शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–२ का युवाहरू लागूऔषध दुरुपयोग न्यूनीकरणका लागि एकजुट भई अभियानमा जुटेका छन् । बुधबार शिवसताक्षी–२ को मंगलबारे बजारमा आयोजित युवाहरूको संयुक्त भेलाबाट दिनेश गुरुङको संयोजकत्वमा ३१ सदस्यीय लागूऔषध दुरुपयोग न्यूनीकरण समाज निर्माण समिति गठन गरिएको हो ।
पछिल्लो समय शिवसताक्षी–२ लागूऔषध दुरुपयोगको अखडाजस्तै बन्दै जाँदा समाजमा चोरी, डकैती, बलात्कार, महिला हिंसा लगायतका विभिन्न विकृति र विसंगति बढ्दै गएकोले यसको न्यूनीकरण आवश्यक महसुस गरी युवाहरू एकजुट भई अभियान सुरु गरिएको समितिका संयोजक दिनेश गुरुङले बताए ।
उनका अनुसार आधारभूत तथा माध्यमिक तहमा अध्ययनरत धेरै किशोर–किशोरीहरू लागूऔषधको दलदलमा फसिरहेका छन् । “यो उमेर पढ्ने र भविष्य निर्माण गर्ने बेला हो, तर साथी–संगतको लहैलहैमा लागूऔषधजस्तो विकृतिमा फसेपछि उनीहरूको भविष्य नै डामाडोल हुन्छ, जसको प्रत्यक्ष असर समाजमा पर्छ,” उनले भने ।
सो अवसरमा इलाका प्रहरी कार्यालयका प्रमुख सुबास केसीले लागूऔषधको प्रयोगले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै गम्भीर समस्या उत्पन्न गर्ने उल्लेख गर्दै यसको न्यूनीकरणका लागि नवगठित युवा समूहलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले लागूऔषध प्रयोगकर्ता र बिक्रीकर्ता दुवै कानुनविपरीत हुने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी सधैँ युवाहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
त्यस्तै, शिवसताक्षी–२ का वडाध्यक्ष भीमबहादुर नेम्बाङले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास मात्रले वडाबासीहरूको समुन्नत विकास सम्भव नहुने उल्लेख गर्दै लागूऔषध दुरुपयोगबाट मुक्त गराउनु पनि उत्तिकै आवश्यक रहेको बताए ।
“एक्लैले प्रयोगकर्ता र बिक्रीकर्तालाई नियन्त्रण गर्न खोज्दा रिसिबी हुने र आफैँ असुरक्षित बन्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले युवाहरूको समूह बनाएर अभियानकै रूपमा अघि बढ्दा न्यूनीकरण गर्न सहज हुन्छ,” उनले भने । वडाले यो अभियानमा सधैँ साथ दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

भेलामा मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष राजु दर्नालले विभिन्न माध्यमबाट लागूऔषध दुरुपयोगविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्दै आए पनि अपेक्षित प्रभाव नपरेको बताए । अब सचेतनामै सीमित नरही फिल्डमै उत्रिएर पहिचान र कारबाही गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।
उनले लागूऔषध प्रयोगकर्ता तथा बिक्रीकर्ताको पहिचान गरी पहिलो चरणमा व्यक्ति र परिवारलाई सम्झाइने र अटेर गरे कानुनी दायरामा ल्याइने स्पष्ट पारे ।
मंगलबारे बजार व्यवस्थापन समितिको समन्वयमा सम्पन्न उक्त भेलामा विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित एक सयभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।