विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री भुपेन्द्र राई सहितको टोलीले कोशी प्रदेश, प्रादेशिक आयुर्वेद अस्पताल झापाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
झापाको कमल गाउँपालिकामा रहेको सो आयुर्वेदिक अस्पतालको निरीक्षणका लागि कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेल, स्वास्थ्य सचिव राधिका थपलिया, संविधान सभा सदस्य दीपक कार्की लगायतका सहभागी हुनुहुन्थो । निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले सेवाका विषयमा अस्पतालका कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको थियो ।
उहाँले आगामी आर्थिक वर्षको बजेटबाट अस्पताललाई पूर्ण रुपमा सञ्चालन हुने गरिको व्यवस्था गरिने बताउनुभयो । उहाँले औषधि उत्पादनको समेत लक्ष्य रहेको भन्दै उहाँले यसका लागि कोशी प्रदेश सरकारले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयसँग सहकार्य गर्न चाहेको बताउनुभयो । कोशी प्रदेश सरकारले वैकल्पिक स्वास्थ्य सेवाका रुपमा आयुर्वेदिक अस्पतालहरुलाई उच्च प्राथमिकता दिँदै आएको छ ।
आयुर्वेदिक अस्पतालको सेवा सुविधा विस्तार गर्दै लैजाने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । अनुगमन निरीक्षणका क्रममा स्वास्थ्यमन्त्री राईले पूर्वीय चिकित्सा पद्धतीका रुपमा परिचित आयुर्वेद चिकित्साको महत्व दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । निरीक्षणमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका प्रतिनिधिहरु समेत सहभागी थिए ।