पश्चिम बंगालमा CPI(M) ले भोगेको अनुभव नै देखिन्छ । सोभियत संघको विघटन राज्य व्यवस्थाकै पतन थियो; शाइनिङ पाथको असफलता सशस्त्र विद्रोहको पराजय थियो; बर्लिन पर्खालको पतन शीतयुद्धकालीन अन्तर्राष्ट्रिय शक्ति सन्तुलनसँग जोडिएको घटना थियो । नेपालको संसदीय कम्युनिस्ट आन्दोलनको चरित्र भने यी घटनाभन्दा भिन्न छ ।
त्यसैले नेपालका कम्युनिस्ट दलहरूको सम्भावित भविष्यलाई सोभियत संघ वा शाइनिङ पाथको जस्तो आकस्मिक र क्रान्तिकारी पतनसँग तुलना गर्नु भन्दा पश्चिम बंगालको CPI(M) को अनुभवसँग तुलना गर्नु बढी यथार्थपरक र वस्तुगत देखिन्छ । त्यहाँ पार्टी एकैपटक समाप्त भएको थिएन; लामो समयसम्म सत्ता सञ्चालन गर्दा संगठन र जनाधारबीच दूरी बढ्दै गयो, नयाँ पुस्तासँग सम्बन्ध कमजोर बन्यो र अन्ततः निर्वाचनमार्फत जनाधार क्रमशः क्षय हुँदै गयो ।
नेपालमा कम्युनिस्ट दलहरू अझै राष्ट्रिय राजनीतिका महत्वपूर्ण शक्ति हुन् । उनीहरूसँग उल्लेखनीय संगठन, इतिहास, नेतृत्व संरचना र जनाधार विद्यमान छ । त्यसैले निकट भविष्यमा उनीहरूको पूर्ण राजनीतिक अवसान हुने निष्कर्ष निकाल्नु हतारो हुनेछ । तर यदि वैचारिक पुनर्ताजगी, संगठनात्मक सुधार, नेतृत्व रूपान्तरण र जनतासँगको सम्बन्ध पुनर्स्थापित गर्न नसकिएमा, सम्भावित संकट सोभियत संघको जस्तो राज्य विघटनको नभई पश्चिम बंगालको CPI(M) ले भोगेको जस्तो क्रमिक जनाधार क्षय, राजनीतिक प्रभाव ह्रास र निर्वाचन पराजयको स्वरूपमा प्रकट हुन सक्ने सम्भावना बढी देखिन्छ । यस अर्थमा पश्चिम बंगालको अनुभव नेपाली कम्युनिस्ट आन्दोलनका लागि भविष्यवाणीभन्दा बढी एउटा गम्भीर चेतावनी र आत्मसमीक्षाको ऐना हो ।
९. क्रान्तिकारी धारको दृष्टिकोण :
नेपालमा संसदीय व्यवस्थालाई अस्वीकार गर्दै सशक्त वैकल्पिक राजनीतिक मार्गको वकालत गर्ने केही कम्युनिस्ट पार्टीहरू सक्रिय छन् । आफूलाई क्रान्तिकारी धारका रूपमा प्रस्तुत गर्ने यी शक्तिहरूले फागुन २१ गते सम्पन्न निर्वाचनमा संसदीय कम्युनिस्ट शक्तिहरूले व्यहोरेको पराजयलाई विशेष चासोका साथ विश्लेषण गरेका छन् । यही सन्दर्भमा २०८३ वैशाख ११ गते काठमाडौंको प्रज्ञा-प्रतिष्ठान, कमलादीमा चार क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको संयुक्त प्रवचन गोष्ठी सम्पन्न भयो । उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (बहुमत) तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको सहभागिता रहेको थियो ।

चार क्रान्तिकारी कम्युनिस्टहरूको प्रवचन गोष्ठी, काठमाडौं
गोष्ठीमा नेपालको कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, संसदीय अभ्यासको सीमितता, क्रान्तिकारी शक्तिहरूबीचको एकता तथा वैकल्पिक राजनीतिक दिशाबारे विचार-विमर्श गरिएको थियो । “वर्तमान परिस्थिति र आगामी बाटो” शीर्षकमा आयोजित उक्त कार्यक्रममा चारै पार्टीका प्रमुख नेताहरू- सीपी गजुरेल, धर्मेन्द्र बाँस्तोला र विश्वभक्त दुलाल लगायतले नेपालको समकालीन राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनको वर्तमान संकट तथा आगामी रणनीतिबारे आफ्ना धारणा राखेका थिए । उनीहरूको विश्लेषणमा नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला गम्भीर वैचारिक, राजनीतिक र संगठनात्मक चुनौतीको मोडमा पुगेको निष्कर्ष प्रस्तुत गरिएको थियो ।
क्रान्तिकारी कम्युनिस्टहरूको मुख्य निष्कर्षहरू :
– नेपालमा समग्र कम्युनिस्ट आन्दोलन गम्भीर राजनीतिक र वैचारिक संकटबाट गुज्रिरहेको,
– तथाकथित ‘जेन्जी आन्दोलन’ साम्राज्यवादी शक्तिहरूको योजनाबद्ध षड्यन्त्र भएको,
– बालेन सरकारतिर संकेत गर्दै यो सरकार साम्राज्यवाद र विस्तारवादको दलाल भएको,
– कार्की नेतृत्वको सरकार कठपुतली सरकार भएको,
– नेपालको राष्ट्रिय स्वाधीनता खतरामा रहेको,
– विचार, कार्यक्रम र रणनीतिमा निकट रहेका शक्तिहरूबीच ध्रुवीकरण तथा एकीकरण आवश्यक रहेको,
– क्रान्तिकारी आन्दोलनलाई विद्यमान रक्षात्मक अवस्थाबाट माथि उठाएर नयाँ उचाइमा पुर्याउनुपर्ने,
– केवल आफू ठीक भएर मात्र क्रान्ति नजितिने, ठीक ढङ्गले लड्दा मात्र जितिने,
– वर्तमान संकटलाई क्रान्तिकारी शक्तिहरूले चुनौती मात्र नभई अवसरका रूपमा उपयोग गर्नुपर्ने,
– संसदीय व्यवस्थाको भण्डारफोर गरिरहने, नौलो जनवाद आफ्नो उदेश्य रहेको आदि ।
१०. वाम ध्रुवीकरणको बहस :
अर्कोतर्फ, सशस्त्र जनयुद्धको नेतृत्व गर्दै शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा (माओवादी केन्द्र) ले विभिन्न चरणका एकता, विभाजन र पुनर्गठनहरू पार गर्दै हाल पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँगको एकतापछि नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेको छ। हाल उक्त पार्टीले पनि पछिल्लो निर्वाचन परिणामलाई कम्युनिस्ट आन्दोलनको व्यापक संकटको अभिव्यक्तिका रूपमा व्याख्या गर्दै आएको छ । गत निर्वाचनमा १७ सिटमा सीमित हुन पुगेको यस शक्तिमा तीन जना पूर्वप्रधानमन्त्रीहरूको उपस्थिति रहेको छ । पार्टीले केही समयदेखि वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच व्यापक ध्रुवीकरण र एकताको आवश्यकता औँल्याउँदै वाम एकताको अभियानलाई निरन्तरता दिइरहेको छ ।
११. निष्कर्ष :
कुनै समय विश्वका दुई दर्जनभन्दा बढी देशमा कम्युनिस्ट शासन व्यवस्था कायम थियो । आज त्यस्तो शासन व्यवस्था औपचारिक रूपमा पाँच देशमा मात्र सीमित छ । यद्यपि यसलाई कम्युनिस्ट विचारको अन्त्यका रूपमा बुझ्नु उचित हुँदैन । संसारका धेरै देशहरूमा कम्युनिस्ट तथा वामपन्थी दलहरू अझै सक्रिय छन्, कतिपय ठाउँमा सरकारमा छन् भने कतिपयले प्रतिपक्ष वा सामाजिक आन्दोलनमार्फत प्रभाव कायम राखेका छन् । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनका लागि मूल प्रश्न अस्तित्वको होइन, बदलिँदो युगअनुसार आफूलाई कसरी पुनर्परिभाषित, पुनर्गठित र पुनर्जीवित गर्ने भन्ने नै हो ।
(पङ्क्तिकार नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा पार्टी स्कुल विभाग उपप्रमुख हुन् ।)