शिवसताक्षी । शिवसताक्षी नगरपालिका–१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयले सेवा निवृत्त एक शिक्षकलाई सम्मानसहित बिदाइ गरेको छ।
विद्यालयमा आज आयोजित विशेष कार्यक्रममा ३४ वर्ष ६ महिना लामो शिक्षण सेवाबाट अनिवार्य अवकाश पाउनु भएका शिक्षक अकलबहादुर भुजेललाई सम्मानपूर्वक बिदाइ गरिएको हो।
कार्यक्रममा शिक्षक भुजेललाई ढाका टोपी, दोसल्ला, खादा, फूलमाला, अबिर तथा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा वडा नं. १ का अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर लम्जेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष निरज राई, पूर्व व्यवस्थापन समिति अध्यक्ष चन्द्रवीर नेम्बाङ, पूर्व प्रधानाध्यापक भुवानीप्रसाद नेपाल लगायतको उपस्थिति रहेको थियो। सम्मानमा विद्यार्थीहरूको समेत सक्रिय सहभागिता थियो।

सो अवसरमा शिक्षक पूर्णलाल राजवंशीले सम्मानित शिक्षकको कदरपत्र वाचन गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर लम्जेलका अनुसार शिक्षक भुजेलले २०८२ साल पुस २ गतेदेखि अनिवार्य अवकाश पाउनुभएको हो।
२०४८ साल असार ३ गते प्राथमिक तहको शिक्षक सेवामा प्रवेश गर्नुभएका भुजेल २०८२ साल पुस २ गते अवकाश प्राप्त गर्नुभएको हो। शिवसताक्षी–१ धरमपुरका स्थायी बासिन्दा शिक्षक भुजेल सोही विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएको विद्यालयले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चेम्जोङले शिक्षक भुजेलले विद्यालयमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “कुनै पनि शिक्षकले जीवनभर कमाउने सबैभन्दा ठूलो सम्पत्ति भनेकै आफ्ना विद्यार्थीहरूको माया हो।”
शिक्षक भुजेलले २०४८ सालमा यही विद्यालयमा अस्थायी शिक्षकका रूपमा सेवा सुरु गर्नुभएको थियो। २०५० सालमा स्थायी नियुक्ति पाएपछि अन्यत्र दरबन्दी भए पनि करिब तीन महिना त्यहाँ अध्यापन गराएर पुनः यही विद्यालयमा सरुवा भई हालसम्म अध्यापन गरिरहनुभएको थियो।
बिदाइ मन्तव्यमा शिक्षक भुजेलले आफूले सेवा सुरु गरेको विद्यालयबाटै बिदाइ हुन पाउँदा अत्यन्तै खुसी लागेको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो, “लामो समय यही विद्यालयमा सेवा गर्ने अवसर पाएँ। पढाउँदा कसैसँग अलि चर्को त कसैसँग कोमल बोली भयो होला, सबैलाई सिकाइको रूपमा लिनुहोला।” साथै उहाँले विद्यालयमा कार्यरत शिक्षकहरूलाई आफ्ना कमजोरीहरू बिर्सन आग्रह गर्नुभयो।
बिदाइ कार्यक्रममा शिक्षक प्रकाश सुवेदी, पूर्व व्यवस्थापन समिति अध्यक्ष चन्द्रवीर नेम्बाङ, पूर्व प्रधानाध्यापक भुवानीप्रसाद नेपाल, पूर्व शिक्षक तथा अक्षयकोष दाता माधव भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष निरज राई (निहाङ किराती) को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक खगेन्द्रबहादुर लम्जेलले बिदाइ शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक कुमार खतिवडाले गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले च्याब्रुङ नृत्य प्रस्तुत गरी अतिथिहरूको स्वागत गरेका थिए।
मिलन–बिछोड प्रकृतिको नियम हो भन्ने भावुक क्षणमा हजारौँ विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएका शिक्षक भुजेल विद्यालय प्राङ्गणलाई ढोग्दै आँसु भरिएका आँखासहित बिदाइ हुनुभयो।
विद्यालयले शिक्षक भुजेललाई बाजागाजा सहित गाडीमा सवार गराई अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो सहभागितामा सम्मानपूर्वक घरसम्म पुर्याएको थियो।