नेपालमा धर्मप्रतिको बुझाइमा धेरै कम्युनिस्ट नेता-कार्यकर्तामा मौनता र दुबिधा देखिन्छ । कम्युनिस्टहरू प्रारम्भिक क्रान्तिकालमा धर्मप्रति धेरै शङ्कालु थिए ।
मार्क्सवादी-लेनिनवादी प्रभावका कारण धर्मलाई प्रायः समाजवादी चेतनाको विकासमा बाधक मानिन्थ्यो । तर समयसँगै जनचाहना, सामाजिक संरचना र विश्व घटनाक्रमबाट पाठ सिक्दै कम्युनिस्ट पार्टीहरूको संस्थागत नीति र व्यवहारमा थुप्रै बदलाब आएको देखिन्छ ।
कम्युनिस्टहरूको धर्मप्रतिको बुझाइ अध्ययन गर्ने हो भने मार्क्सवादी सिद्धान्त, नेपालको सामाजिक यथार्थ र विश्व परिवेशलाई एकसाथ हेर्नुपर्ने हुन्छ । विश्व राजनीतिक इतिहासमा कम्युनिस्टहरूको क्रान्तिको महत्त्व कम छैन । नेपालको राजनीतिक क्रान्ति र आन्दोलनहरूको इतिहासमा पनि कम्युनिस्ट पार्टीहरूको भूमिकालाई बिर्सने हो भने नेपालको राजनीतिक इतिहास सधैँ अपुरो र अधुरो हुन्छ ।
नेपालमा दुई प्रकारका कम्युनिस्ट पार्टीहरू छन् – संसदीय व्यवस्था (Parliamentary System) लाई मान्ने र संसदीय व्यवस्था नमान्ने । संसदीय व्यवस्था नमान्नेहरूले आफूहरूलाई क्रान्तिकारी कम्युनिस्ट ठान्ने गर्छन् । यहाँ हामी संसदीय व्यवस्था मात्र नभई संसदीय लोकतन्त्र मान्ने कम्युनिस्टहरूको धर्मप्रतिको दृष्टिकोण बुझ्ने प्रयास गर्नेछौँ ।
नेकपा (एमाले) संसदीय लोकतन्त्र मान्ने पार्टी नै हो । अझ पछि जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्त थप्यो । तत्कालीन नेकपा (माओवादी) ले पनि संसदीय लोकतन्त्रलाई मान्दै शान्ति प्रक्रियामा आयो । वाम ध्रुवीकरणको नाममा अहिले ऊ नेपाली कम्युनिस्ट पार्टी भएको छ । बाँकी अरु साना दलहरू पनि छन् ।
नेपालको संविधान, २०७२ संसदीय लोकतन्त्र मान्ने तत्कालीन ठूला कम्युनिस्ट पार्टीहरूको पनि सबैभन्दा ठूलो संस्थागत राष्ट्रिय दस्तावेज हो । यस संविधानमा कम्युनिस्टहरूको धर्मप्रतिको स्वीकारोक्ति, प्रतिबद्धता र परिवर्तनका नीतिहरू संस्थागत गरिएका छन् । कम्युनिस्ट पार्टीहरूको आआफ्नै पार्टी विधान, नीति र दस्तावेजहरू पनि हुन्छन् । ती परिवर्तित परिवेशअनुसार परिवर्तन हुँदै आएका छन् । संसदीय लोकतन्त्र मान्ने कम्युनिस्ट पार्टीहरूको धर्म र संस्कृतिप्रतिको दृष्टिकोण बुझ्न ती दस्तावेजहरूको अध्ययन अनिवार्य हुन्छ ।
संसदीय लोकतन्त्र मान्ने कम्युनिस्टहरूको धर्मप्रति संस्थागत प्रतिबद्धता र स्वीकारोक्ति :
१) धर्मलाई व्यक्तिको निजी आस्था मान्नु ।
२) राज्य धर्मनिरपेक्ष हुनुपर्ने मान्यता राख्नु ।
३) सबै धर्म, सम्प्रदाय र संस्कृतिप्रति समान सम्मानको नीति लिनु ।
४) धर्मका आधारमा विभेद नगर्नु ।
५) धार्मिक स्वतन्त्रतालाई संवैधानिक अधिकारका रूपमा स्वीकार गर्नु ।
नेपाल धार्मिक तथा सांस्कृतिक रूपमा विविधतायुक्त समाज भएकोले नेपालका कम्युनिस्टहरू धर्म र संस्कृतिसँग अझ प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्ने अवस्थामा छन् । यसको मुख्य कारण वैचारिकभन्दा पनि सामाजिक-ऐतिहासिक हो । नेपालमा धर्म केवल व्यक्तिगत विश्वास मात्र नभई सामाजिक सम्बन्ध, संस्कृति, पर्व, संस्कार र सामुदायिक पहिचानसँग जोडिएको छ । त्यसैले नेपाली कम्युनिस्टहरूले धर्मलाई आस्थाको प्रश्नका रूपमा होइन, संस्कृति र समाजको प्रश्नका रूपमा पनि हेर्नुपर्ने अवस्था छ ।
नेपालका धेरै कम्युनिस्ट नेताहरू सार्वजनिक रूपमा दशैं, तिहार, छठ, ल्होसार, उभौली-उधौली, बुद्धजयन्ती आदिमा सहभागी हुन्छन् । कतिपय धार्मिक वा सांस्कृतिक संस्थाको नेतृत्वमा पनि कम्युनिस्ट पृष्ठभूमिका व्यक्तिहरू देखिन्छन् । पार्टीका सदस्यहरूले व्यक्तिगत रूपमा पूजा, संस्कार वा धार्मिक अनुष्ठानमा भाग लिनु सामान्यजस्तै बनेको छ । धार्मिक संस्थासँग संवाद, सहकार्य र सम्पदा संरक्षणमा भूमिका हुनु स्वाभाविक हुनसक्छ । तर पार्टीका प्रभावशाली नेताहरू नै व्यापक रूपमा धार्मिक संस्थाको नेतृत्व लिन थाले भने धर्मनिरपेक्षता र राजनीतिक निष्पक्षताबारे गम्भीर प्रश्न उठ्न सक्छ ।
नवीन विश्व दृष्टिकोण :
आज विश्वका धेरैजसो कम्युनिस्ट देशहरू माक्र्सको धर्मको आलोचनालाई यान्त्रिक नक्कल गर्नुको सट्टा धर्मलाई सामाजिक-सांस्कृतिक यथार्थका रूपमा व्यवस्थापन गर्ने दिशातर्फ गएका छन् । चीन, भियतनाम र क्युबा जस्ता कम्युनिस्ट देशहरूले विगतको जस्तो धर्मविरोधी नीति छोडेर धार्मिक आस्थालाई निश्चित सीमाभित्र स्वीकार गर्ने नीति लिएका छन् ।
जनतासँग सांस्कृतिक सम्बन्ध कायम राख्नुपर्ने राजनीतिक आवश्यकता, धर्म र संस्कृतिलाई पूर्णतः एउटै कुरा नठान्ने दृष्टिकोण, सोभियत संघ वा पूर्वी युरोपमा देखिएको कठोर धर्मविरोधी अभ्यासबाट कम्युनिस्टहरू परिचित छ । नेपालका संसदीय लोकतन्त्र मान्ने कम्युनिस्ट पार्टीका वर्तमान नीति विश्वका धेरै समकालीन कम्युनिस्ट पार्टीहरूको व्यवहारसँग धेरै हदसम्म मेल खान्छ ।
चीनमा कम्युनिस्ट पार्टीले धार्मिक संस्थाहरूलाई मान्यता दिएको छ, तर धार्मिक संगठनहरूको नेतृत्व प्रत्यक्ष रूपमा पार्टी संगठनले सञ्चालन गर्दैन । राज्यले नियमन गर्छ, तर धर्म र पार्टीलाई एउटै संरचनामा मिसाउने प्रयास गर्दैन ।
भियतनाम मा पनि धार्मिक गतिविधि स्वीकार गरिन्छ, तर पार्टीको मूल भूमिका राजनीतिक नेतृत्वमा सीमित राख्ने प्रयास गर्छ । क्युबाली कम्युनिस्टहरू प्रारम्भिक क्रान्तिकालमा धर्मप्रति कठोर थिए ।
तर १९९० को दशकपछि क्युबाले आफ्नो नीति उल्लेखनीय रूपमा परिवर्तन गर्यो । आज क्युबाको दृष्टिकोणलाई नास्तिक राज्यभन्दा धर्मनिरपेक्ष समाजवादी राज्य भन्न बढी उपयुक्त हुन्छ ।
लाओस र उत्तर कोरिया पनि कम्युनिस्ट देश हुन् । लाओसको संविधानले धर्म मान्ने वा नमान्ने स्वतन्त्रता दिएको छ । तर विदेशी प्रभावसँग जोडिएका धार्मिक गतिविधिमा निगरानीसहित राज्यले धार्मिक संस्थाहरूको अनुगमन र नियमन गर्छ । उत्तर कोरियाको संविधानले धार्मिक स्वतन्त्रताको कुरा गरे पनि व्यवहारिक रूपमा धार्मिक गतिविधि राज्यकै कारण सीमित हुनेगरेको छ । राज्यले धर्मलाई सांस्कृतिक सम्पदाको रूपमा देखाए पनि स्वतन्त्र सामाजिक शक्तिका रूपमा विकसित हुन पाउने स्थिति छैन; धर्मलाई वैचारिक प्रतिस्पर्धी शक्तिका रूपमा हेरिन्छ ।
आलोचनात्मक दृष्टिकोण :
धेरै देशहरूमा वामपन्थी राजनीतिज्ञहरू चर्च, मठ, मन्दिर वा सांस्कृतिक संस्थासँग सहकार्य गरिरहेका देखिन्छन् । यस्ता कार्यले वैचारिक अन्योलता प्रवाह गर्छ ।
१) कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ताहरू नै धार्मिक संस्थाका प्रमुख बन्दैजानाले पार्टी र धर्मबीचको सीमा अस्पष्ट हुन सक्छ ।
२) धर्मनिरपेक्षताको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ ।
३)धार्मिक संस्थाहरू राजनीतिक प्रतिस्पर्धाको मैदान बन्न सक्छन् ।
४) वैज्ञानिक तथा आलोचनात्मक चेतनाको पक्षधर पार्टी धार्मिक वैधता खोजिरहेको जस्तो देखिन सक्छ ।
५) कतिपय अवस्थामा पार्टीको व्यवहार र मार्क्सवादी सिद्धान्तबीच दुरी देखिनपुग्छ ।
६) नेता-कार्यकर्ताहरूको धार्मिक गतिविधि अत्यधिक हुँदा वैचारिक अस्पष्टता बढ्न सक्छ ।
७) धर्म र संस्कृतिको सीमारेखा कहिलेकाहीँ राजनीतिक रूपमा धुमिल हुन्छ । त्यसैले कम्युनिस्टहरू प्रश्नको कठघरामा उभिनुपर्ने हुन्छ ।
संसदीय लोकतन्त्र मान्ने कम्युनिस्टहरूले बुझ्नुपर्ने कुराहरू :
१) धर्मलाई व्यक्तिगत आस्था, संस्कृतिलाई सामाजिक सम्पत्तिका रूपमा बुझ्ने ।
२) धर्म व्यक्तिको विश्वासको विषय हो भने संस्कृति समाजको साझा सम्पत्ति हो ।
३) लोकतान्त्रिक समाजमा प्रत्येक नागरिकलाई धर्म मान्ने, नमान्ने वा परिवर्तन गर्ने अधिकार हुन्छ ।
४) राज्यले कुनै धर्मलाई विशेष संरक्षण वा विभेद नगरी सबै धर्मप्रति समान व्यवहार गर्नुपर्छ । यो आधुनिक लोकतान्त्रिक व्यवस्थाको आधारभूत सिद्धान्त हो ।
५) मठमन्दिर, गुम्बा, विहार, मस्जिद, चर्च, जात्रा, पर्व, लोककला, भाषा, साहित्य आदि केवल धार्मिक विषयमात्र होइनन् । ती ऐतिहासिक र सांस्कृतिक सम्पदा पनि हुन् ।
६) धर्मलाई सम्मान गर्ने र राजनीतिक उपयोग गर्ने कुरा फरक हुन् । कुनै पनि पार्टीले धार्मिक भावनालाई चुनावी ध्रुवीकरण वा सामाजिक विभाजनका लागि उपयोग नगर्ने; कारण यो प्रतिउत्पादक हुनसक्छ ।
७) वैज्ञानिक सोच र सांस्कृतिक सम्मानलाई सँगसँगै लैजाने । वैज्ञानिक चेतना विकास गर्नु र परम्पराको सम्मान गर्नु परस्पर विरोधी कुरा होइनन्।
८) नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएकोले कुनै एक समुदायको संस्कृति मात्र राष्ट्रिय संस्कृति हो भन्ने दृष्टिकोणभन्दा विविधतालाई सम्मान गर्ने नीति नै साझा र प्रिय हुन्छ ।
निष्कर्ष :
धर्मको विषयमा आलोचना र समर्थन यी दुवै विषयमा नेपालका कम्युनिस्टहरू ज्ञात छन् । र, समाजको यथार्थ र विश्व परिवेशलाई पनि बुझेका छन् । मार्क्सवादी शास्त्रको शुद्ध मापदण्डबाट हेर्ने हो भने नेपालमा संसदीय लोकतन्त्र मान्ने कम्युनिस्ट पार्टीहरूको व्यवहार अपेक्षाकृत लचिलो र व्यावहारिकतातिर झुकेको छ । नेपालजस्तो बहुधार्मिक र बहुजातीय समाजमा कम्युनिस्टहरूले धर्मप्रति न सम्मानहीन वैरभाव, न अन्धसमर्थन यी दुवैबाट तटस्थ रहनु उपयुक्त हुन्छ । बहुदलीय लोकतन्त्र र नेपालको सामाजिक यथार्थको दृष्टिले हेर्ने हो भने यसको नीति तुलनात्मक रूपमा मध्यमार्गी र समावेशी देखिन्छ । तर राज्य, पार्टी र धार्मिक संस्थाबीचको सीमा कति स्पष्ट राख्ने भन्ने कुराले गहिरो महत्त्व राख्छ । यसैमा कुनै पनि संसदीय कम्युनिस्ट पार्टीहरूको वैचारिक परिपक्वता मापन हुन्छ ।
अब सन्तुलित दृष्टिकोण के हुन सक्छ भनेतर्फ जाअेोँ –
१) कम्युनिस्टहरूले धार्मिक आस्थाको सम्मान गर्ने ।
२) पार्टीलाई धार्मिक संस्थासँग संगठनात्मक रूपमा एकाकार नगर्ने ।
३) धार्मिक स्वतन्त्रताको रक्षा गर्ने ।
४) राज्य र पार्टीको राजनीतिक भूमिकालाई धार्मिक नेतृत्वबाट अलग राख्ने ।
५) नेपालको बहुसांस्कृतिक यथार्थको सम्मानलाई सन्तुलित रूपमा अघि बढाउने ।
६) कम्युनिस्ट वैचारिक आधार कायम राख्दै धर्मप्रति सहिष्णुता, राज्यको धार्मिक तटस्थता, सांस्कृतिक सम्पदाको संरक्षण र वैज्ञानिक चेतनाको विकास गर्ने ।
यही दृष्टिकोण आजको विश्व परिवेश र नेपालको बहुलवादी समाज दुवैसँग बढी मेल खाने देखिन्छ । यसले आधुनिकता र परम्पराबीच अनावश्यक टकराव सिर्जना नगरी दुवैलाई समेट्ने आधार पनि दिन सक्छ ।
(पङ्क्तिकार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कोशी प्रदेश कमिटी सदस्य तथा स्कुल विभाग उपप्रमुख हुन् ।)