शिवसताक्षी / विदेशमा रहेका युवाहरूको समूहले झापाको शिवसताक्षी–७ फाक्तेपकी ६८ वर्षीया भूमिहीन विपन्न एकल महिला कृष्णमाया आङ्बोलाई रु. १ लाख ६ हजारभन्दा बढी आर्थिक सहयोग प्रदान गरेका छन्।
मंगलबार आङ्बोको निवासमै आयोजित एक कार्यक्रमबीच उक्त सहयोग शिवसताक्षी–७ का वडा अध्यक्ष भुवानी विक्रम चेम्जोङको हातबाट हस्तान्तरण गरिएको हो।
स्पेनमा कार्यरत स्थानीय युवा सनसाइन चेम्जोङ, पवन मगर र मुकेश सेर्माको पहलमा विभिन्न देशमा रहेका नेपाली युवाहरूबाट रकम संकलन गरिएको थियो। संकलित सहयोगमध्ये रु. ८१,६२० नगद तथा करिब रु. २४ हजार बराबरका जिन्सी सामग्री हस्तान्तरण गरिएको आयोजकले जनाएका छन्।
प्रदान गरिएका सामग्रीहरूमा ग्यास चुलो, सिलिन्डर, लो–बेड, सिरक, डस्ना, सिरानी, तन्ना तथा खाद्यान्न सामग्रीहरू (चामल, नुन, तेल, दाल, मसला आदि) समावेश छन्।
करिब ३० वर्षदेखि स्थानीय रेनुका चेम्जोङ आङ्देम्बेको आश्रयमा सानो टहरामा बस्दै आएकी आङ्बो विपन्न, एकल तथा भूमिहीन सुकुम्बासी रहेको बताइएको छ। शारीरिक रूपमा समेत अस्वस्थ रहेकी आङ्बोले उक्त सहयोगले आफू निकै खुसी भएको बताउँदै यसले जीवनयापनमा केही सहजता ल्याउने विश्वास व्यक्त गरिन्। उनले सबै सहयोगी मनहरूलाई धन्यवादसमेत दिएकी छन्।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष चेम्जोङले यस्ता भूमिहीन, विपन्न तथा एकल महिलाहरूलाई नगर र वडाबाट उपलब्ध हुने सेवासुविधामा आङ्बोलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता जनाए।