logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर अस्पतालमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सफलतापूर्वक सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, असार १८ २०८२

कमल/   स्वास्थ्य सेवा गाउँमै सुलभ र गुणस्तरीय बनाउने कमल गाउँपालिकाको दीर्घकालीन दृष्टिकोण अन्तर्गत, कमल नगर अस्पताल, तोपगाछीमा सञ्चालन हुँदै आएको  मानसिक स्वास्थ्य सेवा कार्यक्रम  सफलता पूर्वक सम्पन्न भएको छ।

आज (बुधवार) सम्पन्न सेवा कार्यक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. नवराज कोइराला तथा उहाँको टिम (बिराट मेडिकल टिचिङ्ग अस्पताल, विराटनगर) को प्राविधिक सहयोग रहेको थियो।

कार्यक्रममा विभिन्न प्रकारका मानसिक समस्याबाट प्रभावित सेवाग्राहीहरूलाई निःशुल्क परामर्श तथा औषधोपचार सेवा प्रदान गरिएको थियो। सेवाको दायरामा मानसिक तनाव, चिन्ता, डिप्रेशन, अनिद्रा, चिडचिडोपन, बाल तथा किशोर मानसिक समस्या, स्मरणशक्ति कमजोर हुने, डर वा लाज लाग्ने समस्या लगायतका विषयहरू समेटिएका थिए।

फलोअपमा उत्कृष्ट सहभागिता

सेवामा नयाँ सेवाग्राहीहरूका साथै अघिल्लो महिना सेवा लिइसकेका बिरामीहरू समेत उपस्थित थिए। विशेषतः, फलोअपमा बोलाइएका सबै सेवाग्राहीहरू समयमैउपस्थित भई सेवा लिएको उल्लेखनीय तथ्यले कार्यक्रमप्रतिको जनविश्वासलाई पुष्टि गर्छ।

सहज र गोप्य सेवाको वातावरण

समाजमा अझै पनि मानसिक स्वास्थ्यसम्बन्धी विषयमा हिचकिचाहट, भ्रम र पूर्वाग्रहहरू विद्यमान रहेका बेला, कमल गाउँपालिकाका अध्यक्ष तथा अस्पताल सञ्चालक व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईको पहलमा सञ्चालित यस सेवाले सहज, गोप्य र आत्मीय वातावरणमा सेवा उपलब्ध गराई जनस्तरसम्म मानसिक स्वास्थ्यको पहुँच विस्तार गरेको छ।

जनविश्वासको वृद्धिः एक उत्साहजनक संकेत

अस्पताल व्यवस्थापन समितिका अनुसार, मानसिक स्वास्थ्य सेवाप्रति जनताको विश्वास पछिल्लो केही महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। नियमित सेवाबाट लाभान्वित भएकाहरूको सन्तुष्टि र सेवा दोहोर्याउने दर उच्च रहेको देखिन्छ ।

कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहनु भएका सबैलाई ढुक्क भई सेवा लिनुहुन आग्रह गर्नुभएको छ।

कार्यक्रमको निरन्तरताको प्रतिबद्धतासहित, आगामी महिनामा पनि सेवा यथावत सञ्चालन गरिनेछ। सेवा मिति र विवरणबारे जानकारी समयमै गराइने अस्पताल प्रमुख दिपक दाहालले बताउनु भयाे ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend