कमल । कोशी प्रदेशका मुख्यमन्त्री कार्की हिक्मत कुमार कार्कीले गुणस्तरीय शिक्षा प्रणाली विकासका लागि भौतिक पूर्वाधारमा सुदृढीकरण अत्यावश्यक रहेको बताउनु भएको छ ।
कोशी प्रदेश सरकारको विनियोजित बजेटबाट दमक बहुमुखी क्याम्पसमा निर्माण हुन लागेको अत्याधुनिक पुस्तकालय भवनको आज एक कार्यक्रमका बीच शिलान्यास पछि आफ्नो मन्तव्यका क्रममा मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेतरहनु भएका मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको १ करोड २२ लाख रुपैयामा निर्माण हुनलागेको पुस्तकालयले क्याम्पसको शिक्षा क्षेत्रको समग्र विकासमा ठुलो सहयोग पुग्ने बताउनुभयो।
“पुस्तकालय केवल पुस्तक राख्ने स्थान मात्र होइन, यो ज्ञानको केन्द्र हो, “यसले विद्यार्थीहरूमा अध्ययन संस्कृति विकास गर्नुका साथै अनुसन्धान र नवप्रवर्तनलाई समेत प्रोत्साहन गर्दछ।” प्रदेश सरकारले आगामी दिनमा यस्ता शैक्षिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्माण हुन लागेको पुस्तकालय भवन आधुनिक सुविधा सम्पन्न सहितको हुनेछ । भवनभित्र डिजिटल लाइब्रेरी, ई–लर्निङ कक्ष, शान्त अध्ययन कक्ष, समूहगत अध्ययनका लागि छुट्टै स्थान तथा अनुसन्धानकर्ताका लागि आवश्यक सन्दर्भ सामग्रीको व्यवस्थापनका साथै चमेनागृह रहने छ । यसले विद्यार्थी तथा शिक्षकहरूलाई अध्ययन, अनुसन्धान र ज्ञान आदान–प्रदानका लागि सहज वातावरण प्रदान गर्ने अपेक्षा गरिएको क्याम्पस प्रमुख यज्ञराज गिरीले बताउनु भयो ।
दमक बहुमुखी क्याम्पसले पूर्वी नेपालमा उच्च शिक्षाको प्रवद्र्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै नयाँ पुस्तकालय भवनले त्यसलाई अझ मजबुत बनाउने क्याम्पस ब्यावस्थापन समितिका सदस्य सूरेश सुब्बाले बताउनु भयो ।
प्रदेश सरकार बाट प्राप्त रकमले सुविधा सम्पन्न पुस्तकालय निर्माण हुने छ । यस बाट क्याम्पसमा अध्यायनरत विध्यार्थीलाई थप अध्यायन गर्न ठुलो मद्धत पुग्ने छ । तर यतिले मात्र क्याम्पसलाइ नपुग्ने भएकोले प्रदेश सरकार सँग थप सहयोगको अपेक्षा दिएका ब्यावस्थापन समिति सदस्य सुब्बाले बताउनु भयो ।

दमक क्याम्पसले समग्र रूपमा दमक क्षेत्रको शैक्षिक, बौद्धिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव परेको छ । पुस्तकालय निर्माण कार्य निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने गुणस्तरीय निर्माणका लागि विशेष ध्यान दिइने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले बताउनु भयो ।
पुस्तकालय भवन निर्माणले विद्यार्थीहरूमा अध्ययनप्रति आकर्षण बढ्ने र शैक्षिक वातावरण थप सुदृढ हुने विश्वास गरिएको छ ।
कार्यक्रममा दमक गरपालिकाका नगर प्रमुख रामकुमार थापा, क्याम्पस व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा सदस्य , विभिन्न शैक्षिक व्यक्तित्व, क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।