logo
शुक्रबार, साउन २९ २०८३

धम्क्याउँदै रकम असुल्ने नक्कली पत्रकारलाई कडा कारबाहीको माग


  • कुइनेटो न्युज
  • सोमबार, जेष्ठ १८ २०८३

झापा /  सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्ने  व्यक्तिले आफूलाई पत्रकार बताउदै पत्रकारिताको आवरणमा उद्योगी तथा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गरेको घटना सार्वजनिक भएको छ । नक्कली पत्रकारका यस्ता गतिविधिले सञ्चार क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरिरहेको भन्दै नेपाल पत्रकार महासंघ झापाले यस्ता विकृति तत्काल अन्त्य गर्न सम्बन्धित निकायसँग कडा कारबाहीको माग गरेको छ।

महासंघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्ने केही व्यक्तिले आफूलाई पत्रकारका रूपमा प्रस्तुत गर्दै विभिन्न सञ्चार संस्थाको नाम दुरुपयोग गरेर आर्थिक लाभ लिन खोजेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अनुसार झापा हल्दिबारी गाउँपालिका–१ निवासी नितेश ओलीले आफू विभिन्न सञ्चार माध्यममा कार्यरत रहेको भनी झुठो विवरण प्रस्तुत गर्दै केही उद्योगी तथा व्यवसायीसँग रकम माग्ने गरेको जानकारी प्राप्त भएको छ। उनले ठोस खबर डटकम, पूर्वीगर्जन मिडिया प्रालि लगायतका विभिन्न सञ्चार संस्थाको नाम प्रयोग गरी रकम मागेको आरोप लगाइएको छ।

आफ्नो सञ्चार संस्थाको नाम र प्रतिष्ठा दुरुपयोग गरी अवैध गतिविधि गरिएको भन्दै केही सञ्चारमाध्यमका सञ्चालकहरूले महासंघसमक्ष गुनासो समेत गरेका छन्। महासंघले पत्रकारिताको आवरणमा हुने यस्ता गतिविधि सञ्चार क्षेत्रको साख र जनविश्वासमाथिको प्रत्यक्ष आक्रमण भएको ठहर गरेको छ।

महासंघले पत्रकारिता कुनै पनि प्रकारको धाकधम्की, बार्गेनिङ वा आर्थिक लाभको माध्यम नभई समाजप्रति उत्तरदायी र नैतिक पेशा भएको स्मरण गराउँदै यस्ता गतिविधिले समग्र पत्रकारिता क्षेत्रको छविमा नकारात्मक असर पार्ने जनाएको छ।

विज्ञप्तिमा कसैले पत्रकारिताको नाममा धम्की दिने, अनुचित आर्थिक लेनदेनको प्रस्ताव राख्ने वा रकम माग्ने गरेमा तत्काल सम्बन्धित निकायमा उजुरी गर्न उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरिएको छ। साथै, यस्ता दुष्प्रवृत्तिप्रति सचेत रहन र पत्रकारिताको नाममा हुने कुनै पनि गैरकानुनी गतिविधिलाई  रुत्साहित गर्न सबै पक्षको सहयोग आवश्यक रहेको महासंघले उल्लेख गरेको छ।

महासंघले सामाजिक सञ्जालका विभिन्न पेज सञ्चालन गर्ने व्यक्तिहरूलाई पत्रकारिताको नाममा गलत गतिविधि नगर्न तथा झापाको समग्र पत्रकारिता क्षेत्रको प्रतिष्ठामा आँच नपु¥याउन चेतावनी समेत दिएको छ।

पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि प्रहार गर्ने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्नेमा जोड दिँदै महासंघले घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। महासंघले पत्रकारिताको पवित्र पेशालाई बदनाम गर्ने प्रवृत्तिविरुद्ध सबै सरोकारवाला एकजुट हुनुपर्ने आवश्यकता पनि औँल्याएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend