कमल, । “कुकुरले टोकेको केही दिनमै हाम्रो बाछो मर्छ कि भन्ने डरले निद्रा पनि हराएको छ,”—केर्खाकी एक किसान काे भनाइ हाे याे ।
झापाको कमल गाउँपालिका३ केर्खा क्षेत्रमा रेबिजको संक्रमण फैलिने संकेत देखिएसँगै बस्तीमा त्रासको वातावरण सिर्जना भएको हाे ।
एक साताको अन्तरमा दुई वटा कुकुरको मृत्यु र सोही कुकुरहरुबाट मानिस र पशुमा देखिएको असरले गाउँ रेबिज संक्रमण फैलिने डरले वडा वासि त्रसित भएका हुन ।
केर्खा बजार र केराधाप टोलमा देखिएको घटनालाई लिएर वडा बासिलाई उच्च सतर्कता अपनाउन वडा अध्यक्ष अग्नि प्रसाद काेईरालाले अनुराेध गर्नु भएको छ ।
गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईका अनुसार, रेबिज लागेको आशंकित कुकुरले पत्रकार उमानाथ भण्डारी सहित दर्जनौं स्थानीयवासीलाई टोकेको थियो। पशु सेवा शाखाले कुकुरमा रेबिजसँग मिल्दो लक्षण देखिएको पुष्टि गरेपछि तत्काल नियन्त्रणका प्रयास थालिएको हो।
कुकुरको टोकाइपछि खोप अभियान
आशंकित संक्रमित कुकुरको टोकाइबाट प्रभावित ३२ जनालाई कमल नगर अस्पतालमा रेबिजविरुद्धको खोप (Anti-Rabies Vaccine – ARV) दिन थालिएको छ। अस्पतालमा बिहानदेखि साँझसम्म खोप लगाउनेको भीड बढ्दै गएको छ। अस्पताल प्रशासनका अनुसार, सबै सम्भावित संक्रमितलाई निःशुल्क खोप दिने व्यवस्था गरिएको छ रेविज खोप फोकल पर्सन बिनुता सङ्रौला ले बताउनु भयो ।
पशुचौपायामा पनि सतर्कता
कुकुरले टोकेको केही गाई, बाछा र अन्य जनावरमा रेबिजका लक्षण देखिन सक्ने भन्दै गाउँपालिकाको पशु सेवा शाखाले ती जनावरहरूलाई निगरानीमा राख्न किसानहरूलाई आग्रह गरेको छ। पशुमा रेबिज फैलिएको खण्डमा मानिसमा पनि संक्रमण सर्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ, पशु सेवा शाखा प्रमुख दिपेन्द्र लामिछने ले बताउनु भयो ।
खोप सेवा सीमित, माग उच्च
प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, कोशी प्रदेश, विराटनगरबाट पठाइएका खोपहरू हाल कमल नगर अस्पतालमा निःशुल्क उपलब्ध छन्। यद्यपि, हालको मागअनुसार खोप संख्या पर्याप्त नभएको अस्पताल स्रोत बताउँछ। “महामारीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक खोप थप व्यवस्थापन गरिएको छ,” अध्यक्ष राईले भन्नुभयो।

छिमेकी पालिकाबाट पनि भीड
कमल गाउँपालिका मात्र नभई छिमेकी गौरादह र शिवसतासी नगरपालिका क्षेत्रका बासिन्दाहरू समेत खोप लिन कमल नगर अस्पताल आउने गरेका छन्। यो अवस्थाले स्वास्थ्य सेवा प्रदायकहरूलाई थप दबाब दिइरहेको छ।
जनचेतना आवश्यक
रेबिज रोकथामका लागि जनचेतना आवश्यक रहेको विज्ञहरू बताउँछन्। ‘कुकुरले टोकेको अवस्थामा तुरुन्तै साबुनपानीले सफा गरेर अस्पताल पुग्नु अत्यावश्यक हुन्छ,’ अस्पताल प्रमुख दिपक दाहाल बताउछन ।
निष्कर्ष: कमल गाउँपालिका ३ मा देखिएको रेबिजको प्रकोपले गाउँबासीलाई सतर्क बनाएको छ। संक्रमित जनावर र मानिसको सुरक्षाका लागि स्थानीय सरकारको पहल सराहनीय भए पनि यो समय थप सतर्कता, समन्वय र जनचेतनाको हो। पशु र जनस्वास्थ्यको सन्तुलन कायम राख्दै महामारीको सम्भावित जोखिम न्यूनीकरण गर्नु सबैको साझा जिम्मेवारी हो।