झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. ४ बाट पूर्व सांसद एल.पी. सावाँ लिम्बु नै सबैभन्दा बलियो उम्मेदवार भएको स्थानीय मतदाताहरूले बताएका छन्।
जनप्रिय, विकासप्रेमी र जनताको मनमुटुमा बस्न सफल युवा नेता सावाँ नेकपा (एमाले) का निष्ठावान नेता हुन्। उनले यस क्षेत्रबाट २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी हासिल गरेका थिए। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा भने कांग्रेसका तत्कालीन नेता स्वर्गीय केशवकुमार बुडाथोकीसँग झिनो मतान्तरले पराजित भएका थिए।
सावाँ जनताको समस्यालाई संसदमा निरन्तर उठाएर समाधानका लागि पहल गर्ने नेताको रूपमा परिचित छन्। उनले आफ्ना निर्वाचन क्षेत्रका नागरिकहरूको दुःख–सुखमा प्रत्यक्ष सहभागी भई समस्या बुझ्ने र समाधान गर्ने गरेको स्थानीयहरूको भनाइ छ।
राजनीतिक कामका अतिरिक्त उनले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान दिँदै आएका छन्। मुटुरोग, क्यान्सर, मिर्गौला, बोन म्यारो, स्पाइनल इन्जुरीलगायत दीर्घरोगीहरूलाई उपचार सहयोग गरेर धेरैलाई पुनर्जीवन दिएको स्थानीयहरू बताउँछन्।
यस्तै उनले निःशुल्क स्वास्थ्य शिविर, योग शिविर, तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि विभिन्न योजना तथा आर्थिक सहयोग गर्दै आएका छन्।
हक्की स्वभाव, निडर र प्रखर वक्ताका रूपमा चिनिने सावाँलाई पार्टीभित्रको खिचातानी, नातावाद र कृपावादका कारण टिकट नपाउने हो कि भन्ने चिन्ता भने मतदातामा देखिएको छ। अघिल्लो पार्टी महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर प्रतिनिधि निर्वाचित भए पनि पार्टी नेतृत्वले उनलाई केन्द्रीय सदस्य बन्न नदिएको प्रसंग अहिले पनि चर्चामा छ।
यसैबीच, नेकपा एमालेले झापा–४ बाट प्रतिनिधि सभा उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय कमिटीका अनुसार पूर्व सांसद एल.पी. सावाँ लिम्बु, हीरा थापा र भोजकुमारी नेपाल सिफारिस भएका हुन्। सिफारिस सूचीमा सावाँको नाम पहिलो नम्बरमा रहेको छ।
यदि पार्टी नेतृत्वले स्थानीय जनभावनाविपरीत सावाँ बाहेक अन्यलाई टिकट दिएमा एमालेको पराजय निश्चित हुने मतदाताहरूको चेतावनी छ।
सिफारिस गरिएका अन्य उम्मेदवारमध्ये हीरा थापा २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भई कार्यकाल पूरा गरिसकेका अनुभवी कम्युनिस्ट नेता हुन्।
भोजकुमारी नेपाल भने शिवसताक्षी नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा उपमेयर निर्वाचित भई सफल कार्यसम्पादन गरेकी महिला नेतृ हुन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले देशभर अधिकांश निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिसकेको जनाएको छ। भने उमेदवारको अन्तिम नामवली प्रकाशन गर्न बाँकी रहेको बताइएको छ ।