logo
शुक्रबार, साउन २९ २०८३

सूचनाको हक खुल्ला छोड्दा दुरुपयोग गर्ने क्रम बढ्याै: मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • आइतबार, माघ १३ २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्याधिक खुल्ला छोड्दा सूचनाको दुरुपयोग गर्ने क्रम बढेको बताउनुभएको छ।

आज विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सूचनाको हकलाई ठिक ढंगले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,- ‘हामी कहाँ अलि बढी खुलापन हुँदा यसको दुरुपयोग पनि बढेको जस्तो देखिन्छ ।’ संविधानले सूचनाको हक ग्यारेन्टी गरेपनि त्यसलाई सही ढंगले परिचालन गर्न तर्फ लाग्नुपर्ने उहाँले औंल्याउनु भयो।

आफूलाई अनुकूल हुने मात्र सूचना दिने प्रवृत्तिको अन्त्य गर्दै समाजलाई सुशिक्षित हुने खालको सूचनाहरू सम्प्रेषण हुनुपर्ने उहाँले बताउनुभयो । सूचनाको हकले पारदर्शिता र जवाफदेहिता बढ्ने भएकाले यसतर्फ ध्यान दिँदै यसलाई राम्ररी प्रयोग गरेर अघि बढ्नुपर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

निश्चित व्यक्तिले होइन आम समुदायले सूचनाको सदुपयोग गर्नुपर्ने गरी अघि बढ्नका लागि उहाँले सुझाव दिनुभयो । कार्यक्रममा सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्यले स्वच्छ रुपमा काम गर्नेहरूले डराउनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,- ‘यदि तपाईं हामीले पारदर्शी ढंगले काम गर्यौ भने सूचना लिने पनि र दिने पनि डराउनु पर्दैन ।’

उहाँले आयोगले अब अनावश्यक सूचना माग्नेसँग पनि छलफल गर्ने र उनीहरूलाई सतर्क गराउने तर्फ लाग्ने जानकारी दिनुभयो ।

गलत नियत राखेर कसैले पनि सूचना माग्न नहुने र सूचना दिनेले पनि सूचना अपडेट भएर बस्नुपर्ने बताउँदै उहाँले भन्नुभयो,- ‘कर्मचारीहरुले पनि सबै सूचना अपडेट गर्नुपर्छ।’ सूचना दिन पन्छिने भन्दा पनि पुराना सूचनाहरूलाई अपडेट गर्दै जाँदा झन्झट नहुने उहाँले बताउनुभयो ।

त्यसैगरी आयुक्त गगन बिष्टले सूचना ज्ञान र शक्तिको स्रोत भएकाले यसलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यपत्र प्रस्तुत गर्दै सूचनाका विविध आयामका बारेमा प्रकाश पार्नुभएको थियो ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले सूचना लिने र दिनेका बीच नियत राखेर काम गरेमा समस्या उत्पन्न हुने चर्चा गर्दै एकअर्काले सूचना आदान प्रदान गरेमा सहज हुने बताउनुभयो। उहाँले अहिलेको प्रमुख समस्या सूचना अभिलेखीकरण भएको बताउनुभयो ।

कार्यक्रममा आयोगका सचिव कमल भट्टराईलगायतले धारणा राख्नु भएको थियो । राष्ट्रिय सूचना आयोगले प्रदेशमा रहेका कार्यालय प्रमुख, सूचना अधिकारीहरुसँग आज छलफल कार्यक्रम गरेको हो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend