logo
शुक्रबार, साउन २९ २०८३

मिस्टर एन्ड मिस विश्वकर्मा नेपाल– २०२५’ को उपाधि सौरभ र चाँदनीले चुमेका छन्


  • कुइनेटो न्युज
  • बुधबार, असार ३२ २०८२

काठ्माण्डौ । मिस्टर एन्ड मिस विश्वकर्मा नेपाल– २०२५’ को उपाधि सौरभ विश्वकर्मा र चाँदनी रहपालले जितेका छन्।
काठमाडौंमा सम्पन्न फिनालेमा उनीहरूले उपाधि चुमेका हुन्। उक्त कार्यक्रममा विश्वकर्माको सांस्कृतिक पोसाक औपचारिक रूपमा सार्वजनिक पनि गरिएको थियो।

कार्यक्रममा पुरुषले लगाउने सेतो रङको फेटा, कानमा मुन्द्रा, सेतो रङकै भोटो, कम्मरमुनि मुजैमुजा परेको हल्का सेतो रङकै जामा, कम्मरमा सेतै पटुका, कम्मरमा भिर्ने ढाल, तरबारजस्ता पोसाक प्रदर्शन गरिएको थियो भने महिलाले लगाउने शिरबन्दी, रातो गम्छा, फूली तथा झम्के मुन्द्री, मालवाडी, चाँदीको हँसुली, पहेँलो, रातो र हरियो पोतेमा जन्तर, पैसाको माला, रातो फूलबुट्टे मखमललगायत पोसाकको प्रदर्शन गरिएको हो। पोसाकको खोज अध्येता तथा लेखक डिबी नेपाली दमुले गरेका हुन्।

कार्यक्रममा पूर्वमन्त्री मीन विश्वकर्मा, पूर्वसांसद आशा विश्वकर्मा, दलित अभियन्ता खगेन्द्र सुनारलगायत दलित समुदायका कलाकार, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व उपस्थित थिए।

महिलातर्फ रविना बराइली फर्स्ट रनरअप, सन्ध्या घतानी सेकेन्ड रनरअप बने भने सारू सुना तेस्रो उपविजेता र सविना विक चौथो उपविजेता बनेका छन्। त्यस्तै, पुरुषतर्फ विमोचन विक फर्स्ट रनरअप, ग्रिस विश्वकर्मा सेकेन्ड सनरअप र प्रज्ज्वल खाती थर्ड रनरअप बनेका छन्।

मोडल अलिशा गहजराजको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका लागि ड्रेस डिजाइन ज्वालाराज पोखरेलले गरेका थिए। कार्यक्रम आयोजक संस्था बिब्रोस इन्टरटेनमेन्टका अध्यक्ष सञ्जय विश्वकर्माले ‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायको युवाहरूका लागि प्लाटफर्म निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए।

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, बर्दिया, नवलपरासी, पोखरा, बुटवल, भोजपुर, नेपालगन्जलगायत विभिन्न जिल्लाका २० जना प्रतियोगीले अन्तिम प्रतिस्पर्धा गरेका थिए। फिनालेमा विजेताहरूलाई ‘५० हजार नगदसहित गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend