logo
शुक्रबार, साउन २९ २०८३

मेचीनगरमा सोमबारदेखि डाइनामिक क्यूआरबाट कर तिर्न मिल्ने


  • कुइनेटो न्युज
  • बुधबार, चैत्र १३ २०८१

मेचीनगर  । सोमबारदेखि सेवाग्राहीले मेचीनगर नगरपालिकामा कर तिर्न जाँदा नगद पैसा बोकेर जाने झनझटबाट मुक्ति पाउने भएका छन् ।

मेचीनगरको १५ वटै वडा र नगरपालिकाको कार्यालयमा करदाताले कर तिर्न आउँदा क्यूआरदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ । नगरपालिकाको राजश्वको सफ्टवेयर सफटेक् इनफोसीसको माध्यमबाट डाइनामिक क्यूआर मार्फत करदाताले कर तिर्न सकिने छ ।

डाइनामिक क्युआर कोडको सिस्टमको सुरुवात हुने वित्तिकै करदाताका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य हुने राजश्व परामर्श समितिकी संयोजक समेत रहेकी उपप्रमुख मीना  पोखरेल उप्रेतीले बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले करदाताका लागि यस्तो सुविधा उपलब्ध गराउने तयारी गरिएको बताए ।
मेचीनगरमा दीर्घकालीन सेवा र परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र नगरपालिकालाई पेपरलेस बनाउन नयाँ सुविधा थप गरिएको उनको भनाई छ ।

यही चैत १८ गतेदेखि सुरु हुने डाइनामिक क्यूआरका लागि १५ वटै वडाका वडा सचिव, वडाका राजश्वका कर्मचारी र नगरपालिका कार्यालयका दश जना कर्मचारी समेत गरी ४० जना कर्मचारीलाई राजश्व व्यवस्थापन सम्बन्धि आजदेखि तीन दिनसम्म अभिमुखीकरण कार्यक्रम दिइएको छ ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन उपप्रमुख उप्रेतीले गरेकी थिइन् । कार्यक्रममा उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले गरेका थिए । सहभागी कर्मचारीहरुलाई सफटेक् इनफोसीसका विज्ञ दिनेश घिमिरेले प्रविधिमैत्री प्रशिक्षण दिइरहेको उनले जानकारी दिए ।

उनले भने–‘करदाताको आफ्नै डाइनामिक क्यूआर कोड बन्ने छ । त्यहि आफ्नै क्यूआरबाट कर तिर्न , तिर्न कति बाँकी । कति कर तिर्यो । सबै हेर्न मिल्छ ।’

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend