logo
शुक्रबार, साउन २९ २०८३

झापामा क्षेत्रीय निर्वाचन कार्यालय स्थापना : कुन ठाउँमा कसलाई जिम्मेवारी दिइयो


  • कुइनेटो न्युज
  • शुक्रबार, माघ २ २०८२

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय झापाले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय निर्वाचन कार्यालय स्थापना गरेको छ।

शुक्रबारदेखि सबै निर्वाचन क्षेत्रका कार्यालय सञ्चालनमा आएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयाे । वहाँका अनुसार निर्वाचनसम्बन्धी प्रशासनिक, प्राविधिक तथा सुरक्षासम्बन्धी तयारी अन्तिम चरणमा पुगेको छ र निर्वाचन कार्यलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याइएको हो।

निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन कार्यालय मेची नगरपालिका कार्यालयमा स्थापना गरिएको छ। यस क्षेत्रको निर्वाचन प्रमुखको जिम्मेवारी गोपी विश्वकर्मालाई दिइएको छ। यस्तै निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय अर्जुनधारा नगरपालिका कार्यालयमा सञ्चालनमा आएको छ जहाँ महेश खत्री निर्वाचन प्रमुखको रूपमा खटिएका छन्। निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको छ र सो कार्यालयको प्रमुखमा माननीय रमेश प्रसाद लुइटेल नियुक्त  हुनुभएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालय कन्काई नगरपालिका वडा नम्बर १ स्थित तुर्सा हेमरम प्रतिष्ठानमा स्थापना गरिएको छ। उक्त कार्यालयको प्रमुखमा भीमप्रसाद भुर्तेललाई तोकिएको छ भने निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालय दमकस्थित वैज्ञानिक कृषि केन्द्रमा स्थापना गरिएको छ र यस क्षेत्रको निर्वाचन अधिकृतको रूपमा विदुरकुमार कार्कीले जिम्मेवारी पाएउनु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता फागुन ७ र ८ गते हुनेछ। उम्मेदवारको प्रारम्भिक नामावली फागुन ९ गते प्रकाशन गरिनेछ भने उम्मेदवारी फिर्ता लिने अन्तिम मिति फागुन १० गते तोकिएको छ। अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न वितरण फागुन ११ गते हुनेछ। मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
निर्वाचन हुने–नहुने विषयमा विभिन्न चर्चा परिचर्चा भइरहेका बेला जिल्ला प्रशासन, सुरक्षा निकाय, निर्वाचन कार्यालय तथा कर्मचारीहरू तयारीमा जुटेका छन्।

सुरक्षाका सबै संयन्त्र परिचालन गर्ने तयारी भइसकेको प्रमुख नेपालले बताउनु भयाे। निष्पक्ष, स्वतन्त्र र सुरक्षित निर्वाचन सम्पन्न गराउने लक्ष्यका साथ आवश्यक जनशक्ति, सामग्री व्यवस्थापन र अनुगमनको काम तीव्र गतिमा अघि बढाइएको वहाँ ले बताउनुभयाे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend