logo
शुक्रबार, साउन २९ २०८३

छात्रामाथि दुव्र्यवहार गर्ने शिक्षक भट्टराईलाई कैद फैसला


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख ६ २०८२

कमल ÷ विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने झापाका एक शिक्षकलाई एक वर्ष कैद सजाय भएको छ ।

यसरी कैद सजाय पाउनेमा  झापा कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शिवकुमार भट्टराई हुनुहुन्छ ।
जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालसले बिहीबार शिक्षक भट्टराईलाई बालबालिका विरुद्धको कसुर (बाल यौन दुव्र्यवहार)मा एक वर्ष कैद, दश हजार रुपैयाँ जरिवाना र ४० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।

भट्टराई विरुद्ध सोही विद्यालयमा कक्षा ७ र ८ मा पढ्ने तीन बालिका ‘छ’, ‘ज’, र ‘झ’ (सांकेतिक नाम)ले इलाका प्रहरी कार्यालय दमकमा गत भदौमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा जिल्ला अदालत झापामा मुद्दा दर्ता भएको थियो ।

अदालतले उनलाई प्रत्येक मुद्दामा एक–एक वर्ष कैद, जनही दश हजार जरिवाना (कुल ३० हजार) र जनही ४० हजार क्षतिपूर्ति (कुल एक लाख २० हजार) तोकेको जिल्ला अदालत झापाका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । प्रत्येक मुद्दामा एक–एक वर्ष गरी तीन वर्ष कैद हुन आउँछ । तर, उनले एक वर्ष मात्र कैद सजाय कटाए हुने सूचना अधिकारी बस्नेतले बताउनु भयो  ।

‘एकै कसुरको मुद्दा हो । एकै समयमा भएको घटना पनि भएकाले मुद्दामा कैद हद हुन्छ । भट्टराईले एक वर्ष सजाय काटे हुन्छ,’ उनले भने । शिक्षक भट्टराईले ती बालिकालाई विद्यालयमै यौन दुव्र्यवहार गरेका थिए । उनले कक्षाकोठामा गृहकार्य जाँच गर्ने क्रममा बालिकाहरूको संवेदनशील अंग चलाउने, ढाड मुसार्नेलगायत यौन दुव्र्यवहार गर्ने गरेका थिए । मुद्दा दर्ता भएपछि जिल्ला अदालत झापाले तीनवटै मुद्दामा ४ असोज ०८१ मा ६ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । तर, बिहीबार अदालतले फैसला गर्दै उनलाई कैद सजाय तोकेको हो ।

फैसलापछि पनि हाजिर गर्न पुगे शिक्षक भट्टराई
शिक्षक भट्टराई सहिद धर्मभक्त माध्यमिक विद्यालयका मावि तहका शिक्षक हुनुहुन्थ्यो। वहाँ धरौटीमा रिहा भएपछि पनि निरन्तर विद्यालय गएर पढाइरहनु भएको थियो । त्यति मात्र होइन, वहाँलाई कैद सजाय भएपछि वहाँ विद्यालय गइरहनु भएको छ  । भट्टराईले शुक्रबार पनि विद्यालयमा पुगेर हाजिर गर्नु भएको थियो ।

‘अहिले शिक्षकहरूको आन्दोलनका कारण विद्यालय खोलेर रजिस्टरमा हाजिर गरिएको छैन । सबै शिक्षकले विद्यालय पुगेर त्यहाँ बाहिर राखेको एउटा पानामा हाजिर गरिरहेका छन् । उहाँ (भट्टराई)ले पनि त्यसरी नै हाजिर गर्नुभएको हो,’ कमल गाउँपालिकाका शिक्षा शाखा सूर्यप्रसाद न्यौपानेले भने, ‘अदालतको फैसलाबारे विद्यालय अञ्जान छ । अहिले जानकारी नभएकाले उहाँ विद्यालय आउनुभएको हो । फैसलाबारे सम्बन्धित निकायबाट आधिकारिक आएपछि कानुनबमोजिम हुनेछ ।’

अदालतको फैसलापछि पीडित बालिका ‘छ’ले न्याय पाएको महसुस भएको बताउनुभएको छ । ‘सुरुमा त न्याय पाइँदैन कि भन्ने डर थियो । तर, अदालतको फैसलाले न्याय पाएको महसुस भएको छ,’ वहाँले भन्नुभयो, ‘विद्यालयमा हामी बालिकामाथि हुने यौन दुव्यर्ववहारको विरुद्धमा बोल्नुपर्छ, न्याय पाइन्छ भन्ने भएको छ ।’

पीडित बालिका ‘छ’ की आमाले सुरुमा जाहेरी दर्ता हुँदादेखि नै दबाब झेल्नुपरेको बताउनुभयो  । ‘सुरुमा मुद्दा नहाल्न भनेर धेरै दबाब दिए । त्यसले गर्दा न्याय पाइँदैन कि भन्ने थियो । तर, हामीले कानुनी उपचार खोज्ने भनेर अडान लियौँ,’ उनले भनिन्, ‘गाउँका मान्छेले समेत मुद्दा हाल्नुहुँदैन भनेका थिए । तर, अदालतको फैसलाले खुसी बनाएको छ ।’

०७७ मा यस्तै आरोपमा उन्मुक्ति
अहिले दोषी ठहर शिक्षक भट्टराईमाथि यसअघि पनि विद्यालयकै छात्राहरूले यौन दुव्र्यवहारको आरोप लगाएका थियो  । पीडितले ०७७ माघमा इलाका प्रहरी कार्यालयमा दमकमा जाहेरी दिए पनि बालिकाका परिवारलाई मुद्दा दर्ता नगर्न दबाब दिएर मुद्दा दर्ता गर्नबाट रोकिएको थियो । भट्टराईले त्यसपछि पनि दुव्र्यवहार दोहो¥याएपछि अहिले कानुनी फन्दामा परेका हुन् ।                  नयाँ पत्रिकाबाट

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend